|

नेपालगन्ज :  जीभीएन मावि कक्षा ११ मा अध्ययनरत सागर क्षेत्रीले बनाएको साईबाबाबको चित्र बिक्री गरेर एक हजार रुपैयाँ कमाए। पहिलो पटक चित्रकला पनि बिक्दो रहेछ भनेर थाहा पाएका सागरले उक्त रकमबाट चित्रकलाकै सामग्री किनेका छन्।

कतैबाट तालिम नलिए पनि उनले विभिन्न थरीका चित्र बनाउँदै आएका छन्। ‘अरुले बनाएको हेरेर र कल्पना गरेर चित्रकला बनाउने गरेको छु,’ उनले भने, ‘मेरो कला देखेर हौसला दिनेहरु धेरै छन्, उहाँहरुको हौसलाले मलाई अगाडि बढ्ने प्रेरणा मिलेको छ ।’

आमाको आँखा छल्दै चित्रकला

सागरले पढाईका कारण चित्रकलामा समय दिन सकेका छैनन्। दिनमा २ घण्टा भने उनी चित्रकलामा नै लगाउँछन्। धेरै समय चित्रमात्रै बनाइराख्दा आमा रिसाउने भएकाले उनले नदेख्ने गरी चित्र बनाउने सागर बताउँछन्। ‘चित्र बनाउँदा पढाईमा असर गर्छ भनेर आमा कचकच गर्नुहुन्छ, आमाको चित्त बुझाउन चित्रकलाभन्दा पढाईमा समय दिनु पर्छ,’ उनले भने।  

एसएलसी परीक्षा दिएपछि उनले अलि धेरै समय चित्रकलामा दिन पाएका छन्। सागरलाई तालिम पाएको भए झनै राम्रो बनाउन सकिन्थ्यो कि भन्ने लाग्छ। ‘दुई वर्षदेखि राम्रो सुधार भएको छ,’ उनी भन्छन्।

चित्रको धमाधम माग आउँदै

सागरले पृथ्वीनारायण शाहको चित्रकला भर्खरै बनाएर सकेका छन्। धरहरा ढलेको र बागेश्वरी मन्दिरको चित्रकला पनि तयार पारेका छन्। पृथ्वीनारायण शाहको चित्रकला दुई हजार ५ सयमा किन्न अर्डर आइसकेको छ। सागरले ढलेको धरहराको चित्रको मूल्य एक हजार ५ सय र वागेश्वरी मन्दिरको चित्रको दुई हजार रुपैयाँ तोकेका छन्। ‘हेर्न आउनेले तयार भएपछि खबर गर किनेर लैजान्छौँ भन्नुभएको छ,’ उनले भने।

नेपालगन्ज उपमहानगरपालिका–२४, कारकाँदो घर भएका क्षेत्रीले चित्रकलाको फ्रेम पनि आफै बनाउँछन्। डकर्मीलाई फ्रेम बनाउन दिँदा महंगो पर्ने भएकोले आफै फ्रेम बनाउने गरेको उनले बताए। ‘चित्रकला नापेर सीसा र फ्रेम अर्डर गर्छु, काट्छाँट गर्ने र जोड्ने काम म आफैले गर्छु,’ उनले भने, ‘डकर्मीसँग फ्रेम बनाउने हो भने फाइदा हुँदैन।’

स्टेन्ड नहुँदा ओछ्यानमै बसेर चित्र

सागरका बाबु बैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा छन्। आमाले सिजनमा च्याउको खेती गर्छिन्। बाबुले साउदीमा राम्रो काम पाएका छैनन्। बाबुको कमाईमा घर गुजारा चलाउने र पढाई लेखाईमा खर्च गर्नुपर्ने भएकोले चित्रकला बनाउने सामग्री खरिद गर्न समस्या भएको सागर बताउँछन्।

ब्रस, पेन्ट, कागज र फ्रेमका लागि सीसा तथा काठ किन्न समस्या हुने उनले बताए।  ‘कागज र पेन्ट त किनेर राखेको छु, फ्रेमका सामान किन्न मुस्किल पर्छ, आमासँग धेरै बिन्ती गरेर माग्नुपर्छ’ सागर भन्छन्।

आमासँग पैँसा नभएका कारण उनले चित्रकला बनाउने बेला प्रयोग हुने स्टेन्डसमेत किन्न सकेका छैनन्। स्टेन्ड किन्न नसकेका कारण ओछ्यानमै चित्र बनाउने गरेको सागरले सुनाए। ‘स्टेन्ड भएको भए सजिलो गरी चित्र बनाउन मिल्थ्यो, स्टेन्ड नभएकोले ओछ्यानमै बसेर बनाउँछु,’ उनले भने, ‘पैसा भयो भने सबैभन्दा पहिले स्टेन्ड किन्छु।’

ललितकला विषय पढ्ने धोको

शिक्षा विषय लिएर अध्ययन गरिरहेका सागरले भविष्यमा चित्रकला पेशालाई अगाडि बढाउने बताए। उनले ललितकला विषय लिएर उच्च शिक्षा आर्जन गर्ने धोको रहेको समेत बताए। ‘नयाँ नीति अनुसार १२ कक्षा उत्तीर्ण गरेपछि मात्र ललितकला विषय पढ्न पाइने रहेछ, १२ कक्षा उत्तीर्ण गर्नासाथ ललितकला क्याम्पसमा भर्ना हुन्छु, उनले भने।

उनले उच्च शिक्षा आर्जन गरेर आफ्नो सानैदेखिको रुची पूरा गर्ने बताए। ‘अगाडिको भविष्य त कसले देखेको छ र, भाग्यले साथ दिए पढेर चित्रकला ब्यवसाय सञ्चालन गर्छु,’ सागरले भने।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.