झडपमा गोली चल्दा दुईजना घाइते

|

महोत्तरी : बर्दिवास नगरपालिका-१४ मा ६ वर्षीया बालिकाको बलात्कारपछि भएको हत्या प्रकरणपछि स्थानीयबासी आक्रोशित भएका छन्। बर्दिवास नगरपालिका-१४ की ६ वर्षीया गुलाव शाह खातुनको हत्याको विरोधमा जारी प्रदर्शनमा गोली चल्दा दुईजना घाइते भएका छन्। 

प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलायो वा पीडित र आरोपित पक्षमध्ये कसले गोली चलायो भन्नेबारे विस्तृत विवरण आइसकेको छैन। तर गोली लागेर स्थानीय सञ्जय न्यौपाने र अर्का सर्वसाधरण घाइते भएका छन्। 

अहिले पनि बर्दिबासमा प्रदर्शन रोकिएको छैन। महिलाहरुले शव बोकेर प्रदर्शन गरेका हुन्। उनीहरुले दोषीलाई कडाभन्दा कडा कारवाही माग गरेका छन्। 

​शुभम् बस्तीबाट हराइरहेकी ६ वर्षीया बालिका खातुनको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिक-५ का २५ वर्षीय अरुण कुमार साहलाई पक्राउ गरिसकेको छ।

पक्राउ परेका साहले बालिकाको हत्या गरेको स्वीकारेका छन्‌। पक्राउ परेका शाहको घरमा स्थानीयवासीले आगो लगाइदिएका छन्‌। प्रहरीका अनुसार खातुनको शव सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चिमपट्टी पर्ने विनोद साहको खाली जग्गामा भेटिएको थियो। 

स्थानीय शहीद आलमकी छोरी खातुन आइतबार साँझदेखि बस्तीबाटै हराएकी थिइन्‌। हत्या गरेर बोरामा राखी झाडीमा फालेको अवस्थामा सोमबार मध्यरातमा  शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले बताए।

बालिकाको हत्या आरोपमा पक्राउ परेका गौशाला नगरपालिका-५ का २५ वर्षीय अरुणकुमार साहको बर्दिवास नगरपालिका १४ स्थित घरमा उत्तेजित स्थानीयवासीले तोडफोड गर्दै आगो लगाइदिएका थिए।

उत्तेजित भीडले आगो निभाउन आएको दमकललाई समेत बाटो छेकिदिएका थिए। परिस्थिति नियन्त्रणका लागि घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.