|

काठमाडाैं : नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले औपचारिक रुपमा सुरुवात गरेसँगै आइतबारबाट ‘श्रीसदन’ सर्वसाधारणका लागि खुला भएको हो।

इतिहासलाई जीवित राख्न सकेमात्रै देश र समाजको विकास क्रमका विषयमा अध्ययन अनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए। देश तथा विदेशका अनुसन्धानकर्ताका लागि श्री सदन खुला हुनु महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाली इतिहासमा २४० वर्षीय शाह वंशीय राजतन्त्रको इतिहासलाई साक्षत नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए। नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिडका कारण सम्भव नभएको बताए।

अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले जानकारी दिए। ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको पनि उनले बताए। अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता लगभग १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार सबै खुला हुने बताए।

श्री सदन खुला गरिएसँगै मोटर ग्यारेजमा हिटलरले तत्कालिन राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको मोटर पनि प्रदर्शनमा राखिएको छ। यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने मोटर र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा वीरेन्द्रको निजी कार्यालय थियो। उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए।

अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए। गणतन्त्र स्थापना भएर दरबार संग्रहालयमा परिणत भए पनि उक्त सदन बन्द थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.