प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ६२

|

काठमाडौं : धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा दुई संक्रमित महिलाको मृत्यु भएको छ। सुनसरी वराहक्षेत्र नगरपालिका ८ की ३८ वर्षीया र तेह्रथुमकी २० वर्षीया युवतीको मृत्यु भएको हो।

प्रतिष्ठानमा उपचाररत वराहक्षेत्रकी संक्रमितलाई पहिलेदेखि दीर्घरोग थियो। उनमा आज कोरोना पुष्टि भई कोभिड अस्पतालमा भर्ना गरिएकोमा विहान पौने ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

त्यसैगरी, तेह्रथुमकी संक्रमित मृतक युवतीमा पनि  दीर्घरोग रहेको थियो। उनमा ३० गते कोरोना पुष्टि भई आज अस्पताल भर्ना गरिएको थियो। तर, भर्ना गरिएको केही घण्टामै उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ।

यो सँगै प्रतिष्ठानमा कोभिड संक्रमणको कारण मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ।

सुनसरीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या ६६ पुगेको छ। १ हजार ३० संक्रमित उपचाररत छन्‌। ६ हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्‌। कुल संक्रमित ७ हजार ७ सय २५ छन्।

तेह्रथुममा हालसम्म कोरोना पुष्टि भइ मृत्यु हुनेको संख्या ५ पुगेको छ। ३५ जना उपचाररत, ७७ संक्रमणमुक्त र १ सय १६ कुल संक्रमित छन्।

प्रदेश १ मा कोरोना पुष्टि भइ मृत्यु हुनेको संख्या १ सय ६२, उपचाररत संक्रमित ३ हजार ७ सय ६३, संक्रमणमुक्त २० हजार ४ सय ११ र कुल संक्रमित २४ हजार ३ सय ३४ छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.