|

दक्षिणी फ्रान्समा भएको आतंकी आक्रमणमा कम्तीमा ७५ जनाको ज्यान गएको छ भने १ सय ५० जना भन्दा बढी घाइते भएको छ। 

बास्ताई दिवस(राष्ट्रिय दिवस) मनाइरहेका निसका फ्रान्सेली नागरिकहरूमाथि ट्रक चलाइएको थियो भने गोली पनि चलाइएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। फायरवर्क्स डिस्प्ले हेरिरहेको अवस्थामा मानिसहरूमाथि ट्रक चलाइएको उल्लेख छ। उक्त ट्रक मानिसहरूको परेडमा करिब १ माइलसम्म गुडेको थियो। 

परेडका लागि उपस्थित भएका नागरिकहरूमाथि उक्त आतंकी आक्रमणको इस्लामिक स्टेटले जिम्मेवारी लिएको बताइए पनि पुष्टी भने भएको छैन्। ट्रक चालकले ट्रकलाई मानिसहरुको भीडमा गुडाएर आफू ट्रकबाट हामफालेर गोली चलाउन सुरू गरेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै डेलिमेलले जनाएको छ। उक्त चालकलाई प्रहरीले गोली हानी मारेको थियो। 

ट्रकमा बन्दुक र ग्रिनेडहरू पनि भेटिएकाले ठूलो आक्रमण गर्ने योजनामा रहेको समाचारमा उल्लेख छ। 

फायरवर्क्स डिस्प्ले हेरिरहेको अवस्थामा मानिसहरूमाथी ट्रक चलाइएको उल्लेख छ।

घटनापछि प्रहरीले मानिसहरूलाई उक्त शहरबाट बाहिर जान र आउनमा रोक लगाएको छ भने नागरिकहरूलाई सुरक्षाका लागि घरभित्रै रहन समेत आग्रह गरेको छ। 

एन्टोनी नामका एक प्रत्यक्षदर्शीको भनाईलाई उदृत गर्दै डेलिमेलले लेखेको छ, 'हामी नप्ट्युन बिचमा थियौँ र फायरवर्क्स डिस्प्ले भर्खर सकिएको थियो। त्यतिबेला हामीले एउटा ट्रक देख्यौँ। यो ट्रक ६०-७० किलोमिटर प्रतिघण्टाको गतिमा हिडिरहेको थियो।'

'जब ट्रक मानिसहरूमाथि दौडिन थाल्यो तब ट्रकका चालक ट्रकबाट हामफाले र गोली चलाउन थालेको प्रत्यक्षदर्शीले बताएका छन्। सुरक्षा अधिकारीहरूले चालकलाई प्रहरीले गोली हानी मारेको थियो।

अर्का प्रत्यक्षदर्शी वसिम बोउह्लेलले आफूले ट्रकलाई मानिसहरूमाथि गुडाइएको देखेको र ट्रक चालकले गोली चलाउन सुरू गरेको बताए। उनले भने, 'त्यहाँको बाटोमा एउटा हत्यारा थियो। मानिसहरू शवहरू जताततै छरिएका थिए।'

गृह मन्त्रालयका अनुसार प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ। गृह मन्त्रालयका प्रवक्ता पियरे-हेनरी ब्रान्डेटले भने, 'त्यहाँ कसैलाई बन्धक बनाइएको छैन्। एक व्यक्तिले मानिसको भीडमाथि ट्रक चलाएको थियो । उसलाई प्रहरीले गोली हानी मारेको छ।

उनले भने, 'अनुसन्धानको कार्य सुरू भइसकेको छ। यो घटना एक्लैले गराएको हो या अन्य पनि थिए जो भाग्न सफल भए भन्ने सम्बन्धम अनुसन्धान भइरहेको छ।'

घटनापछि फ्रान्सका राष्ट्रपति फ्रास्वाँ होल्याण्डले आपतकालिन बैठक बोलाएका छन्। उक्त घटना नियोजित हुन सक्ने आशंका गरिएको छ। 

गत वर्ष डिसेम्बरमा इस्लामिक स्टेटले पेरिसमा रहेको स्टेड दि फ्रान्स स्टेडियममा आक्रमण गर्दा १ सय ३० जनाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.