|

जाजरकोट : पश्चिम जाजरकोटको छेडागाड नगरपालिकाले १५ शय्याको स्वास्थ्य संस्था सञ्चालनमा ल्याएको छ।

स्वास्थ्य सेवाको पहुँचमा नआएको पश्चिम जाजरकोटमा यो सेवा सञ्चालनसँगै यहाँका जनसाधारणले स्वास्थ्य सेवा पाउने अपेक्षा लिएका छन्। सेवा सञ्चालन गर्नका लागि नगरकै तर्फबाट अस्थायीरुपमा संरचना निर्माण गरी कामको शुरूआत गरिएको नगरप्रमुख लालबहादुर महताराले जानकारी दिए। 

संघीय सरकारको एक करोड रुपैयाँ र थप नगरपालिकाकै लगानीमा अस्पताल निर्माणको काम केही दिनमै शुरू हुने प्रमुख महताराले जानकारी दिए। केही दिनमै चिकित्सकको विज्ञापन गरी अस्पतालमा सेवा दिइनेछ। अहिले सदरमुकामस्थित जिल्ला अस्पतालबाट चिकित्सकलाई ल्याएर सेवा दिन लागिएको छ। एक मेडिकल अधिकृत, दुई  नर्ससहित १५ जना कार्यरत रहने छन्। ल्याब, एक्सरे सेवासमेत सञ्चालनमा आउने बताएको छ। 

तीन सय ९६ स्थानीय तहमा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले घोषणा गरी काम शुरू गरिएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले जानकारी दिए। उनका अनुसार १५ मङ्सिरमा सबै स्वास्थ्य संस्थाको उद्घाटन एकै पटक गरिनेछ। 

देशैभरिमा छेडागाड नगरपालिकाले पहिलोपटक नगर अस्पताल उद्घाटन गरेर सबैलाई उछिनेको छ। १५ शय्याको अस्पतालमा १५ करोड रुपैयाँ बजेट सरकारले पठाउने तयारी गरिरहेको मन्त्री रावतले जानकारी दिए। देशका सातै प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि २५ करोड रुपैयाँ बजेट पठाएको समेत उनले बताए।

स्वास्थ्य मन्त्रालयले निकै काम गरेको, तर केही मान्छेले सो काम नदेखेको मन्त्री रावतको भनाइ थियो। कर्णालीका अधिकांश ठाउँमा ५० शय्याको अस्पताल सञ्चालन गर्ने तयारीमा रहेको बताइएको छ। छेडागाड नगरपालिका, शिवालय गाउँपालिका र जुनिचाँदे गाउँपालिका पश्चिम जाजरकोटमा पर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.