|

जुम्ला : कुनै पनि नागरिकको जीवनसँग जोडिएको विषय जमिन हो। जमिनसँग प्रत्यक्ष जोडिएको कार्यालय भनेकै नापी र मालपोत कार्यालय हुन्। त्यही जग्गाको कारोबार गर्न टाढा-टाढाबाट आएका नागरिक हप्तौँसम्म बस्नुपरेको दुखेसो पोख्दै आएका छन्।

मालपोतमा काम गर्न लामबद्ध कुरेका छन् तर काम भने नभएको सिंजा कनका सुन्दरी गाउँपालिका ४ का लालबहादुर बुढा र गुठिचौर गाउँपालिका ४ कै पदम नेपालीले गुनासो गरेका छन्।

मालपोतमा सेवा लिने आउने नागरिक भन्छन् सिंहदरबार गाउँ-गाउँमा आयो भने तर हामी नागरिकका लागि नयाँ प्रविधि सास्ती बनेको छ। जे आए पनि हुने खानेहरूका लागि मात्र आएको उनीहरूको दुखेसो छ।

जुम्ला सदमुकाम क्षेत्रदेखि पश्चिम सिंगाचौरमा अवस्थित मालपोत कार्यालयमा नेट राम्रोसँग चल्दैन कर्मचारी भन्छन्। अर्कातिर कम्प्युटर अपरेटरले गर्ने काम हामी कर्मचारीलाई गारो छ। कम्प्युटर अपरेटरले नभएका कारण पनि मालपोतको कामकाजमा ढिलासुस्ती हुने गरेको मालपोत कार्यालय जुम्लाका कार्यबाहक प्रमुख महेन्द्र हमालले बताए।

सिंजा गाउँपालिका–१ धाँपा गाउँका मयाराम आचार्य मालपोत कार्यालयमा जग्गाको कारोबारो गर्न ३ कार्तिकमा आएको बताए। उनले भने, 'मालपोत कार्यालय आएको एकसाता भन्दा बढी भयो तर काम भने हुन सकेन। उनले थपे दैनिक कार्यालय धाउने काम मात्रै भयो, तर काम भने भएन। अझै कतिदिन लाग्ने हो थाहा छैन।' उनले एक घण्टामा हुने कामका लागि हप्ता दिन लाग्दा खर्च धेरै लागेको छ। होटलको बसाई दैनिक एक हजार पाँच सय रुपैया खर्च लाग्ने गरेको बताए।

लामो समय धाउँदा पनि सेवा नपाएको गुनासो

त्यस्तै, अर्का स्थानीय कनकासुन्दरी गाउँपालिका–४ का लालबहादुर बुढा मालपोत कार्यालयमा जग्गाको लालपुर्जा बनाउन आएको बताए। उनले जग्गाको लालपुर्जा बनाउनका लागि लामो समयदेखि कार्यालय धाउँदा पनि सेवा नपाएको गुनासो गरे।

त्यस्तै, गुठीचौर गाउँपालिका–४ खल्लावाडाका धनकृष्ण कुमाईको पनि गुनासो मिल्दोजुल्दो छ। उनी भन्छन्, 'कार्तिक १९ देखि मालपोत कार्यालय धाउँदै आएका छु्। दाजुभाइको जग्गा भागबण्डा गरी लालपुर्जा अर्थात् मोड कायम गर्न आएको हुँ।'

फाँटवालासँगको मिलोमतोमा चिनजान भएका मान्छेका काम छिट्टै हुन्छन् तर हामी जस्ता सोझा साँझा लाइनमा बस्ने व्यक्तिको काम नहुने गरेको उनको गुनासो छ।

दैनिक ५०-६० जना सेवाग्राहीको भिड

जुम्लाको मालपोत कार्यालयमा दैनिक ५०-६० जना सेवाग्राहीको भिड लाग्ने गरेको छ। तर, दिनमा मुस्किलले १० जनाले मात्र सेवा पाउने गरेका छन्। सरकारले २०७६ कार्तिक १७ गतेमा मालपोत कार्यालय जुम्लालाई अनलाइन सेवामा ल्याएपछि यस्तो समस्या हुने गरेको छ।

निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यका अनुसार यसअघि मालपोतको काम सबै लिखित रुपमा ढड्डाबाटै हुने गरेको थियो। नेपाल सरकार मालपोत विभागको लक्ष्यअनुसार अनलाइन प्रणालीबाट गएको वर्षबाट काम गर्न थालेपछि सेवा दिन ढिलासुस्ती हुने गरेको छ।

उनले भने, 'अहिले अनलाइन र ढड्डाबाट दुवै तरिकाबाट काम गर्नु पर्ने हुन्छ। अनलाइनबाट छिटोछरिता गर्नका लागि पहिला सेवाग्राहीका कागजात सवै कम्प्यूटर तथा सप्टवरमा इन्ट्री गर्नुपर्छ' उनले थपे, 'साथै ढड्डामा पनि राख्नु पर्ने भएकाले यस्तो समस्या भएको हो। तर सप्टवरमा इन्ट्री भएका सेवाग्राहीले छिटै सेवा पाउने गरेका छन्। अर्को कुरा यहाँको इन्टरनेट पनि द्रुतगतिको छैन।'

दक्ष जनशिक्तको अभाव

विभागले मालपोतका सबै कामकाज अनलाइन प्रणालीबाट सुचारु गरे पनि दक्ष जनशिक्तको अभाव छ। (कम्प्युटर अपरेटर) अभाव भएकोले पनि यस्तो समस्या भएको निमित्त कार्यालय प्रमुख महेन्द्र आचार्यले बताए।

'दैनिक जग्गा कारोबार गर्नेको कार्यालयमा भिड लाग्छ। कार्यसम्पादन गर्ने कम्प्युटर अपरेटर करारमा एक जना मात्रै छन्, निमित्त कार्यालय प्रमुख आचार्यले भने, 'यस विषयमा सम्बन्धित विभागमा जानकारी गराएका छौँ। दुई जना कम्प्युटर अपरेटर थप भई आएपछि सेवाग्राहीको काम छिटोछरितो हुने अवस्था देखिन्छ।'

मंगलबार कार्यालयको बैठक बसेको छ। बुधबारदेखि कार्यालयमा पहिलो आउने सेवाग्राहीलाई पहिलो सेवा र टोकन प्रणालीबाट सेवा दिने तयारी गरेका छौँ। उनले एकदिनमा कति जानलाई सेवा दिन सकिन्छ। त्यसको सूची पनि प्रकाशन गरेर सेवाग्राहीलाई सेवा लिन सहज हुने काम गछौँ।साधन हुने हरूका लागि सजिलै छ तर साधन नहुने वृद्ध वृद्धाहरूका लागि हिंडेर त्यहा पुग्नै मुश्किल छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.