|

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराले पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको वडाबाट नयाँ क्रियाशील सदस्यता वितरण गर्न थालेको छ।

डडेल्धुराका कांग्रेस सभापति तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्लले सोमबार स्थानीय धौलीदेवी सार्कीलाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेर जिल्लाव्यापी रूपमा सदस्यता वितरणको काम आरम्भ गरेका हुन्‌। 

गन्यापधुरा गाँउपालिका–१ रुवाखोलामा आयोजित कार्यक्रममा वडास्तरमा क्रियाशील कार्यकर्ताहरूका साथै जिल्लास्तरीय नेताहरू सहभागी थिए। सो वडा नेपाली कांग्रेसका सभापति देउवाको जन्मस्थान हो। 

जिल्लाभर क्रियाशील सदस्यता नवीकरण गरिसकेको नेपाली कांग्रेस डडेल्धुराले गन्यापधुरा–१ का ८४ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरेको कांग्रेस डडेल्धुराका कार्यालय सचिव रामबहादुर विष्टले जानकारी दिए ।

सो वडामा ८४ जना पुराना क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण भइसकेकाले पार्टीको नीतिअनुसार थप ८४ जनालाई नयाँ क्रियाशील सदस्यता वितरण गरिएको गन्यापधुरा–१ का वडा सभापति पदमबहादुर महताले बताए। 

नयाँ क्रियाशील सदस्यता वितरण कार्य शुभारम्भ भइसकेकाले जिल्लाका सबै वडामा जिल्लास्तरीय नेताहरूको सहभागितामा नयाँ क्रियासिल सदस्यता वितरण गरिने कांग्रेस डडेल्धुराले जनाएको छ।

नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा जिल्लास्तरीय नेताहरूबीच कुनै विवाद नदेखिएको र सदस्यता वितरण अभियान जिल्लाव्यापीरूपमा प्रभावकारी ढंगबाट सञ्चालन गरिने कांग्रेस डडेल्धुराका सभापति मल्लले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.