कोरोनाबाट गाउँ सुरक्षित भएकाले खोलिएको प्रधानाध्यापकहरुको भनाइ

|

पर्वत : पर्वत सदरमुकाम कुस्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालय र कुस्मा नगरपालिकाभित्रै रहेको नमुना विद्यालय हिमालय माध्यमिक विद्यालयले आइतबारदेखि नियमित रूपमा पठनपाठन सञ्चालन गरेका छन्। सदरमुकाम कुस्मामै रहेको अर्को नमुना नारायण माविले भने आउँदो मंगलबारबाट पठनपाठन सुरु गर्न लागेको छ।

कुस्मा नगरपालिकामै रहेको कालिका मावि, सूर्यप्रकाश माविलगायतले भने दसैँअघिबाटै नियमित कक्षा सञ्चालन गर्दै आइरहेका छन्।

गाउँमा कोरोना सङ्क्रमित नभएका तथा बाहिरबाट आएकाहरू क्वारेन्टाइनमा बसी नेगेटिभ रिपोर्ट आएपछि मात्र बाहिर निस्किएकाले गाउँ सुरक्षित रहँदा विद्यालयहरू खुलाइएको प्रधानाध्यापकहरुको भनाइ छ।

‘गाउँमा कोही पनि सङ्क्रमित छैन। गाउँ सुरक्षित रहेको अवस्थामा पठनपाठन गराउनुपर्छ भनेर हामीले असोजबाट नै कक्षा चलाइरहेका छौँ।’ कालिका मावि खुर्कोटका प्रधानाध्यापक बाबुराम पौडेलले भने, ‘सङ्क्रमण बढेको अवस्थामा हामी बन्द गर्न तयार छौँ। तर अहिले गाउँमा जोखिम नभएको अवस्थामा बालबालिकालाई पढ्नबाट वञ्चित गर्न हुँदैन। फेरि अनलाइन पढाउन गाउँमा सम्भव पनि भएन’

सदरमुकाम कुस्माको शिवालय माविका प्रधानाध्यापक भूपेन्द्र चापागाईंले आइतबारदेखि विद्यालय खुलेको तर उपस्थिति सङ्ख्या ३५ जना मात्र रहेको बताए। सबै विद्यार्थीलाई एकै पटक बोलाउँदा भिडभाड हुने भएकोले जोर/बिजोर कक्षाको आधारमा आउन भनिएकोमा आइतबार बिजोर कक्षाका सबै विद्यार्थी भने विद्यालयमा नआएको उनको भनाइ छ।

‘हामीले आइतबार कक्षा एक, तीन, पाँच, सात र नौ का विद्यार्थीलाई बोलाएका थियौं। ती कक्षामा करिब दुई सय विद्यार्थी भए पनि ३५ जना मात्र विद्यालयमा आए।’ उनले भने, ‘आएका विद्यार्थीहरूमा डर देखिन्थ्यो, तर हामीले उनीहरूलाई काउन्सिलिङ गरेका छौँ। अबका दिनमा उपस्थितिको सङ्ख्या बढ्ला भन्ने लागेको छ।’

जिल्लाका अन्य स्थानीय तहमा रहेका सामुदायिक विद्यालयहरूले दसैँ अगाडिबाटै र सदरमुकाममा रहेका सामुदायिक विद्यालयहरूले हालै मात्र कक्षा चलाएको भए पनि निजी विद्यालयहरू विद्यालय खुलाएका छैनन्।

खुल्दै गएका सामुदायिक विद्यालयको अवस्था कस्तो रहला? त्यसमा अभिभावक र अन्य निकायको प्रतिक्रिया जस्तो आउला त्यसैको आधारमा विद्यालय सञ्चालन गर्ने भित्री तयारी रहेको देखिन्छ।

यद्यपि निजी विद्यालयका सञ्चालकहरूले भने अन्य विद्यालयको अवस्था जाँच गर्नुभन्दा पनि आफ्नो आन्तरिक तयारीमा रहेका कारण यो हप्ता विद्यालय नखुलाइएको बताएका छन्।

सदरमुकाममा रहेको पर्वत गुरुकुल एकेडेमीका प्रिन्सिपल कमल भुसालले सामुदायिक वा अन्य कुनै विद्यालयको अवस्था हेर्नेभन्दा पनि आफूहरूको आन्तरिक तयारी पूरा नभएका कारण विद्यालय सुचारु नभएको तर छिटोमा अर्को हप्ताबाट सञ्चालन गर्ने सोच रहेको बताए।

‘हतारिएर आजै खोल्ने भन्दा पनि सुरक्षा सतर्कतासहित खुलाउनेबारे हामीबीच छलफल भइरहेको छ,' उनले भने, ‘अभिभावकहरू पोजेटिभ रहेको पाइएको भए पनि उहाँहरूमा पनि केही चिन्तामा रहेको देखिएको छ।’ 

अर्को निजी विद्यालय कालीगण्डकी एकेडेमीका प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय सदस्य वसन्त कर्माचार्यले विद्यालय खोल्नेबारे अभिभावकहरूले चिन्ता व्यक्त गरेको बताउँदै खोलिहाल्ने विषयमा कुनै निर्णय नभएको बताए।

धेरै अभिभावकहरूले अहिले चलिरहेका अनलाइन कक्षाहरू नै सुरक्षित रहेको बताउँदै विद्यालय खुलिहाले पनि बालबालिकालाई विद्यालयमा पठाउन कठिन हुने बताएका उनको भनाइ छ।

‘अभिभावकहरूले विद्यालय खोल्दा जोखिम बढ्ने भएकोले अनलाइनलाई नै थप प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ। समस्या भनेको अनलाइनको पहुँचमा नरहेका विद्यार्थीको विषयमा हो समस्या,’ उनले भने, ‘विद्यालय खोल्नै परे पनि अनलाइनमा भएकालाई अनलाइनमै र पहुँच नभएकालाई विद्यालयमा बोलाउने सोच छ। हामी वेट एन्ड सी को अवस्थामा छौँ।’ 

प्याब्सन कुस्मा नगरपालिकाका अध्यक्ष तथा नमुना अङ्ग्रेजी आवासीय माविका प्रिन्सिपल इन्द्र मान खत्रीले कुस्मा नगरपालिकाले विद्यालय खोल्न कानुनी अधिकार दिएकोप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयमा सरसफाइ, कक्षाकोठाको तयारी, सुरक्षा सतर्कताका विषयमा छलफल भइरहेको बताए।

‘धेरै विद्यार्थी भएको विद्यालयमा जोर/बिजोर पनि सम्भव छैन। घरबाट मास्क लगाएर आएको बच्चाको मास्कको डोरी विद्यालयमा छिनेमा किन्न तत्कालै कहाँ जाने ? ४० जना भएको कक्षालाई २० मा झार्न फर्निचर पुग्दैन। छरिएर ठाउँबाट आएका विद्यार्थीको व्यवस्थापनमा समस्या हुन्छ,’ उनले भने, ‘बरु अनलाइन कक्षाहरू नै सफल छन्। धेरै विद्यार्थी यसैमा सुरक्षित र ढुक्क छन्। कक्षामा लजाउने विद्यार्थीले अनलाइनमा खुलेर पढेका छन्।’

विद्यालय खोल्ने नै भनी निर्णय भएको अवस्थामा केही कक्षा अनलाइनमा र केही विद्यालयमा सञ्चालन गर्ने कि भन्नेबारे विद्यालय परिवारबीच छलफल चलिरहेको बताउँदै उनले यो हप्ता भने विद्यालय नखुल्ने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.