|

  • रमेश पराजुली-

सिन्धुपाल्चोक : चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएको २२ महिनासम्म समेत खुल्ने संकेत देखिएको छैन। नाका खुलाउन चिनिया पक्ष सकारात्मक नहुँदा नाका अझै ठप्प छ। नाका सञ्चालनमा ल्याउन पटक पटक सरकारी अधिकारीहरु र चिनियाँ पक्षबीच बैठक बसेपनि त्यसको सकारात्मक नतिजा आएको छैन।

जुरे पहिरोबाट आंशिक र विनाशकारी भूकम्प र भोटेकोशी बाढीपछि पुरै ठप्प भएको तातोपानी नाका यो वर्षभित्रै खुल्ने संकेत चिनियाँ पक्षले देखाएको भएपनि अब नखुल्ने पक्का भएको छ। ‘भूकम्प र भोटेकोसी बाढीले भूगोल क्षतविक्षत बनेको थियो। त्यसको पुनर्निर्माणको काम सकिसकेको भएपनि नाका कहिले खुल्छ भन्नेमा अन्यौल नै छ' प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल भन्छन्।

भूकम्पले भत्किएको खासादेखि मितेरी पुलसम्मको सडक बनिसकेको छ।  सडक मर्मत सकिएपछि नाका सञ्चालन गर्ने प्रतिबद्धता चीनले दोहोर्‍याएको थियो। नाकासम्मको सडक पुरै मर्मत भइसक्दा चिनियाँ पक्षले नाका खोल्न आनाकानी गरिरहेको छ।

पुसको ६ गते सिन्धुपाल्चोक सदरमुकाम चौतारामा भएको सीमा सुरक्षा बैठकपछि तिब्बत सीमा सुरक्षा प्रमुख गाओ वान्हाले सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी सिलवाललाई खासा क्षेत्रमै डाकेर नाका खुलाउनेबारे थप विश्वस्त पारेक थिए। चीन स्वशासित तिब्बतका सीडीओ पेङ लु बी र सुरक्षा प्रमुख वान्हाले प्रजिअ सिलवालसँग उस्तै प्रतिबद्धता व्यक्त गरेका थिए।

न्यालमदेखि खासासम्मको सडक पनि पूरा मर्मत भइसकेको छ।  भूकम्पपछि सिगात्से स्थानान्तरण गरिएका खासाका स्थानीय वासिन्दा धमाधम घर फर्कन थालेका छन्।

नेपालतर्फ चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) ले सडक मर्मतको काम एकोहोरो रुपमा सकेको छ। चिनियाँ कम्पनीले बाह्रबिसेदेखि लिपिङसम्मको सडक पुरानै अवस्थामा ल्याइपुर्‍याएको छ।

नाका खुलाउन चिनिया पक्षको प्रमुख चासो सीमा सुरक्षाको हो। स्वतन्त्र तिब्बत पक्षधरले गर्ने चीनविरोधी गतिविधि र नाकामा हुने अपराधजन्य क्रियाकलापलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेतर्फ नेपाली अधिकारीबाट नयाँ र थप प्रतिबद्धता उनीहरुले चाहेको सांसद मोहनबहादुर बस्नेत बताउँछन्। नाकाबाट चिनविरोधी गतीविधि बढ्दै गएकाले नाका खुल्न ढिलाई भएको उनको भनाई छ। 

चिनियाँ पक्षले उक्त नाकाबाट एक चीन नीतिमा खलल पुग्ने कुनै गतिविधि नहोस् भन्ने चाहना राखेको छ। तिब्बत सरकारले बेइजिङको यो चाहना पूरा हुने विश्वास दिलाउन सकेको छैन। स्पष्ट योजना नदिइ बेइजिङले तिब्बत सरकारको नाका खोल्ने चाहना पूरा गर्ने देखिँदैन। तिब्बत सरकार पनि बेइजिङको निर्देशन पर्खेर बसेको छ ।

भूकम्पपछि नाका बन्द रहँदा नेपाललाई अर्बौ नोक्सान भएजस्तै तिब्बतलाई पनि ठूलो घाटा लागेको छ। नाका नचल्दा तातोपानी आसपासका स्थानीयलाई मर्का परेको छ। नेपाल र चीनका चरणबद्ध बैठकको निर्णय सुन्दै आएका स्थानीय नाका खुल्ने भएकोमा खुसी थिए।

दैनिक २ करोड भन्दा धेरै राजस्व संकलन हुने नाका बन्द रहदा दुबै पक्षको अर्थतन्त्रमा ठूलो असर परेको छ। नाका सञ्चालनमा नआउँदा स्थानीय सामान्य व्यापारीहरुको जीवन गुजारमा समेत असर परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.