|

काठमाडौं : रोल्पा, रुकुमका मगर समुदायको जीविकोपार्जनको मुख्य पेशा भेंडापालन हो। भेँडापालनबाटै यहाँका वासिन्दाले परिवारको जीविका चलाउनेदेखि छोराछोरी पढाउने गर्छन्। मौसम अनुसार भेँडा चरनका लागि लेक वेशी गरिरहनुपर्छ। 

भेँडाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा एउटा नेता भेँडा हुन्छ। त्यही नेता भेंडाको सहारामा अरु भेंडाहरु एक ठाउँबाट अर्को ठाउँमा लगिन्छ। जसरी मौरीकJ घारमा रानी मौरी हुन्छ त्यसैगरी भेंडाको बथानमा नेता भेँडा हुन्छ। रुकुमका मगरहरुले एउटा नेता भेंडा तयार गर्छन् र त्यही अगुवा भेंडाको आधारमा आफ्नो व्यवसायलाई व्यवस्थित गर्छन्। तर त्यही अगुवा भेंडाको मृत्यु भयो भने के होला? पक्कै पनि रानुबिनाको मौरी झै अरु भेंडाहरुको पनि बिचल्ली हुने नै भयो।

भेंडाको अगुवा भेंडालाई मगर जातिले "लोम्बा" भन्छन्। जसलाई लोम्बा संस्कृतिको रुपमा समेत चिनिन्छ। त्यही लोम्बाको अचानक मृत्यु भयो भने भेंडा मालिक र बाँकी भेंडाहरुको बिचल्ली भएको कथामा आधारित चलचित्र "लोम्बा" तयार भएको छ।

रुकुम तकसेराका अनिल बुढा मगरले मगर जातिको भेंडापालन व्यवसायमा आधारित चलचित्र "लोम्बा" चलचित्र निर्माण गरेका हुन्। पछिल्लो समय भेंडाको चरिचरणमा आएको समस्यासँगै यो व्यवसायमा "लोम्बा"को भूमिका र लोम्बाको मृत्यु भएपछि त्यो परिवारले भोगेको समस्या चलचित्रमार्फत प्रस्तुत गरेको उनले बताए।

चलचित्रको लेखक तथा निर्देशक अनिलले भने 'भेंडापालन व्यवसायमा लोम्बाको भूमिका महत्वपुर्ण हुन्छ। तर त्यही लोम्बाको मृत्यु हुँदा अर्को लोम्बा तयार हुन नसक्दा भोग्नुपर्ने समस्या। यसै क्रममा देखिएका पारिवारिक, आर्थिक समस्यालाई देखाउन खोजेको छु।'

मगर भाषामा निर्माण गरिएको यस चलिचत्रमा खस (नेपाली) र अंग्रेजी भाषाको सब टाइटल राखिएको छ। चलचित्र सत्य घटनामा आधारित भएको अनिलले बताए। 'म आफैले पनि सानैदेखि लोम्बाको कामलाई प्रत्यक्ष रुपमा हेर्दै आएको छु। लोम्बाको मृत्यु भएपछि एउटा परिवारले भोग्नुपरेको समस्या यस चलिचत्रमा देखाउन खोजेको छु' उनले भने।

हजारौं भेडालाई बाटो देखाउने लोम्बाको मृत्यु भएपछि अर्को लोम्बा तयार गर्दा त्यसको नेतृत्वमा आइपर्ने थुप्रै संकटहरु यसमा केलाइएको छ। चलचित्रमा मगर गाउँ (पश्‍चिम क्षेत्रका मगर समुदायको), भाषा, परिवेश, संस्कृति, परम्परागत पेशा, व्यवसाय समेत देखाउन खोजिएको छ। चलचित्र रुकुमको तकसेरा, मैकोट र काठमाडौंमा छायांकन गरिएको छ।

चलचित्रको निर्माता तेजेन्द्र बुढामगर, सुरेन्द्र पुन मगर र जनक बुढा मगर हुन् भने सुरेन्द्र पुन मगरले यसको संयोजन गरेका हुन्। शम्भु पुन मगर र जनक पुन मगरको छायांकन रहेको चलिचत्रमा मैत्या घर्ती मगर (मैत्या), नारायण बुढा मगर, जनक बुढा मगर (गोठालो मुखिया), धनरुपी बुढा मगर, तिर बुढामगर लगायतको अभिनय रहेको छ।

अनिलले यसअघि "रैथाने ज्ञानबिनाको जीवन" डकुमेन्ट्री, गाउँला (गोठालो), युँ पा (टुक्रेको मुटु) मगर चलचित्र समेत निर्माण गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.