|

विराटनगर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले सुरु गरेको मेची महाकाली अभियान कसैका विरुद्धमा नभएको बताएका छन्। विराटनगरको विराटचोकमा आयोजित कार्यक्रममा उनले एमालेको अभियान शान्ति, सामाजिक सद्भाव र राष्ट्रियताको पक्षमा भएको बताए। हामी शान्तिको पक्षमा छौं, कसैको विरुद्धमा हिंसा भड्काउँदैनौं। सामाजिक सद्भाव राष्ट्रिय एकताको पक्षमा छौं। हामी निर्वाचनको पक्षमा छौं। राष्ट्रियतालाई मजवुत बनाउने पक्षमा छौं' , उनले भने 'तर यस्तो कुरा सुन्दा कसैलाई टाउको दुख्छ।'

मधेस केन्द्रित दलतर्फ लक्षित गर्दै अध्यक्ष ओलीले एमालेको अभियान देखेर कसैलाई डर लागेको बताए। 'कतिपयको सातोपुत्लो गएको छ। कोही पस्न दिदैनौं। बोल्न दिँदैनौं भन्छन्' उनले भने 'एमालेले बोल्यो भने सबै भ्रम छर्लंग हुन्छ भनेर बोल्न दिन्नौं भन्छन्, तर एमाले पुगेर छोड्छ, बोलेर छोड्छ देश बनाएर छोड्छ।' अध्यक्ष ओलीले एमाले कुरा नभई काम गर्ने पार्टी भएकाले सरकारमा धेरै समय टिक्न नसकेको बताए। 'एमाले बातबहादुर होइन, कुरा गरेर बस्ने पार्टी होइन। कामबहादुर हो, काम गरेर देखाउँछ। सरकारमा गएर काम के गएको थियो देशी विदेशी सबै थर्कमान भए।'

अध्यक्ष ओलीले एमाले जनताको मनमा बलियो गरी बसेकाले कसैले रोक्न नसक्ने दावी गरे। 'एमालेलाई रोक्न खोजेर के हुन्छ? एमालेले सरकार छोड्यो तर जनताको मनमा एमाले झन् बलियो गरी बसेको छ। जनताले चुनाव पर्खिएका छन्। हामीले चुनाव पर्खिएका होइनौं।'

आफूहरुले चुनावको प्रचार गर्न नभई राष्ट्रिय जागरण अभियान चलाएको ओलीले दावी गरे। उनले भने 'एमाले नेपाली जनताको पार्टी हो। हिमाल पहाड र तराईमा बस्ने जनता, मधेसी मुस्लिम आदिवासी जनजातिको पार्टी हो। आफ्नो स्वार्थका लागि देशको स्वार्थ तिलान्जली दिने पार्टी होइन। देशका लागि तिलान्जली दिने पार्टी हो।'

एमालेका उपाध्यक्ष भीम रावलले दुईवटा राष्ट्रियताको कुरा गरेर नेपालीबीचमा फुट ल्याउने षड्यन्त्रलाई एमालेले पुरा हुन नदिने बताए। उनले देशको पहिचान मेटेर जातिको पहिचान नभेटिने भन्दै स्वाधिनता र सार्वभौमिकताको विषयमा चुँसम्म नबोल्ने नेताहरूले जातिहरुको आत्मनिर्णयको अधिकार मागेर देशलाई अझै कमजोर बनाउन खोजेको आरोपसमेत लगाए।

एमालेका नेता तथा पूर्व सभामुख सुवास नेम्वाङले एमालेमाथि आक्रमण सुरु भएको बेला अभियान सुरु भएको बताए। ‘अभियानबाट एमाले अगाडि आएको छ  अब सूर्य चिन्हलाई कसैले रोक्न सक्दैन,’ नेम्वाङले भने, ‘मेची महाकाली अभियानमा जनताको जनलहर आएको छ, एमालेलाई अब कसैले रोक्न सक्दैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.