महिला टी—ट्वान्टी विश्वकप क्रिकेट सर्‍यो

|

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने खेलाडीको उमेर तोकेको छ। आइसिसीले जारी गरेको नयाँ नियम अनुसार डेब्यु गर्न अब खेलाडीको उमेर कम्तीमा १५ वर्ष हुनै पर्नेछ।

आइसिसीले यो नियम क्रिकेट र खेलाडीहरुको सुरक्षाका लागि बनाएको बताएको छ। द्विपक्षीय सिरिज र १९ वर्षमुनिको सहित आइसिसीअन्तर्गत सबै प्रतियोगितामा नयाँ नियम लागु हुनेछ। आइसिसीले असाधारण परिस्थितिमा कुनै देशले यदि कम उमेरका खेलाडीलाई टिममा सामेल गराउन चाहे त्यसका लागि पहिले नै आइसिसीमा आवेदन दिनुपर्नेछ।

आवेदन दिने देशले खेलाडीको अनुभव र तिनको मानसिक विकासबारे पनि जानकारी दिनुपर्नेछ। यस्तै ती खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटको आवश्यकता पूरा गर्न सक्षम छन् या छैनन् भन्नेबारे समेत आइसिसीलाई बताउनुपर्नेछ।

आइसिसीको यो नियम घरेलु क्रिकेटमा भने लागु हुने छैन। १५ वर्षभन्दा कम उमेरका खेलाडीले घरेलु क्रिकेट भने खेल्न पाउनेछन्। पुरुष र महिला दुवैका लागि यो नियम बनाइएको आइसिसीले जनाएको छ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न कुनै उमेरको सीमा तोकिएको थिएन। पाकिस्तानका हसन राजा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने पहिलो खेलाडी हुन्। उनले सन् १९९६ मा १४ वर्षको उमेरमा टेस्ट म्याचमा डेब्यु गरेका थिए। उनले १९९६ देखि २००५ सम्म ७ टेस्ट र १६ एकदिवसीय खेलेका थिए।

उनीपछि पाकिस्तानकै मुस्ताक मोहम्मद र बंगलादेशका मोहम्मद शरीफले १५ वर्षको उमेरमा, पाकिस्तानका आकिब जावेद र भारतका सचिन तेन्दुलकरले १६ वर्षको उमेरमा अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए। 

महिला टी—ट्वान्टी विश्वकप क्रिकेट सर्‍यो

यसैबीच आइसिसीले सन् २०२२ को महिला टी—ट्वान्टी विश्वकप क्रिकेट स्थगित गरेको  छ। आइसिसीको बोर्ड बैठकले २०२२ मा हुने भनिएको महिला विश्वकप ३ महिनापछिलाई सार्ने निर्णय गरेको हो।

यही नोभेम्बरमा आयोजना हुने भनिएको विश्वकप अब २०२३ को फेब्रुअरी ९ देखि २६ सम्म दक्षिण अफ्रिकामै हुनेछ। सन् २०२० को महिला विश्वकपको उपाधि भारतलाई हराएर अष्ट्रेलियाले जितेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.