|

काठमाडौं : कोरोना महामारी निदान निम्ति खोपको चर्चा चुलिरहँदा बजारमा निमोनिया र रुघाखोकीजस्ता मौसमी रोगको निराकरण गर्ने खोप अभाव भएको छ। देशका अधिका‌ंश भागमा अहिले यो खोप अभाव भएको छ। 

एक वर्षसम्म रुघाखोकी र निमोनिया नलाग्ने भन्दै सबै उमेर समूहका मानिसले यो खोपको प्रयोग गर्न थालेका छन्। नेपालमा आयात हुने यो खोप उपत्यका लगायत देशभरका मुख्य-मुख्य शहरमा अभाव हुने थालेको छ।

कोरोना संक्रमितलाई निमोनिया र रुघाखोकीका लक्षण देखिने भएकोले धेरैले यसको प्रयोग गरिरहेका छन्‌। त्यसैले बजारमा यो खोपको माग बढ्दै गएको छ। दशैँ- तिहारजस्ता चाडपर्वलाई लक्षित गरी तीन महिनाको लागि ल्याइएका खोप ७ दिनमा सकिएको औषधि आयातकर्ताहरू बताउँछन्‌।

चिसो मौसम बढ्दै जाँदा रुघाखोकी लाग्न नदिन धेरै मानिसहरूले यो खोप लगाउने गरेका छन्‌। ​

खोपको माग उच्च

गैह्रीधारास्थित पद्मा फार्मेसीमा दिनमा १० जनाभन्दा बढी 'फ्लु सर्ट' तथा निमोनियाको खोप खोज्न आउने गरेको सञ्चालक महेन्द्र खडका बताउँछन्। अधिकांश ग्राहकहरूले मौसमी रुघाखोकीबाट बच्न फ्लु सर्टको प्रयोग गर्न थालेको उनले बताए। धेरै माग भएकोले फार्मेसीमा खोप सकिएको उनले जानकारी दिए।

कोरोना संक्रमण हुँदा रुघाखोकी लाग्ने र फोक्सोमा असर गर्ने भएकोले निमोनियाबाट बच्नको लागि खोप खोज्न आउनेको संख्या बढ्दै गएको उनले सुनाए। सबै उमेर समूहका मानिसले यसको खोजी गरिरहेको उनको भनाइ छ।

कम्पनी अनुसार खोपको मूल्य फरक छ। खोपको १५ सय रुपैयाँदेखि माथि मूल्य रहेको उनले जानकारी दिए। 'खोप अलिक महंगो छ, तर सबै सदस्यका लागि माग गर्नेहरू पनि छन्‌,' उनले भने, 'पैसा तिर्न नसक्ने परिवारका दुई जनाले लगाउने गरेका छन्। धेरै माग भएकोले बजारमा यसको अभाव हुँदै गएको छ।'

भारतबाट एक सातामा ल्याइँदै

निमोनियाको लागि लगाइने र 'फ्लु सर्ट' जस्ता खोप एक सातामा भारतबाट ल्याउने तयारी भइरहेको छ। नेपाल औषधि आयातकर्ता महासंघका महासचिव पवन आचार्यका अनुसार कोरोना संक्रमणको त्रासले यी खोपको प्रयोग बढ्दा बजारमा माग पनि बढिरहेको हो। 

ए बोर्ड कम्पनीले बनाएको खोपको नेपालमा बढी माग रहेको छ। फ्रान्सेली सेलोफी र ग्रिन क्रस कोरियन कम्पनीका खोप पनि आउने गरेका छन्।

उनले भने, 'बजारमा कोरोना संक्रमणको दर बढेसँगै खोपको अभाव भएको हो। फ्रान्सेली, भारतीय र कोरियन कम्पनीको खोप आयात हुने गरेको छ।' कोरियन कम्पनीको खोप तत्कालै आउने अवस्था नरहेको उनले जानकाी दिए।

वृद्धका लागि लगाइने खोप सरकारको कार्यक्रममा छैन

अहिले बजारमा अभाव भएका खोप सरकारको नियमित तालिकामा नपरेको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन्। निजी कम्पनीले ल्याएका यी खोपको प्रयोग बढीरहेको उनले बताए। सरकारले प्रयोग गर्ने खोपहरूको तालिकामा अहिलेको खोप समावेश नभएको उनले जानकारी दिए।

कोरोना संक्रमणको रोकथाम गर्छ भनेर धेरै मानिसले यो खोपको प्रयोग गर्ने गरेको उनले बताए। प्रयोगमा आइरहेको खोपको कोभिडसँग कुनै पनि सम्बन्ध नरहेको उनको दाबी छ।

'नेपालमा १२ वटा एन्टीजेन्ट खोपको प्रयोग गरिने गरिएको छ,' डा. गौतमले भने,' बालबालिकाको निम्ति निमोनियाको खोप दिने गरिएको छ। ज्येष्ठ नागरिकको लागि भने कुनै खोपको व्यवस्था गरिएको छैन।'

सरकारले नयाँ खोप सम्बन्धी कार्यक्रममा यसको समावेश गर्नुपर्ने भएमा औषधि व्यवस्था विभागसँग अनुमति लिनुपर्ने उनले बताए।

कोरोना निको पार्दैन, तर शरीरमा प्रवेश गरेका भाइरस निष्क्रिय

सामान्यतया: अहिले बजारमा चर्चामा रहेको निमोकोकल खोप शरीरको लागि लाभदायी रहेको सरुवा रोग तथा संक्रामक रोग विशेषज्ञ अनुसन्धानकर्ता डा. जीवनबहादुर शेरचन बताउँछन्। जाडो मौसममा विभिन्न सरुवा रोग, कमन कोल्ड, भाइरल तथा अन्य जीनहरू उत्पादन हुने भएकोले यस खोपले शरीरका अन्य भागमा भाइरस फैलन नदिने उनको दाबी छ।

'खोपले शरीरमा प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ,' उनले भने, 'खोपले ६० देखि ७० प्रतिशत भाइरसको मात्रालाई सक्रिय हुन दिँदैन। यसले शरीरमा प्रवेश गरेका विभिन्न भाइरसलाई निष्क्रिय बनाउने गर्छ।' खोपको मात्रा भएपछि शरीरको अन्य अंगले काम स्वत: काम गर्ने गरेको उनी बताउँछन्।

प्रतिरोधात्मक कम क्षमता भएको मानिसलाई खोपले काम गर्ने उनको भनाइ छ। कमजोर मानिस, गर्भवती, वृद्ध र बालबालिकालाई खोप लगाउँदा असर नगर्ने उनले जानकारी दिए। ६० वर्षदेखि माथि, ५ वर्ष मुनिका बालबालिका र दीर्घ रोगीलाई यो खोप प्रभावकारी देखिएको छ।

कोरोनाले फोक्सोमा असर गरेपछि कार्बनडाइअक्साइड बाहिर निस्कन नपाउँदा क्षति गर्ने उनले बताए। फोक्सोलाई सुरक्षा प्रदान गर्नकै लागि भएपनि यस खोप प्रभावकारी रहेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.