माधव नेपाल भन्छन् : घटना सुनियोजित छ, दोषीलाई कारबाही हुनुपर्छ

|
फाइल फोटो

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद तल्लो तहसम्म देखिन थालेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको आन्तरिक किचलोका कारणले नेकपामा देखिएको विवाद तल्लो तहसम्म छरपस्ट भएको हो। 

चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री ओली पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन्। 

नेता पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट हुन्। पार्टीभित्रको विवाद क्रममा नेता नेपालले अध्यक्ष दाहालले सघाएका छन्। अहिले वरिष्ठ नेता नेपालको साथ पाएपछि अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीविरुद्ध मोर्चाबन्दी गरिरहेका छन्। 

पार्टीभित्रको विवाद क्रममा अहिले नेकपाभित्र पत्र युद्ध गरिरहेका छन्। अध्यक्ष दाहालसहितको नेताहरुको प्रधानमन्त्री ओलीले लिखित रुपमा बैठक राख्न माग गरेको पत्रको जवाफमा ओलीले अध्यक्ष दाहाललाई लिखित रुपमै जवाफ फर्काएका थिए। 

कात्तिक २८ गते बसेको सचिवालयको बैठकमा अध्यक्ष दाहालले सचिवालयको बहुमत सदस्यको सहमतिमा राजनीतिक प्रतिवेदन पेस गरेका गरेका थिए। अध्यक्ष दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि असन्तुष्टि जनाउदै मंसिर ३ गते बसेको सचिवालय बैठकमा १० दिनको समय माग गरेका छन्। 

अध्यक्ष दाहालले आफू विरुद्ध आरोपको चाङ लगाएको भन्दै प्रधानमन्त्री ओली त्यसको प्रतिउत्तर फर्काउने तयारीमा जुटिरहेका छन्। नेकपाभित्र पछिल्लो समयमा राजदूत नियुक्त, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली विवाद, पर्सा घटना, रअ प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री ओलीले गरेको भेटवार्ताको विषयमा विवाद उत्कर्षमा पुगिरहेको छ।

घटना सुनियोजित

नेकपाका वरिष्ठ नेता नेपालले चितवनमा पूर्वअर्थमन्त्री पाण्डेमाथि भएको नाराबाजीको घटना सुनियोजित भएको बताएका छन्। उनले एक विज्ञप्ति नै जारी गर्दै घटना सुनियोजित भएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन्।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई गन्तव्य राखिरहेको बेला अनधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’, उनले भनेका छन्। 

‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवं सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गराउँछु’, उनले भने। 

सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाएको उनको तर्क छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.