कोरोनाबाट बच्नै सकस

|

काठमाडौं : फरक क्षमता भएका ललिता बस्नेत लकडाउन अघिसम्म ह्विलचियरबाटै बाहिर हिँड्डुल गर्थिन्। वीरगञ्जकी २० वर्षीय ललिता साथीभाइसँग बस्दै कक्षा कोठामै पढ्थिन,रमाउँथिन्। तर, अहिले कोरोना कहरका कारण उनी नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र जोरपाटीभित्रै बस्न बाध्य छिन्।

त्यति मात्रै होइन एसइई उतीर्ण गरे पनि कक्षा ११ मा भर्ना हुन पाएकी छैनन् उनी।  उनको अध्ययनमा कोरोना बाधा बनेको छ। भन्छिन्, ‘कोरोनाले गर्दा अध्ययन गर्ने हामीजस्ताका लागि माहोल छैन। अनलाइन कक्षाका लागि कतिपयको समय मिल्छ भने कतिपयको मिल्दैन। सहज वातावरण हुँदैन।’ 

उनका अनुसार नवजीवन केन्द्रमा फ्री वाइफाई छ। तर,कोठाभित्र सहिजै नचल्दा बाहिर नै आएर नेट प्रयोग गर्नुपर्ने बाध्यता छ। अब कक्षा ११ मा मुख्य विषय अंग्रेजी लिएर पढ्ने सोच ललिताले बनाएकी छन्। तर, कहिलेबाट पढ्न पाउने हो, त्यो उनलाई थाहा छैन।

‘नवजीवन केन्द्रले सकेको जति हामीलाई सेवा दिइरहेको छ,’ उनले भनिन्, ‘हामीले साचेजस्तै केन्द्रले सहयोग गर्न पनि त सक्दैन। सरकारले थप केही हाम्रा लागि नेट, उपकरण प्रदान गरे सहज हुने थियो।’

कोरोनाबाट बच्नै सकस

सपांग व्यक्तिभन्दा फरक क्षमताकाहरु  कोरोना संक्रमणबाट बच्नै गाह्रो पर्ने उनी बताउँछिन्। ‘नर्मल व्यक्तिलाई कोरोना लागे पनि क्वारेनटाइनमा बस्न सहजै हुन्छ। तर, हामीजस्ता अपांगता भएकालाई कोरोना संक्रमण भए त्यसरी बस्न सम्भव नै छैन,’ उनले दुख बिसाइन्। 

त्यही संस्थामा बस्दै आएका फरक क्षमताका कृष्ण  खड्का पनि कोरोनाबाट कसरी बच्ने चिन्ताले पिरोलिएका छन्। भने, ‘पहिला बाहिर घुलमिल हुन्थ्यो। स्वतन्त्र भएर हिँडिन्थ्यो। तर अहिले यही सीमित भएर बस्नु परेको छ।’ सरकारले फरक क्षमताका लागि पनि संरक्षण गर्न सके सहज हुने उनको भनाइ छ।

कोठा भाडा तिर्न समस्या 

संघसंस्थामा बसेका फरक क्षमताकाले स्याहारसुसार पाए पनि भाडामा बस्नेहरुको दैनिकी भने झनै नाजुक छ।

नवजीवन केन्द्रमा भेटिएका संखुवासभा घर भई जोरपाटी नारायणटारमा बस्दै आएका मदन कुमार राई भन्छन्,‘कोरोना कहरमा पनि संस्थामा बस्नेहरुलाई सहज नै छ। मलाई भने कोठा भाडा तिर्नमै समस्या छ।’ १० वर्षअघि उनी दशैँको बेला गाउँमा माटो खन्दै गर्दा पुरिएका थिए। त्यसपछि उनको मेरुडण्ड भाँचियो। अहिले उनको सारथि ह्विलचियर बनेको छ।  

‘कोरोनाबाट बच्न सुरक्षा अपनाइरहेका छौँ’

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रका गृह प्रमुख सूर्य कुमारी गुरुङका अनुसार अशक्त अपांगता भएका गृहमा करिब ८५ जना छन्। यसमा बेबारिसे पनि छन्।

‘सरकारले लकडाउन गरेपछि हामीले यहाँका कर्मचारीलाई यहीँ राख्यौँ,’ उनले भनिन, ‘ढोका लगाएर बस्छौँ। त्यसैले अहिलेसम्म कोहीमा संक्रमण देखिएको छैन। हामीले सक्दो उहाँहरुलाई सेवा, सुविधा दिइरहेका छौँ। सरसफाइमा ध्यान पुर्‍याएका छौँ।’ फरक क्षमता भएकालाई कोरोना जोखिम धेरै भएको उनी बताउँछिन्।

‘एक जनामा संक्रमण देखिए अरु धेरैलाई असर पुग्छ। जोखिम धेरै छ। त्यसैले सुरक्षा अपनाइरहेका छौँ।’ सरकारले समयमै बजेटको व्यवस्था गरिदिए सहज मिल्ने उनको तर्क छ। ‘गोकर्णेश्वर नगरपालिकाले बेलाबेला सहयोग गरिरहेको छ,’ उनले भनिन्।

सोमबार गोकर्णमा रहेको अपाङ्ग पुनस्र्थापना केन्द्र नेपालमा थाहाकर्मी पुग्दा कोही बालबालिका खेलिरहेका थिए, त कोही पढिरहेका थिए। अनलाईन कक्षा पढ्दै गरेका अनिल जिरेल भने‘पहिला बाहिर खुल्लामखुल्ला पढ्दै साथीभाइसँग रमाइलो गरिन्थ्यो। अहिले यही बस्दाबस्दा वाक्कदिक्क हुन थालेको छ।’

अनिलको घर दोलखा हो। पारिवारिक समस्याले गर्दा उनी केन्द्रमा ६ वर्षदेखि बस्दै आएका छन्। हुम्लाका भावना नेपाली पनि त्यही केन्द्रमा बस्दै आएका छन्। उनलाई पनि कोरोना संक्रमण हुने त्रास धेरै छ। ‘कोरोनाले गर्दा बाहिर साथीसँग हिँड्न पाइएको छैन। अहिले यहीँ बस्छौँ। अनलाइन कक्षा पढ्छौँ, खेल्छौँ। भित्रै बस्दाबस्दा दिक्क लाग्न थालेको छ।’ 

‘अपांगतालाई बढी कोरोना संक्रमण हुने जोखिम भएकाले आफन्तमा बुझायौँ’

पुनर्स्थापना केन्द्रका इन्चार्ज पास्तेम्बा शेर्पाले कोरोना संक्रमण फैलने उच्च जोखिम भएकाले फरक क्षमता भएकालाई आफन्तकहाँ बझाएको बताउँछन्। उनका अनुसार ५५ जना बालबालिका र फरक क्षमता भएका केन्द्रमा थिए। अहिले भने बालबालिका मात्रै त्यहाँ राखिएका छन्। अहिले त्यहाँ ७ जना छन्।

‘हामी उहाँहरुको केकस्तो स्थिति छ भनी महिनाको एक पटक जान्छौँ,’ उनले भने, ‘लुगाफाटा,शैक्षिक सामग्री दिन्छौँ। अनलाइन कक्षाबाट पढाइरहेका छौँ।’
फरक क्षमता भएकाको रोगसँग लड्ने क्षमता कम हुने भएकाले धेरै जोखिम हुने उनी सुनाउँछन्।

​‘कोरोना कहरको बेला सरकारले केही सहयोग गरेको छैन,’ उनले भने, ‘बरु लायन्स क्लब लगायतले सहयोग गर्छ। सहयोगी भावनाले मात्रै सधैं यो संस्था चल्छ भन्ने छैन। सरकारले वार्षिक योजनामा केही हदसम्म बजेट छुट्याए सहज हुने थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.