|

दैलेख : दैलेखमा पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणका लागि सञ्चालनमा आएका क्रसर उद्योगले अवैध रूपमा गिट्टी, बालुवा निकासी गरी अन्यत्र बिक्री गर्ने गरेको खुलेको छ। 

सरकारले अवैध रूपमा सञ्चालित क्रसर बन्द गर्न दिएको निर्देशनसँगै दैलेख प्रशासनले गरेको अनुगमन क्रममा यस्तो भेटिएको हो। प्रमुख जिल्ला अधिकारी सहितको अनुगमन टोलीलाई स्थानीयले यस्तो कुराको जानकारी गराएका हुन्। राजमार्गलाई मात्र भनिए पनि तर रातारात सुर्खेत, नेपालगन्ज र कालिकोट जिल्लासम्म गिट्टी बिक्री हुने गरेको पाइएको छ। 

जिल्लाको पश्चिममा पर्ने चामुण्डाबिन्द्रासैनी नगरपालिका–६ को पादुका खोलामा लोकमार्ग निर्माणका लागि भन्दै सञ्चालनमा आएको क्रसर उद्योगले रातारात सबैको मिलेमतोमा बालुवा, गिट्टी अन्यत्र बिक्री गरिरहेका छन्। 

उता कर्णाली राजमार्गमा निर्माण गरिएको आठबीस नगरपालिका–२ सिस्ने बजारको श्रृंगेश्वर कन्स्ट्रक्सनले पनि लुकीछिपी अवैध रूपमा गिट्टी, बालुवा बिक्री गर्दै आएको स्थानीय बताउँछन्। 

उद्योग विद्यालय नजिकै सञ्चालनमा रहेकाले ध्वनि प्रदूषण गरी विद्यार्थीको पठनपाठनमा समस्या समेत उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन्। विद्यालय खुलेपछि पुनः स्थलगत अनुसन्धान गर्ने गरिनुका साथै कम्पनीलाई अहिले देखिएको समस्या समाधान गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। 

क्रसर उद्योग सञ्चालकहरूले भने आफूहरूले सडकका लागि आवश्यक पर्ने परिणाम मापन गरेर मात्र काम गर्दै आएको बताएका छन्। उनीहरूले उद्योगमा स्थानीयलाई रोजगारी प्रदान गरेको र अवैध बाहिर बिक्री वितरण गर्ने नगरेको बताए। 

सम्झौताबिना सञ्चालन 

चामुण्डा बिन्द्रासैनी नगरपालिका–६ को पादुका खोलामा सञ्चालनमा आएको क्रसर उद्योगले सम्झौताबिना पनि काम गर्दै पाइएको छ। उद्योग सञ्चालनका लागि स्थानीय सरकारको अनुमति–सम्झौता चाहिने भए पनि उद्योगले तीन वर्षदेखि स्थानीय निकायसँग समन्वय गरेको देखिदैन। 

उद्योग स्थापना गर्दा सिँचाइ कुलो भत्किएको थियो, तीन वर्षदेखि उक्त कुलो निर्माण नगरेर जनतालाई अन्याय गरेको स्थानीयले आरोप लगाएका छन्। तीन वर्ष पुग्दासमेत अहिलेसम्म कुलो निर्माण भएको छैन। 'खेत बगरमा परिणत भएको छ, प्रमुख जिल्ला अधिकारीज्यूले यस विषयमा चासो बढाइदिनुपर्‍यो,' स्थानीय किसानहरूले माग गरेका छन्। 

तीन दिनभित्र विवरण बुझाउन निर्देशन 

जिल्लामा सञ्चालनमा रहेका दुई वटा क्रसर उद्योगलाई आफ्नो सम्पूर्ण विवरण तीन दिनभित्र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय दैलेखले निर्देशन दिएको छ। स्थलगत अध्ययनपछि निर्देशन दिइएको र कानुनविपरीत भेटिए कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुनारले बताए। 

अहिले जिल्लामा पुष्पलाल मध्य पहाडी राजमार्ग निर्माणका लागि भन्दै दुई वटा क्रसर उद्योग सञ्चालनमा छन्। अन्य दुई वटा क्रसर उद्योग सञ्चालन तयारीमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.