|

विराटनगर : मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल र विराटनगरको नोबेल शिक्षण अस्पतालमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराट शिक्षण अस्पतालमा तीन र नोबेल शिक्षण अस्पतालमा एक गरी चार जना संक्रमितको  उपचारका क्रममा मंगलबार मृत्यु भएको हो।

मृत्यु भएकामध्ये धरानकी एक वृद्धा महिला र पथरीशनिश्चरेका एक पुरुष छन्। दुवैजनाको उपचारका क्रममा ज्यान गएको हो। धरान उपमहानगरपालिका–८ की ८५ वर्षीया वृद्धाको बिहान ५ बजेतिर विराट शिक्षण अस्पतालमा मृत्यु भएको हो।

पिसिआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि कात्तिक २९ गते उनलाई उपचारका लागि भर्ना गरिएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए। भेन्टिलेटरमा उपचाररत उनको बिहान ५ बजेतिर मृत्यु भएको देवले बताए। उनका अनुसार मृतकमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत समस्या थिए।

कोरोना संक्रमित पथरीशनिश्चरे नगरपालिका–३ का ४५ वर्षीय पुरुषको बिहान ८ः३० बजेतिर नोबेलमा मृत्यु भएको छ। उनलाई उपचारका लागि मंगलबार बिहान मात्रै अस्पताल ल्याइएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

पिसिआर परीक्षण गराउँदा मंसिर ५ गते कोरोना पुष्टि भएपछि होम आइसोलेसनमै रहेका पुरुषलाई एक्कासि श्वासप्रश्वासमा समस्या भएपछि थप उपचारका लागि नोबेल ल्याइएको जानकारी दाहालले दिए। तत्काल उपचार थालिए पनि बचाउन नसकिएको उनको भनाइ छ।

विराटनगरमा मंगलबार बिहान तत्कालीन पथरी गाविस अध्यक्ष र  सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको थियो। उनीहरु दुवैको मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल उपचार क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.