|

बारा : छठ पर्वको चौथो दिन शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ्य्य दिएर यो वर्षको छठ विदाई गरिएको छ। 

बाराको सिम्रौनगढ, कलैया, निजगढ, जीतपुर क्षेत्रमा बनाइएको छठ घाटमा भक्तजनहरूले उदाउँदो  सूर्यलाई अर्घ्य्य दिएका छन्। हर्षोल्लासका साथ नदी, तलाउ र पोखरीमा बिहानैदेखि ब्रतालु र दर्शनार्थीको घुइँचो लागेको छ।  

यो वर्ष कोरोना भाइरस (कोभिड-१९) का कारण ठूलो संख्यामा मान्छेहरू भेला नहुन सरकारले आग्रह गरेको थियो। कोरोनाका कहरबीच व्रतालुले छठ पर्व हर्षका साथ विदा गरेका हुन्।

उखुको लाँक्रो र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन उदाउँदो सूर्यलाई अर्घ्य्य दिन नदी किनारमा पुगेका थिए। अर्घ्य दिनुअघि नदी किनारामा पूजास्थल निमार्ण गरी प्रशोधित सामग्री प्रयोग नभएका प्राकृतिक फलफूल र पकवानहरू, पीठो र गुडबाट बन्ने ठकुवा, चामलको पीठो र गुडबाट बन्ने भुसुवा, मैदा र गुडबाट बन्ने खजुरी लगायतका पकवानका साथै उखु, नरिवल, मुला, मेवा, भान्टा, सलिफा, केरा, बेसार तथा रुखैसँगको अदुवा लगायतका सामाग्री र फलफूलको प्रसाद राखी पूजा गरिएको थियो। 

छठ घाटमा पूजा सकिएसँगै एक–अर्कालाई टीका लगाइदिने र प्रसाद वितरण गर्न थालिएको छ। दर्शनार्थीले व्रतालुले राखेको पूजा सामग्रीमा आफूले सकेको सामाग्री चढाएका थिए। उनीहरू सामूहिक तस्वीर खिचेर रमाइरहेका छन्।

छठ पर्व मनाएमा मनोकामना पूरा हुने तथा छाला एवं आँखाका रोग नलाग्ने धार्मिक विश्वास छ। तराईमा धुमधामका साथ मनाइने गरिएको छठ पर्वको रौनक जिल्लाको उत्तरी क्षेत्रमा पनि छाउँदै गएको छ।

पहिले दक्षिणी क्षेत्रका मधेसी महिलाले मात्र मनाउने गरेको यो चाड अहिले सबै समुदायका मानिसले मनाउन थाल्दा साम्प्रदायिक सद्भाव कसिलो बन्दै गएको छ।

तस्वीरहरू :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.