कतै सञ्चालनमा नआउँदै पुल भत्कियो, कतै सडक ट्रयाक नै मेटियो

|

विराटनगर : ‘हुलाकी राजमार्ग बन्छ, बन्दै छ, अब बनिहाल्छ !’

झापा गौरीगञ्‍जका रोशन यादवले हुलाकी सडक बन्ने चर्चा २०४५ सालमै सुनेका थिए। जति बेला उनका हजुरबुवा छोटु जिउँदै थिए।

छोटी बिते, बुवा रघुनाथपनि बिते। तर, तराई–मधेसको 'लाइफ लाइन' मानिने हुलाकी सडक बनेन। तराईका जिल्लाहरू जोड्ने यो 'लाइफ लाइन' निर्माणको काम शुरू भएको १६ वर्ष पुगिसक्यो। सरकारले यो राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेको छ।

हुलाकी राजमार्ग निर्माणका लागि सडकमा माटो भर्ने काम भएको छ। धेरै स्थानमा उड्ने धुलोले स्थानीयले सास्ती खेप्न बाध्य छन्। सडक एकातिर बन्दै छ, अर्कोतिर भत्किँदै गर्छ। झापा, मोरङ र सुनसरी र सप्तरी जिल्लामा हुलाकी राजमार्ग निर्माणको हविगत यस्तै छ। 


मोरङको आँपतोला चोकबाट पश्चिमतर्फको हुलाकी मार्ग ।

वि.संं. ०६२/०६३ सालबाट हुलाकी राजमार्ग निर्माणको कामले गति पाएको सरकारको दावी थियो। तर, कागजी रूपमा गति लिएको देखिएपनि निर्माणमा ढिलासुस्ती र दुरावस्था यथावत छ।

सप्तरीदेखि झापा जिल्लासम्म २ सय २५ किलोमिटर लम्बाइ रहने यो राजमार्गका धेरै स्थानमा कालोपत्रेको काम पनि भएको छ। तर, केही स्थानमा भने अहिले सडकको ट्रयाक नै हराउन थालेको छ। अहिले पनि धरै स्थानमा पुल निर्माणको काम अधुरै अवस्थामा छाडिएको छ। सप्तरी सदरमुकाम राजविराजदेखि मोरङको सदरमुकाम विराटनगर हुँदै झापा जिल्ला सदरमुकाम भद्रपुरसम्म चारपाङ्ग्रे सवारीसाधन चलाउनसक्ने अवस्था छैन।

सरकारले यो वर्षपनि सप्तरी र झापा जिल्लामा मात्र हुलाकी सडकको काम अघि बढाएको थियो। सप्तरीमा पुल निर्माणको काम मात्र भइरहेको छ भने झापामा पुलसँगै उत्तर-दक्षिण जोड्ने सहायक सडक कालोपत्रे गर्ने काम भइरहेको छ।

हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले प्रदेश १ खण्डमा पर्ने हुलाकी राजमार्ग निर्माणको कामले गति लिँदा भौतिक प्रगति बढेको दाबी गदै आएको छ।कार्यालयका अनुसार पूर्वका ४ जिल्लामा सडक स्तरोन्नतिको काम ३५ प्रतिशत सकिएको छ। चालू आर्थिक वर्षको प्रगति ५५ प्रतिशत छ। २०७७ सालभित्र सक्ने लक्ष्य लिइएको सडक निर्माण मुआब्जा विवाद तथा साइट क्लियरिङका कारण केही ढिला भएको कार्यालयका अधिकारीहरू बताउँछन्‌।

​​
रतुवा माई र गौरीगञ्‍ज बजार जोड्ने सडकको अवस्था ।

झापा, मोरङ, सुनसरी र सप्तरी हेरिरहेको इटहरीस्थित कार्यालयका अनुसार वित्तीय प्रगति भने ४७ प्रतिशत छ। ६४ सालमै काम थालिएपनि शुरूमा पुलको काम मात्र अघि बढेको र सडकको काम भने ७३ सालपछि मात्र शुरू भएको इन्जिनियर आशुतोष कर्णले जानकारी दिए।

सडक निर्माणका लागि आवश्य मुआब्जा लगायतका विषयमा विलम्ब हुँदा भौतिक प्रगतिको कामले साइट गति लिन नसकेको उनी बताउँछन्‌। उनका अनुसार यो कार्यालयले हुलाकी राजमार्ग र उत्तर–दक्षिण लिंक रोडसमेत गरी २ सय ९५ किलोमिटर सडकको काम हेरिरहेको छ। कार्यालयका अनुसार अहिले सडकको १८ र पुलको २७ गरी ४५ वटा ठेक्कामा काम भइरहेको छ।

भारतीय पक्षले जिम्मा लिएको २ वटा सडकमा ८० किलोमिटर कालोपत्र भइसकेको छ। बाँकी सडकको चौडाइ बढाउने र स्तरोन्नतिको काम भइरहेको छ। कार्यालयका अनुसार हुलाकी राजमार्ग निर्माणको काम अबको तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ। चालु आर्थिक वर्षभित्र २७ वटा पुलमध्ये १८ वटा निर्माण सकिने अवस्था छ।

भित्री तराईको विकास गर्ने 'लाइफ लाइन'का रूपमा लिइएपनि सरकारले कार्यसम्पादनमा ध्यान नदिएको झापा गौरीगञ्‍जका स्थानीय रघुराम सतारले बताए। ‘म १५ वर्षको उमेर हुँदाबाट निर्माणको काम शुरु भएको राजमार्ग अहिले म ३५ वर्षको भइसक्दा पनि तयार पारिएको छैन, निर्माणमा केही प्रगति हुने बाहेक समग्रमा अहिले पनि अवस्था उस्तै छ,’ सतारले भने, ‘गौरीगञ्‍जबाट विराटनगर जान अहिलेपनि हुलाकी मार्ग भएर पुग्नसक्ने अवस्था छैन, कतिपय स्थानमा पुलको समस्या छ,त कतिपय स्थानमा ट्रयाक नै नभेटिने अवस्था छ।’

स्थानीय रामविलास सतारका अनुसार झापा र मोरङ जिल्लाको सिमाना भएर वग्ने रतुवा नदीले गएको वर्ष हुलाकी राजमार्ग अन्तर्गत मोरङ खण्ड बगाएको थियो। तर सो खण्ड अहिलेसम्म मर्मत गरिएको छैन।


रतुवा खोलाले बगाएर निसाना विहिन बनेको अवस्थामा रतुवामाई सडकखण्ड ।

मोरङ जिल्लाको सुनवर्षी नगरपालिकामा पर्ने हुलाकी सडक खोलाले बगाएपनि पुनःनिर्माण नगरिँदा करिव २ सय मिटर सडकको निसाना नै हराउन पुगेको छ।

रतुवा खोलामा निर्माण गरिएको पुलबाट अहिले पनि नदी तर्ने अवस्था छैन। सडकको भागभन्दा निकै उचाइमा रहेको पुलबाट स्थानीयवासी आवतजावत गर्न सकिरहेका छैनन्‌।

हुलाकी राजमार्ग ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापा, मोरङ जिल्लामा ४८/४८ किलोमिटर, सुनसरीमा ३० किलोमिटर र सप्तरीमा ३२ किलोमिटर पर्छ। झापामा हुलाकी राजमार्गलाई जोड्ने सहायक राजमार्ग चारआली-केचना ४० किलोमिटर, मोरङमा कानेपोखरी-रंगेली २५ किलोमिटर र सप्तरीमा कल्याणपुर-वसाइन हुँदै व्रह्मपर्टी १८ किलोमिटर सहायक राजमार्ग छ।

हुलाकी राजमार्ग आयोजना इटहरीका अनुसार सप्तरी, सुनसरी, मोरङ र झापा जिल्ला जोड्ने सडक निर्माणको काम भइरहेको छ। राजमार्ग अन्तर्गत सप्तरीमा अहिले २ करोड रुपैयाँदेखि माथिका साना-ठूला गरी १५ वटा पुलको निर्माण भइरहेको छ।


झापाको गौरीगञ्‍ज बजार ।

त्यसैगरी झापा जिल्लामा ३३ करोड रुपैयाँ लागतमा मेची नदीमा पुलसहित १२ वटा पुल निर्माणका चरणमा छन्। सोही जिल्लामा चारआली-केचना (४० किलोमिटर) सहायक सडकमा कालोपत्रेको काम भइरहेको छ।

यस बाहेक हुलाकी राजमार्गमा अन्य प्रगति योग्य काम हुनसकेको छैन। आयोजनाका इन्जिनियर आशुतोष कर्णका अनुसार सडकदेखि पुल निर्माणका प्रत्येक वर्ष बजेट अपुग हुने गरेको छ।

थप बजेट निकासाका लागि ताकेता गर्दापनि नआएको र ठेकेदार कम्पनीलाई भुक्तानी दिन समस्या हुने गरेको उनी बताउँछन्‌।

रतुवा पुलको बेहाल

​हुलाकी राजमार्ग अन्तर्गत मोरङ र झापाको सिमानामा पर्ने रतुवा माई नदीमा निर्माण भएको पुल अलपत्र अवस्थामा पुगेको छ। पुल निर्माण भएपनि नदीले बटान गरेपछि सञ्चालनमा आउनु अगावै पुल जीर्ण बनेको हो।


प्रयोगविहीन बनेको रतुवा खोलाको पुल ।

हुलाकी राजमार्ग अन्तर्गत पर्ने सडक भएपनि यो पुल निर्माण भने सुनसरी मोरङ पुल निर्माण आयोजनाले गरेको थियो। कुल ११ करोड रुपैयाँ लगानीमा २ सय ५ मिटर लम्बाइको यो पुल ६ वर्ष अघि निर्माण शुरू गरिएको थियो। कालिका-आशिष जेभीले ठेक्का पाएको पुल निर्माणको काम ६ वर्षअघि सम्पन्न गरी भुक्तानी समेत लिइसकेको छ।

पुल निर्माण सम्पन्न भएर हस्तान्तरणको चरणमा आउन नपाउँदै नदीमा आएको बाढीले पुलको पूर्वतर्फको भाग बगाएको थियो। पुल प्रयोगमा ल्याउन नदीको दुवैतर्फ १ सय मिटर भरोट हाली सडक तयार पारिएको छ। तर, आवतजावत गर्नसक्ने अवस्था छैन। सडकभन्दा पुल निकै उचाइमा रहेकाले स्थानीयहरू पुल मुनिबाटै नदी वारपार गर्ने गरेका छन्‌।

हुलाकी राजमार्गको इतिहास

पूर्व–पश्चिम लोकमार्गको समानान्तर सीमा हुँदै करिब २० देखि ३० किलोमिटर दक्षिणतर्फ भएर फैलिएको सडक नै हुलाकी राजमार्ग हो।

राणाकालदेखि नै चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटोलाई पद्म शमशेरले अघि बढाएका थिए। त्यसकारण यो सडकलाई पद्मरोड पनि भनिन्छ। यो तराई मधेसका जिल्लाहरू जोड्ने पहुँचमार्ग पनि हो। यो सडक पूर्व–पश्चिम ९ सय ७५ किलोमिटर फैलिएको छ।

पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किलोमिटरमा ३२ वटा सहायक राजमार्गहरू छन्। यी सबै जोड्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किलोमिटर पुग्छ।

भारतीय तत्कालीन प्रधानमन्त्री चन्द्रशेखरले वि.संं. २०४७ सालमा नेपाल भ्रमण गर्ने हुलाकी राजमार्ग निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। भारतीय सहयोगको सैद्धान्तिक सहमति चाहिँ वि.सं. २०६१ सालमा भएको थियो।

२०६२/०६३ को परिवर्तनपछि भारत सरकारले नेपाल सरकारबाट छनोट भएका १ हजार ४ सय ४० किलोमिटर सडकहरूको डिजाइन सुपरिवेक्षण र निर्माण तीन चरणमा सम्पन्न गर्ने, सोबापत लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने र जग्गा अधिग्रहण, पोल, रुखहरू हटाउने, हुलाकी राजमार्गमा पर्ने सम्पूर्ण पुलहरूको निर्माण नेपालले गर्ने प्रावधानसहितको समझदारी भएको थियो।

तर भारत सरकारले सहमति अनुसार केही समय काम गरेपनि त्यसपछि नेपाल सरकाले आवश्यक सहयोग नगरेको भन्दै सडक निर्माणको कामबाट हात झिकेको थियो।

नेपालले गरेको रेखांकनअनुसार हुलाकी राजमार्गको लम्बाइ पूर्वदेखि पश्चिमसम्म एक हजार सात सय ९२ दशमलव ४२ किलोमिटर छ। यसमध्ये प्रथम चरणको काम लगभग ३३ प्रतिशत हो, जुन अझै अलपत्र छ। दोस्रो चरणको ६६ प्रतिशत निर्माण अन्योलमा छ। एक हजार सात सय ९२ दशमलव ४२ किलोमिटरमा हालसम्म ६७ दशमलव ८४ किलोमिटर मात्र कालोपत्रे भएको छ। आयोजनाको अध्ययनअनुसार बाँकी सडकखण्ड माटे स्तरमै छ। कतिपय ठाउँमा सडकको आधारभूत संरचना पनि छैन।

व्यवहारमा सरकारले हेपेको आयोजना

नेपालमा भारतका प्रधानमन्त्री र मन्त्रीहरूको भ्रमणका क्रममा हुलाकी राजमार्गको चर्चा बढी नै हुने गरेको छ।

नेपालले मात्र हैन, भारतले पनि यसको निर्माणमा चासो राख्ने गर्छ। तर, यतिका वर्ष बितिसक्दा राजमार्ग निर्माणको गति हेर्दा स्थानीयवासी भने निराश हुन थालेका छन्‌। समग्र तराईका जिल्लाहरूको विकासका लागि 'लाइफ लाइन'का रूपमा रहेको राजमार्गको निर्माण सुस्त हुँदा सरकारप्रति आक्रोश पनि बढिरहेको छ।

‘पुरानो हुलाकी राजमार्ग जस्ताको त्यस्तै छ, पछि शुरू भएको पूर्व-पश्चिम राजमार्ग उहिल्यै सम्पन्न भइसक्यो,’ झापाका स्थानीय रामप्रसाद रौनियारले भने, ‘मधेसको बस्ती हुलाकी राजमार्ग वरपर नै छ, तर सडक छैन, सरकारले किन मधेशका जनतालाई यति विभेद गर्दैछ ?’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा हुलाकी राजमार्गका लागि साढे ७ अर्ब १ करोड रुपैयाँ विनियोजन गरेको छ। यो आयोजना ३ वर्षभित्र बनाइसक्ने बजेटमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.