‘माधव कमरेड मात्रै नडराउने होइन, अरू पनि कोही डराउलान् जस्तो लाग्दैन’

|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोपको छिनोफानो हुनुपर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले आरोप प्रमाणित नभए अध्यक्ष दाहाल हट्नुपर्ने तर्क गरेका छन्। पार्टी एकता धेरै जटिल मोडमा पुगेको उनले बताए। 

‘अस्तिको बैठकमा केही कुराहरू जस्तो कि बैठकको एजेण्डाको रूपमा होइन, पत्राचारका रूपमा, जस्तो कि पाँच जना साथीहरूले मलाई बैठक बोलाइयोस् भनेर पत्र दिनुभयो। त्यसमा गम्भीर आरोपहरुसमेत भएको हुनाले मैले बैठक बोलाउने कुरा आफ्नो ठाउँमा छ। तर, ती आरोपहरू अनुत्तरित हुन पनि सक्दैनथे। मैले त्यसको जवाफ किन दिनुपर्‍यो? वास्तवमा ती आरोपहरू  सही थिएनन्, अनुपयुक्त, अनुचित, झुठा र भ्रमपूर्ण थिए, तिनको बारेमा मैले स्पष्ट पार्नु नै जरुरी थियो’ उनले भनेका छन्।

‘मैले व्यक्तिगत तवरमा नै अगुवाई उहाँको भएको हुनाले अर्का अध्यक्षलाई पत्र लेखेँ। र, त्यस पत्रको जानकारी बोधार्थका रूपमा पत्र बुझाउन आउने साथीहरूलाई त दिएँ नै, अरू साथीहरूलाई पनि जानकारीका लागि दिएँ। त्यसको प्रत्युत्तरमा चाहिँ अर्को ७ पेजको जवाफ अर्का अध्यक्षले लेख्नुभयो। त्यसको जवाफ मैले दिएको छैन। स्वाभाविक रूपमा त्यसको पनि उचित जवाफ दिनुपर्ने छ’ उनले भनेका  छन्, ‘त्यसै दिन एउटा प्रस्ताव भनेर अर्का अध्यक्षले मलाई दिनुभयो, अरू सदस्यहरूलाई पनि बाँड्नुभयो। त्यो बैठकमा प्रस्तुत भएको प्रस्ताव होइन।’

बैठकमा अध्यक्ष दाहालले प्रस्तुत गरेको प्रस्ताव  पार्टीको विधिभन्दा भिन्दै रहेको उनले आरोप लगाएका छन्। एउटा अध्यक्षलाई जानकारी नभईकन अर्का अध्यक्षले कुनै पनि प्रस्ताव ल्याउन मिल्दैन। त्यस्तो दिनुपर्ने पनि कुनै अवस्था आउला, तर अर्का अध्यक्षलाई जानकारी नै नलिईकन, अर्का अध्यक्षमाथि हमला, प्रहार, आलोचना, आरोप र अभियोगसहितको प्रस्तावका नाममा अचानक त्यो मलाई दिनुभयो। अरू साथीहरूलाई पनि वितरण गर्नुभयो' उनले भनेका छन्।

अध्यक्ष दाहालले बैठकमा राखेको प्रस्तावलाई विधिसम्मत भन्न नमिल्ने उनले बताए। अध्यक्ष दाहालले गरेको प्रस्तावको सम्बन्धमा कमिटीमा छलफल आवश्यक रहेको उनले औंल्याए। 

आरोप लिएर पदमा बस्न मिल्दैन

अध्यक्ष दाहालले आरोप लगाएपछि आरोप बोकेर पदमा बस्न नमिल्ने उनले बताएका छन्। ‘यी आरोपहरूसहित  कोही पनि मानिस अध्यक्ष वा प्रधानमन्त्रीको जिम्मेवारीमा बस्न त मिल्दैन। यी आरोपहरू या त त्यसबाट बदर हुनुपर्‍यो, तब प्रधानमन्त्री र अध्यक्षको जिम्मेवारीमा बस्न मिल्छ। त्यसो होइन भने सदर हुनुपर्‍यो र ती पदहरू र ती जिम्मेवारीबाट हट्नुपर्‍यो। यो हटाउने माग त पहिलेदेखि आएकै थियो’ उनले भनेका छन्।

‘तर, यसपटक हट्ने आधारहरू यी हुन्, यसकारण हट्नुपर्छ भन्ने कुरा पनि आएको छ। पहिलेजस्तो यसमा सोझै प्रधानमन्त्रीबाट हट्, अध्यक्षबाट हट् भन्ने भाषा छैन। तर त्याग गर्नुपर्छ भन्ने कोटेड भाषा रहेको छ। त्याग भन्ने शब्द त्यहाँ राखिएको छ। यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ’ उनले भनेका छन्, ‘यो आरोप या त सदर ठहरिनुपर्‍यो, अनि प्रधानमन्त्री र अध्यक्ष हट्नुपर्‍यो। यो आरोप सही ठहरिँदैन भने यस्तो आरोप लगाउनेले यसको जिम्मेवारी लिनुपर्‍यो, यसको जवाफदेही लिनुपर्‍यो।’

‘अर्को कुरा मैले एउटा भन्नुपर्छ, मलाई अध्यक्ष र प्रधानमन्त्री दुईवटै पदबाट हटाउने तयारी पनि गरिएको छ, हट्न भनिएको पनि छ। त्यसैगरी मैले अर्का अध्यक्षलाई हट्न भन्यो भने के हुन्छ? विधि पद्धतिका कुरा के हुन्छन्? सङ्गठनात्मक सिद्धान्तका कुरा के हुन्छन्?  त्यसमा एकपटक विचार गर्ने हो कि? किनभने मैले हट्न भनेँ भने त्यसले त अर्को वातावरण निर्माण गर्नसक्छ’ उनले भनेका छन्।

'गुटबन्दी गरे पार्टी बच्दैन'

प्रधानमन्त्री ओलीले गुटबन्दी गरेर पार्टी नबच्ने बताएका छन्। ‘म के भन्न चाहन्छु भने, मिलेर मात्रै पार्टी बचाउन सकिन्छ। लडेर पार्टी बच्दैन, जालझेल र तिकड्म गरेर पार्टी बच्दैन। गुटबन्दी गरेर पार्टी बच्दैन। सबै कुराहरूमा पछि छलफल गरौंला। आज चाहिँ म त्यो लाञ्छना पत्र, जो मलाई दिइएको थियो, त्यस पत्रका सम्पूर्ण आरोपहरू, अभियोगहरु, लाञ्छनाहरू, तिरस्कारहरू, अपमानहरू सबैलाई खारेज गर्छु’ उनले भनेका छन्, ‘र, यो मेरो राजनीतिक जीवन नै सिध्याउने गरी ल्याइएको आरोपपत्रलाई म पूर्णरूपमा अस्वीकार गर्छु।’

‘त्यसको यथोचित जवाफ म लिखितरूपमै प्रस्तुत गर्नेछु। मैले त्यो पत्रले परिस्थिति अलिक गम्भीर मोडमा पुर्‍यायो भनेर माधव कमरेडलाई भनेँ। उहाँले अँ धम्काउने? धम्काएर कोही डराउँदैन भन्नुभयो। अब डराउने खालको त यहाँ कोही छजस्तो लाग्दैन’ उनले भनेका छन्, ‘माधव कमरेड मात्रै नडराउने होइन,अरू पनि कोही डराउलानजस्तो लाग्दैन। कोही पनि डराउँदैनन्। यस्तै राजनीति गरेर आएका मान्छेहरू कोही डराउलानजस्तो लाग्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.