|

भोजपुर : प्रदेश –१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्के डाँडामा भ्यु टावर  निर्माण थालनी गरेपछि स्थानीय हर्षित भएका छन्। प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको १३ करोड बढी  लागतमा टावर बन्ने भएपछि स्थानीयमा उत्साह थपिएको हो।

टेम्केडाँडाबाट तराईका फाँटसँगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोत्सेलगायत ८ हजार मिटर अग्ला ६ वटा, अन्य ३३ ओटा हिलशृंखलाको अवलोकन गर्न सकिन्छ। प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रदेश सरकारले टावर निर्माण गर्ने भएपछि स्थानीय उत्साहित भएका छन्।

टावर निर्माणले पर्यटन प्रवद्धनमा टेवा पुग्ने टेम्केमैयुङ गाउँपालकाका अध्यक्ष ध्रुवराज राईले बताए।

अध्यक्ष राईले भने,‘मुख्यमत्रीले शिलान्यास गर्नु भएको छ, अब भने टावर बन्नेमा हाम्रो गाउँपालिकाबासी हर्षित भएका छन्, यसले गाउँपालिकासँगै प्रदेश १ को पर्यटन विकासमा टेवा पुग्ने छ।’

तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले जानकारी दिए।

आर्चयले भने, ‘प्रदेश –१ को मुख्य पर्यटन आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ, यसको नजिकै तावा भञ्याङमा पोखरी निर्माण गर्ने लक्ष्यका साथ अन्य काम हुनेछ, यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पु¥याउने योजनाका साथ काम हुन्छ।’

सो स्थानमा रामनवमी र वालाचतुर्दशीमा वर्षमा दुईपटक मेला लाग्ने गरेको छ। प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयले बताउने गरेका छन्। जिल्लाको मुख्य पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्न सके प्राकृतिक प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने प्रमुख जिल्ला अधिकारी बसन्राज पुरीले बताए। प्रजिअ पुरीले भने‘ यो ठाउँ विषेश महत्व बोकेको धार्मिक तथा पर्यटकिय क्षेत्र हो, यहाँको प्राकृतिक सौन्दर्यतालाई कायम राख्दै विकास गर्न सके आर्थिक टेवा पुग्ने देखिन्छ।’

किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री शेरधन राईको भनाइ छ। प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ । टावर २० मिटर अग्लो रहने छ भने टावरको पहिलो तलामा म्यूजियम रहनेछ।

भोजपुर र खोटाङको सीमानामा रहेको टेम्के डाँडामा शिलान्यास गरिएको टावर किराँतहरुको पहिचान झल्कने गरी टावर बन्ने मुख्यमन्त्री शेरधन राईले जानकारी दिए। यसले पर्यटनसँगै भाषा संस्कार सस्कृतिको संरक्षणमा टेवा पुग्ने उनको भनाइ छ।

टावर निर्माणको लागि कुनैपनि बजेट अभाव नहुने समेत उनले बताए। टेम्केमा नेपालकै नमुना बन्ने समेत जानकारी दिए। मुख्यमन्त्री राईले भने,‘ टेम्के डाँडा आफैँ टावर छ, तर यो प्रदेश सरकारले त्यसै टावर बनाउने लागेको हैन, यसलाई किराँत परिचानको रुपमा रहेको चिण्डो आकारमा निर्माण गरेर नेपालकै नमुना भ्यू टावर बनाउने प्रदेश सरकारको लक्ष्य छ।’

टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.