|

  • नमिन ढकाल-

इलाम : रोजगारीका लागि साउदी अरब पुगेका इलामका एक युवक ११ महिनादेखि हिरासतमा कष्टप्रद जीवन बिताउन बाध्य छन्। उनले आफूलाई हिरासतबाट छुटाएर घर फर्काइदिन परिवार मार्फत सरकारसँग आग्रह गरेका छन्।

दानाबारी–३ शुक्रबारे बजारका २९ वर्षीय प्रेमबहादुर राई (राजु) कम्पनीको सामान गाडीबाटै चोरी भएपछि साउदी अरबको रियादमा पक्राउ परेका दाजु चक्रबहादुर कुलुङले जानकारी दिए। पाँच वर्षअघि क्राउन इन्प्लोइमेन्ट प्रालि काठमाडौंबाट रियादको अल सहलावी होल्डिङ कम्पनीमा गाडी (लहरी) चालकको रुपमा उनी साउदी अरब गएका थिए।

दुई वर्षअघि घर आएका उनी २०१६ को १ तारेखमा साउदी फर्किएका थिए। २०१६ अप्रिल ३ मा लहरीले बोकेको केबलतार चोरी भएपछि प्रेमबहादुर पक्राउ परेका थिए। यही आरोपमा उनलाई अदालतले २ महिना कैद र ५० कोर्राको सजाय तोकेको थियो। 

सजाय भोगेर नेपाल आउने तयारी भइरहेको बेला कम्पनीले पासपोर्ट नदिई पुनः मुद्दा हालेपछि प्रहरीले हिरासतमा राखेर ३ लाख १० हजार रियाल (९५ लाख रुपैयाँ नेपाली) जरिवाना तोकेको दाजु चक्रबहादुरले बताए। जरिवाना तिर्न नसक्ने भएपछि प्रेमबहादुर ११ महिनायता हिरासतमै छन्।

‘जेलमा हालेको भए समयमा खाना र सुत्न पाउँथ्यो तर हिरासतमा राखेका कारण खाने पिउन पनि समयमा नदिने गरेकाले स्वास्थ्यमा समेत गम्भीर असर परेको छ। अब भाइको घर फर्काउने इच्छा त सपना मात्रै होलाजस्तो भएको छ,’ चक्रबहादुरले भने।

'हिरासतमा तिर्खा लागेका बेला पानीसमेत पिउन दिइएको छैन,’ प्रेमबहादुरले फोनमा पोखेको दुःख सुनाउँदै चक्रबहादुरले भने, ‘कम्पनीले गलत आरोप लगाएर हिरासतमा राखेको छ।’

लहरीमा सामान लिएर जाँदै गर्दा कम्पनीबाट १० किलोमिटर टाढा पुगेपछि गाडी पार्किङमा राखेर प्रेमबहादुर साथी भेट्न गएका थिए। त्यहीबेला लहरीसहित तार चोरी भएको थियो। चोरी भएको थाहा हुनेवित्तिकै कम्पनीलाई सम्पर्क गरी प्रहरीलाई जानकारी दिएको २ दिनपछि १० किमी टाढा रोमा भन्ने ठाउँमा सीसा तोडफोड भएको अवस्थामा गाडी भेटिएपनि तार भेटिएन। भाइलाई र नेपाली दूतावासलाई कुवेतबाट फोन सम्पर्क गर्दागर्दै महिनाको आधा तलब सकिएको दाजु चक्रबहादुरले गुनासो गरे।

नेपाली दूतावासले पहल नगरेको आरोप

प्रेमबहादुरको रिहाइका लागि पहल गरिदिन साउदीस्थित नेपाली दूतावासमा बारम्बार सम्पर्क गरेपनि, अहिलेसम्म उनको कागजात लैजानेबाहेक केही सहयोग हुन नसकेको पीडित परिवारको गुनासो छ। ‘दूतावासका इन्चार्ज आनन्दराज शर्मा र कानुन व्यवसायी विजयकुमार राउतलाई बारम्बार आग्रह गर्दा उनीहरूले एकअर्कालाई सम्पर्क गर्नु भन्ने गरेका छन्, यत्रो महिना भइसक्यो अहिलेसम्म पहल नहुँदा भाइ हिरासतमै बस्न बाध्य छ,’ चक्रबहादुरले भने, 'सरकारले कुनै पहल गरिदियोस, प्रचण्ड नेतृत्वको सरकारले त धेरै जेल र हिरासतमा परेकालाई स्वदेश फर्कायो रे मेरो भाइलाई पनि फर्काइदियोस्।'

दूतावासका कर्मचारी र मेनपावर अहिलेसम्म कम्पनीसँग सम्पर्कमा समेत गएका छैनन्। आर्थिक अवस्था दयनीय रहेका राईको घरमा सुत्केरी पत्नी, ७ बर्षीया छोरी र २ महिनाको छोरा साथै वृद्ध आमा–बाबु छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.