|

इलाम : च्याम्पियन्स लिगमा युक्रेनी क्लब डिनामो किएभविरुद्ध क्याटलान क्लब बार्सिलोना नियमित कप्तान लियोनल मेस्सीबिना मैदान उत्रँदैछ।

किएभको मैदानमा नेपाली समयअनुसार १ः४५ बजे सुरु हुने खेल खासै दबाब नभएको कारण मेस्सीलाई विश्राम दिइएको प्रशिक्षक रोनाल्ड कोम्यानले बताएका छन्। उक्त खेलमा डच मिडफिल्डर फ्रयांकी डिजोङलाई पनि नखेलाइने कोम्यानले जनाएका छन्। यद्पि कोम्यानले मेसी र डिजोङलाई ला लिगामा एट्लेटिकोसँग भर्खरै बार्सिलोनाले हारेका कारण आजको खेलमा समावेश नगरेका हुन सक्ने फुटबल विश्लेषकहरुको अनुमान छ। 

यसअघिको रियल बेटिसबिरुद्धको खेलमा समेत मेस्सी बेञ्चमा थिए। यसअघि पहिलो लेगमा बार्सिलोनाले किएभमाथि जित निकालेको थियो। २–१ गोल अन्तरले जितेको उक्त खेलमा डिफेन्डर पिके र कप्तान मेस्सीले गोल गरेका थिए।

तर आजको खेलमा दुवै जना हुने छैनन्।  मेस्सीलाई प्रशिक्षकले विश्राम दिँदा ला लिगमा एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा इन्जर्ड भएपछि पिके १९ सदस्यीय टोलीमा छैनन्।

पिकेसँगै डिफेन्डर सर्जियो रोबर्टोसमेत टोलीमा उपलब्ध हुने छैनन्। टिनएज फरवार्ड अन्सु फाती चोटकै कारण टिममा समेटिएका छैनन्। उनी लामो समयको लागि विश्राममा छन्।

खराब लयका बाबजुद पनि गोलरक्षक टेर स्टेगेनलाई टिममा राखिएको छ। एन्टोइ ग्रिजम्यान र पेड्रीले बार्साको आक्रमण सम्हाल्नेछन्। पिके र सामुएल उम्मिटीको अनुपस्थितिमा डिफेन्स लाइन बलियो बनाउने जिम्मा क्लिमेन्ट लेङग्लेटको काँधमा छ। 

किएभका लागि पहिलो रोजाइका केही खेलाडीमा कोरोना संक्रमण देखिएपछि क्याटलान क्लबविरुद्ध मैदानमा देखिने छैनन्। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार  जर्ज सिताइश्विली, डेनिस गार्माश्च, मिक्केल डुइलुड, अलेक्ज्याण्डर करवेवे, ट्युडर बेलुत्से र म्याकोला सापारेकोलाई कोरोना संक्रमण देखिएको छ।

ओलेक्सान्डर टिम्च्याक, नाजारी रुसिन र भ्लादिमिर कोस्टेविच इन्जुरीका कारण मैदानमा देखिने छैनन्। 

बार्सिलोना र किएभ आठौं पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि युरोपेली फुटबलको प्रतिस्पर्धामा क्याटलान क्लबले ५ पटक जित निकाल्दा युक्रेनी क्लबको पक्षमा २ खेल छ।

पछिल्लो पटक सन् २००९ को च्याम्पियन्स लिगमा किएभले बार्सालाई घरेलु मैदानमा आतिथ्यता प्रदान गरेको थियो। जहाँ बार्सा २–१ ले जित्न सफल भएको थियो। च्याम्पियन्स लिगको पछिल्लो ११ खेलमा किएभले १ खेल मात्र जित्न सफल भएको छ। 

६ खेलमा हार र ४ खेलमा बराबरी खेलेको थियो।  यस सिजन सुरुवाती तीनै खेलमा जित हासिल गरेको बार्सिलोना सोही लयलाई निरन्तरता दिने सुरमा हुनेछ। यस खेलमा जित हासिल गरे बार्सिलोना अर्को चरणमा प्रवेश गर्नेछ। यता किएभ समूह चरणको ३ खेल मध्ये २ मा पराजय भोग्दै १ अंकको साथ तेश्रो स्थानमा छ।

त्यस्तै आज राति (बिहान)  चेल्सीविरुद्ध रेनेस, सेभिला र क्रान्सनोडर, म्यानेस्टर युनाइटेड र इस्तानबुल, पिएसजी र लेप्जिग, लाजियो र जेनिट खेल्दै छन्। त्यस्तै बोरुसिया डर्टमन्ड र क्लब बर्ग तथा युभेन्टस र फेरेनकभोरस पनि आमनेसामने हुँदैछन्।

​बार्सिलोनाले ट्विट गरेको आजको खेलका प्लेइङ ११

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.