|

नेपालगञ्ज : नेपालगञ्जको जमुनहा नाका हुँदै नेपाली युवा दिन प्रतिदिन कामको खोजीमा भारततर्फ गइरहँदा भारतीय नागरिकहरुले भने यहीँ आएर मनग्गे आम्दानी गरिरहेका छन्। नेपालमा काम नपाएको भन्दै विदेशिनेको संख्या बढिरहेका बेला भारतीयहरुले नेपालगञ्ज आएर गरिरहेको कमाई लोभलाग्दो छ। 

नेपालगञ्जमा रिक्सा चलाएर दैनिक कम्तीमा ५ सय रुपैयाँ कमाउनेदेखि ठेलामा चाट, परौठा, समोसा, पकौडा, पुरीको व्यापार गर्नेहरुले आम्दानी निकै राम्रो छ। नेपालगञ्जमा रिक्सा चलाउनेमध्ये ३० प्रतिशत भारतीय नै छन्। बाँकी ६० प्रतिशत मधेसी र थारु तथा १० प्रतिशत पहाडी समुदायका व्यक्तिहरु रहेको रिक्सा व्यवसायी संघकाे तथ्याङ्क छ।

कामको मेसो नपाएर र राम्रो मूल्याङ्कन नभएर नेपालीहरु कामका लागि भारत लगायतका मुलुकमा जाने गरेको ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय सदस्य पूर्ण केसीले बताए।

व्यापारका लागि उपर्युक्त वातावरण

भारतको सिद्धार्थनगर घर भएका प्रमा गौणले ७ सय रुपैयाँबाट नेपालगञ्जमा ठेलामा चाटको व्यापार सुरु गरेका थिए। उनी दैनिक ४ घण्टामात्र चाटको व्यापार गर्छन्। नेपालगञ्ज उद्योग वाणिज्य संघको छेउमा उनले दिउँसो ४ बजेदेखि बेलुका ८ बजेसम्म मात्र चाटको व्यापार गर्छन्।

उनले दैनिक १ हजार रुपैयाँको सामानबाट सरदर ५ सयदेखि ८ सय रुपैयाँ आम्दानी गर्ने गरेको बताए। यही व्यापारबाट १० जनाको परिवार पालिरहेको उनले बताए। ‘यही व्यापारबाट १० जनाको परिवारलाई राम्रोसँग खान, लाउन पुगेको छ, व्यापारबाट सन्तुष्ट छु,’ उनले भने।

व्यापार सुरु गर्दा उनले यसबाट यति राम्रो होला भन्ने सोचेका थिएनन्। ‘यहाँका मानिसको व्यवहार र परिवेश थाहा नपाएर व्यापार चल्ने/नचल्नेमा ढुक्क थिइनँ,’ उनले भने, ‘व्यापार गर्दै जाँदा यहाँका मानिसको व्यवहार राम्रो लाग्यो, अहिले ढुक्क छ।’ उनी अब नेपालमै घर बनाएर बस्ने योजनामा छन्। ‘वर्षमा एकदुई दिनमात्र भारत जान्छु, रोजीरोटी राम्रैसँग चलिरहेको छ, अब नेपालमै बस्ने योजना बनाएको छु,’ उनले भने।

कमाई देखेर नेपालमै बसाईं सर्दै भारतीयहरु

भारत बहराइचका राकेशकुमार कनौजियाले नेपालगञ्जमा चाटको व्यापार गर्छन्। सदरलाइनमा रहेको नारायण उच्च मावि अगाडि चाटको व्यापार गर्दै आएका कनौजियाले दैनिक ४ घण्टामात्र चाट बेच्छन्। दिनभर अरु काम गरेर बेलुकी पाँच बजेदेखि ९ बजेसम्म चाटको व्यापार गर्दै आएका उनी अब यहीँ घर बनाएर बस्ने सोंचमा छन्।

‘घर बनाएको छैन, अब बनाइहाल्छु,’ उनले भने, ‘मेहनत गरेपछि यहीँ धेरै पैसा छ, कामका लागि किन विदेश जानुपर्‍यो?’ त्रिभुवन चोकको पूर्वलाइनमा चाटको व्यापार गर्दै आएका धर्मेन्द्र लखेर पनि नेपालगन्जमा घर बनाउने सोँचमा छन्। उनी दिउँसो ३ बजेदेखि मात्र त्रिभुवन चोकको पूर्वलाइनमा चाट बेच्न बस्छन्। दैनिक सरदर १ हजारसम्म कमाउने गरेका उनले काठमाडौंसम्म पुगेर पनि चाट बेचेको सुनाए।

यसबाटै भएको आम्दानीले ८ जनाको परिवार पालिएको छ। ‘जो काम चोर हुन्छ, त्यो जान्छ विदेश,’ लखेरले भने, ‘महनत गरे यहीँ छ पैसा विदेश किन जाने ?’

मेहनत गर्ने यहीँ मालामाल

नेपालगञ्जको त्रिभुवन चोक पश्चिम गल्लीको दक्षिणतर्फ ठेलामा पकौडा र चाटको व्यापार गर्दै आएका नेपालगन्ज–१४, भवानीबागका देव किरण रञ्जनले दैनिक करिब १ हजार रुपैयाँ नाफा आर्जन गर्छन्। बाल्यकालदेखि चाटको व्यापार गर्दै आएका देव किरणले यहि पेसाबाट ७ जनाको परिवार पालिरहेका छन्। उनले छोराछोरीलाई निजी विद्यालयमा पढाएका छन्।

‘ठेलाको व्यापारले मज्जाले खान, लाउन र उपचार गर्न पुगिरहेको छ, किन जानुपर्‍यो भारत ?’ उनले प्रतिप्रश्न गरे। बिहान बेलुका थोरै समयको व्यापारले पनि परिवार चल्ने गरेको बताउने उनलाई दिनभरी फुर्सद नै फुर्सद छ।

नेपालगञ्जकै त्रिभुवन चोकको उत्तरपश्चिमतर्फ दुई तले घरको सटर नजिक घनश्याम हलवाईको ठेला दैनिक भेटिन्छ। त्यो घर पनि उनकै हो। तर, उनी ठेलामा व्यापार गर्छन्। चारवटै सटर उलने भाडामा लगाएका छन्। ५ कक्षामात्र पढेका उनले व्यापार थालेको १५ वर्ष बित्यो। काम गर्न उनलाई लाज लाग्दैन। ‘के को शरम ! व्यापार गर्न पनि लाज लाग्छ र ? आफ्नो धन्दा गरेर पेट पाल्दा पनि के लाज ?’ उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.