|

बागलुङ : हङकङको जोर्डनस्थित क्यान्टोन रोडमा रहेको नेपाली रेष्टुरेष्टमा आइतबार बेलुकी भएको आगलागीमा परेर ७ नेपालीको मृत्यु भएको छ। घटनामा १८ जना घाइते छन्।

मृत्यु हुने र घाइतेसमेत बागलुङको काठेखोलाका छन्। बागलुङको काठेखोला गाउँपालिका वडा नं. ६ बिहुँका दुई जना र उनीहरुको परिवारका सदस्यहरु समेत भएको छिमेकीहरुले बताएका छन्। जन्मदिनको पार्टीका लागि भेला भएका पारिवारिक समूहले रमाइलो गरिरहेको बेला अचानक रेष्टुरेन्टमा आगलागी भएको थियो।

मृत्यु हुनेमा काठेखोला गाउँपालिका वडा-६ का ३८ वर्षिय युवराज कंडेल, उनकै १३ वर्षकी छोरी कृतिका, युवराजकै बहिनी ज्वाई ३५ वर्षका राजबाबु नेपाल र उनकै ९ वर्षको छोरा रायन रहेको वडा-५ का अध्यक्ष शिवप्रसाद कँडेलले बताए। उनले हङकङका आफन्तले दिएको जानकारीको आधारमा चार जनाको मृत्यु भएको र अन्य केही गम्भिर रहेको सूचना प्राप्त भएको बताए। घाइते पनि काठेखोला ६ का धेरै छन्।

आगलागी कसरी भयो भन्ने अहिलेसम्म खुलेको छैन। तर घटनामा परेर ७ जनाको मृत्यु हुनुको साथै १८ जना घाइते भएका थिए। घाइतेहरुमध्ये केहीको अवस्था गम्भिर छ भने केही सामान्य घाइते छन्। सबैजना स्थानीय अस्पतालमा उपचाररत भैरहेको हङकङबाट प्रकाशीत नेपाली अनलाईनले लेखेका छन्। घटनामा झ्यालबाट हामफालेर ज्यान बचाउन सफल भएका सागर कंडेलले दमकल, प्रहरी र अन्य क्षेत्रमा सूचना दिएका थिए।

मृतक कृष्णको बाबु जयलालले सदरमुकामस्थित जय होटल संचालन गरेका थिए। छोराहरुले हङकङ बस्ने योजनासहित आइडी कार्डसमेत बनाएपछि जयलालका दम्पती पनि हङकङ जाने योजनामा थिए।

 मृतक युवराज हङकङमा थिए भने उनका दाजु गिरी क्यानडामा थिए। सबैजना एकै ठाउँ बस्ने योजनाले बाबुआमा नेपालबाट जाने र दाजु क्यानडाबाट आउने योजना थियो। तर नेपालबाट गएका केही मानिसमा कोरोना संक्रमण देखिएपछि बाबुआमा जान पाएका थिएनन्। दाजु भने पुगेर क्वारेन्टाइनमा बसेकोले उक्त जन्मोत्सव पार्टीमा सहभागि थिएनन्। सहभागि नभएको कारण उनी सुरक्षित रहन सफल भएका छन्।

घटनामा उनीहरुकै नातागोता र छिमेकीसमेत गरी १८ जना घाइते भएकोले उपचार भैरहेको बताइएको छ। बागलुङकै कृष्ण कंडेल उनका श्रीमती र छोरीसमेत घाइते छन्। उनीहरुको तीन दिनदेखि होस नखुलेको सूचना पाएपछि परिवारका सदस्य चिन्तित भएका छन्।

हङकङ नेपाल डटकमले सार्वजनिक गरेको सूचना अनुसार घटनामा शेरबहादुर गुरुङ, अनिता निरौला, बिनिता तामाङको पनि मृत्यु भएको छ। उक्त घटनामा गीता कंडेल, मुकेश श्रेष्ठ, हस्तमाया धिमाल, सुबिरा थापा, कृष्ण कंडेल, देवकी कंडेल, सुतेक्षा कंडेल शालिग्राम कँडेल, सुमन गुरुङ घाइते छन्। युवराजकी ३ वर्षकी छोरी भने सकुशल रहेको बताइएको छ।

हङकङस्थित नेपाली दुतावासले नेपालीहरु रहेको स्थानमा घटना भएको सूचना प्रवाह गरेपनि औपचारिक रुपमा मृतकको परिवारमा सूचना दिइसकेको छैन। नेपाली क्यालेन्डर अनुसार तिहारको बिदा परेकोले पनि सूचना प्रवाहमा ढिलाई भएको हुनसक्ने मृतकका छिमेकीहरुले बताए। घटनामा परेका पीडितको लागि परोपकारी संस्था सिक किस युनले १० लाख डलर सहयोग गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.