३० हजार मजदुर बेरोजगार

|

विराटनगर : चालीसको दशक (०४१–४९) सम्म सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा उद्योगहरू गुल्जार थिए। सञ्चालनमा रहेका उद्योगहरूमा रोजगारीको अवसर प्रशस्त थियो।

उद्योगबाट उत्पादित वस्तुमध्ये ५० प्रतिशतभन्दा बढी निर्यात हुन्थ्यो। तर, ५० को दशक शुरू भएसँगै उद्योगहरू बन्द हुने क्रम शुरू भयो। खासगरी सशस्त्र माओवादी द्वन्द्व र बीचमा भएका लोडसेडिङका कारण धेरै उद्योगहरू बन्द हुन पुगेको उद्योगीहरू बताउँछन्।

प्रजातन्त्रको उदयसँगै तीन दशकको अवधिमा यो क्षेत्रका नयाँ लगानीका उद्योगहरू खुल्ने भन्दापनि बन्द हुने क्रम बढेको छ।

पूर्वी नेपालमै ठुलो क्षेत्रफलमा फैलिएको सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा मुलुकमा प्रजातन्त्रको उदयसँगै तीन दशकको अवधिमा सञ्चालन भएका १ सय ७ वटा ठूला उद्योगहरू बन्द भएका छन्। वि.सं. २०४६ सालसम्म यस औद्योगिक करिडोर क्षेत्रमा निर्यातमुखी ठूला उद्योगको संख्या १ सय ५० वटा रहेकोमा अहिले जम्मा ४३ वटा मात्रै रहेका छन्।

३० वर्षको अवधिमा करिडोरमा निर्यातमूखी ठूलासहित १ सय ७ वटा उद्योग बन्द भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए।वैदेशिक लगानी भएका एउटै उद्योगमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको थियो।

उद्योग विभागको तथ्याङ्कअनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर लगायत आसपासका क्षेत्रमा अहिले साना ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन्। जसमध्ये ठूला र मझौला गरी १५० र बाँकी साना उद्योग मात्र सञ्चालनमा छन्। करिडोर क्षेत्रमा सञ्चालनमा रहेको उद्योगहरूमध्ये १९ प्रतिशतले मात्र अहिले उत्पादित मालबस्तु विदेशसम्म निर्यात गर्ने गरेका छन्‌।

उद्योग संगठन मोरङका अध्यक्षका अनुसार मुख्यतः ४० बढी निर्यातमुखी उद्योगहरू र अन्य जुट उद्योग,गार्मेन्ट, कपुर, वनस्पति घ्यु, मैनबत्ती उत्पादन गर्ने ठूला क्षमताका उद्योगसमेत अब बन्द हुने भएका छन्। यसअघि बन्द भएका उद्योगहरूमा मात्रै कम्तिमा २३ अर्ब रुपैयाँ लगानी भएको थियो। 

अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जनभन्दा बढी टेक्सटायल उद्योगहरू बन्द भइसकेका छन्‌। मोरङ–सुनसरीमा मात्र ११ वटा ठूला जुट उद्योगहरू सञ्चालनमा थिए। तर अहिले पाँच वटा मात्र सञ्चालनमा छन्। अरु बन्द भइसकेको उद्योगी राजकुमार गोल्छाले बताए।

त्यसैगरी हेटौंडा र स्वदेशी आइरनजस्ता फलाम उद्योग, कर्कट पाता र पाइप उद्योगहरू पनि बन्द भइसकेका छन्‌। करोडौंको लगानी गरी दुहवीमा स्थापना भएको वंशल इण्डष्ट्रिज नामको पाइप उद्योग सञ्चालन नै हुन नसकेर बन्द भएको छ।

अम्बे, साङ्ग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिकजस्ता तयारी पोशाकका ठूला उद्योग र दर्जनौं साना उद्योगहरू यस बीचमा बन्द भएका हुन्‌।

विदेशी लगानीका बंशल नेपाल,क्रिस्टेन,सूर्य नेपाल लगायत करिब एक दर्जन उद्योग बन्द भएका छन्‌। त्यस्तै एउटै उद्योगमा १ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिएको थियो।

बंशल,क्रिस्टेनले कर्कट पाता र जिआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा निर्यात गर्ने गरेको थियो। सूर्य नेपालले पनि विभिन्न मुलुकमा निर्यात गर्ने गरेको थियो। 

उद्योगी-व्यवसायीका अनुसार राजनीतिक अस्थिरतासँगै त्यसैको प्रभावस्वरुप बन्द–हड्ताल, श्रमिक आन्दोलन, विद्युत् अभाव, यातायात अवरोधसँगै सरकारी नीतिका कारण यी उद्योगहरू सदाका लागि बन्द हुन पुगेका हुन्। ठूला स्वदेशी लगानीका पशुपति सावुन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योगहरू पनि यही अवधिमा बन्द भएका छन्‌।

​३० वर्षयता यो करिडोरमा भएका ठूलो उद्योग त बन्द भए नै, नयाँ ठूला उद्योग समेत सञ्चालनमा आउन सकेका छैनन्। ठूला उद्योग सञ्चालन गर्न खर्च पनि ठूलो हुने र लगानी सुरक्षा समेत नहुने हुँदा नयाँ उद्योग सञ्चालनमा नआएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए।

‘वर्तमान अवस्थामा सरकारको आर्थिक नीति उद्योगलाई दोहन गर्नतर्फ मात्र केन्द्रित देखिन्छ,’ अध्यक्ष घिमिरेले भने, ‘उद्योगको संरक्षण नहुने, संघीयताको नाममा विभिन्न खालको करको चपेटामा पार्नेजस्ता काम भएका छन्‌‌, यस्तो अवस्थामा नयाँ लगानीमा उद्योग खोल्ने कुरा त कल्पनापनि गर्न सकिन्न, जेनतेन सञ्चालनमा रहेका उद्योगहरू पनि समस्याग्रस्त छन्‌।’ पछिलो समय कोरोनाको महामारी शुरू भएपछि खुलेका उद्योग जोगाउन पनि गाह्रो भएको उद्योगीहरूको भनाई छ।

जग्गाको मूल्य बढ्दा झन्‌ मारमा

व्यवसायीहरूले जग्गाको मूल्य बढेकाले पनि नयाँ उद्योग सञ्चालन गर्न नसकेको बताउने गरेका छन्।

उद्योगमा लगानी गर्ने रकम जग्गामा लगानी गर्नुपर्ने भएकोले समस्या भएको उनीहरूको भनाइ छ। उद्योगी व्यवसायीका अनुसार नयाँ उद्योग खोल्नुभन्दा पनि भएका उद्योगहरूको क्षमता विस्तारमा उद्योगी व्यवसायी लागेका छन्‌।

​नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतले नयाँ उद्योग स्थापनाका लागि बाहिर क्षेत्रबाट लगानीकर्ता आउने वातावरण नहुँदा ठूला उद्योग स्थापनामा कठिनाई भएको बताए। ‘मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा जग्गा अभाव र अत्यधिक मूल्य वृद्धिका कारण लगानीकर्ताले उद्योग स्थापना गर्न सकेका छैनन्,’ उनले भने।

उद्योगी व्यवसायीका अनुसार पछिल्लो समय प्रदेश नं १ को राजधानी विराटनगर भएसँगै कोशी राजमार्गको करिडोर क्षेत्र विराटनगरको प्रवेशद्वार उत्तर इटहरीसम्मको क्षेत्रमा जग्गाको मूल्य अत्यधिक बढेको छ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर–इटहरी सडकखण्ड छेउछाउमा जग्गा खाली नभएको बताए। भएको जग्गा पनि अत्यन्तै महंगिएको उनको भनाइ छ।

‘अधिकांश उद्योग यही क्षेत्रमा सञ्चालनमा छन्, कोसी राजमार्ग छेउछाउ प्रति कठ्ठा जग्गाको मूल्य कम्तिमा ३०/४० लाख रुपैयाँसम्म पर्छ,’ उनले भने, ‘एउटा उद्योग स्थापनाका लागि चार/पाँच बिगाहा जग्गा आवश्यक पर्छ। जग्गा खरीदमै न्युन्त्तम १०/११ करोड खर्चिनुपर्ने अवस्था रहेको छ।’

आफूहरूसँग भएको र बैङ्कबाट लिएको ऋण जग्गा खरिदमै खर्च हुने स्थिति रहेको भन्दै उनले उद्योग क्षेत्रबाट लगानी बाहिरिने सम्भावना भएको बताए।

रोजगारी गुम्दै 

उद्योग विभागका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा अहिले पाँच अर्ब रुपैयाँ लगानी भएको छ। तर, पछिल्ला तीन दर्शकको अवधिमा ठूला लगानीका सहित १ सय बढी उद्योग बन्द भएपछि ती उद्योगमा कार्यरत ३० हजार मजदुरले रोजगारी गुमाएका छन्‌।

​उद्योग संगठन मोरङका अनुसार सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा सञ्चालन भएका उद्योगमा अहिले ५० हजार मजदुरले रोजगारी पाएका छन्‌। दुई वर्ष अघि सो औद्योगिक क्षेत्रमा ८० हजार मजदुर कार्यरत रहेका थिए। उद्योगहरू बन्द भएयता यो औद्योगिक करिडोरबाट ३० हजार मजदुरले रोजगारी गुमाएका छन्‌।

हाल मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगले जुट, चाउचाउ, बिस्कुट, तेल, मैदा, रिफाइनरी तेल, छाला, जुत्ता, चप्पल, धागो, साबुन, वायर, रड, स्टील, कर्कट पाता, प्लाष्टिकका सामान, सिमेन्ट, दाना, बिजुलीको तार, जीआइ पाइप, चामललगायत वस्तु उत्पादन गर्दै आएका छन्। उक्त क्षेत्रका उद्योगमा ५० हजार भन्दा बढीले रोजगारी पाएका छन्।

औद्योगिक क्षेत्र बनाउन माग

सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले दुई दशकदेखि औद्योगिक क्षेत्रको स्थापना गर्न माग राख्दै आएाक छन्‌। तर, सरकारले अहिलेसम्म सुनुवाइ गरेको छैन। 

स्वदेशी तथा विदेशी लगानीका उद्योग स्थापनाको वातावरण निर्माणका लागि उद्योगी व्यवसायीले सरकारसँग औद्योगिक क्षेत्र स्थापनाको लागि लामो समयदेखि माग राख्दै आएका हुन्‌‌।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्डराले विगत लामो समयदेखि यहाँका उद्योगीले विशेष आर्थिक क्षेत्र (सेज) र औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएको बताए। सरकारले विशेष आर्थिक क्षेत्र स्थापना गरे जग्गा खरिद गर्ने पूँजी उद्योगमा लगानी हुने मुन्दडाको भनाइ छ। 

उद्योगी व्यवसायीले सरकारको स्वामित्वमा रहेको सुनसरीको अमरडुवामा रहेको ६ सय ५० विघामा औद्योगिक क्षेत्र घोषणा गर्न माग राख्दै आएका छन्‌।

​‘पूर्वका उद्योगी व्यवसायीले दुई दर्शकदेखि औद्योगिक क्षेत्रको स्थापनाका लागि सरकारसँग एउटै माग राखेका छन,’ अध्यक्ष मुन्दाडाले भने, ‘तर सरकारले उद्योगी व्यवसायीको मागलाई सम्बोधन गर्न सकेको छैन, सरकारले अमरडुवाको जग्गामा औद्योगिक क्षेत्र घोषण गरी पानी, बिजुली र सुरक्षा दिन्छ भने उद्योगी उद्योग खोल्न लागि तयार छन्।’

उद्योगी व्यवसायीका अनुसार सेज स्थापना भएमा मुलुकको व्यापार घाटा कम गर्न योगदान पुग्नेछ।

महामारीले थलियो करिडोर

सुनसरी–मोरङ औद्योगिक करिडोरका १५ हजार मजदुरको रोजगारी गुमेको छ।

कोरोना महामारीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत १५ हजार मजदुर बेरोजगार भएका हुन्। आठ महिनाको अवधिमा उद्योग पूर्ण क्षमतामा नआउँदा ठूलो संख्यामा मजदुरहरूले रोजगारी गुमाएका हुन्‌।

कोरोना महामारी फैलनुअघी करिडोरमा ५० हजार मजदुर कार्यरत थिए। अहिले तीमध्ये ३० प्रतिशत अर्थात १० हजार बेरोजगार भएका छन्‌। १४ हजारले आंशिक रोजगारी पाएका छन्। करिडोरमा २१ हजार मजदुरले भने पूर्णकालिन रोजगारी पाइरहेका छन्।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार ठूला उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेका छन्। ती उद्योगको सञ्‍चालन अवधि तीन सिफ्टबाट दुुई सिफ्टमा झारिएको छ‌। साना तथा मझौला उद्योगमा उत्पादन घटेपछि त्यसमा काम गरिरहेका ३० प्रतिशत अदक्ष कामदारहरू पूर्ण बेरोजगार बनेका हुन्।

सुनसरी–मोरङ औद्योगिक करिडोर भित्रका सबैभन्दा बढी मजदुर कार्यरत अरिहन्त मिल्टफाइवर्स र रघुपति जुट मिलका सञ्चालक राजकुमार गोल्छाले तीन सिफ्ट चलिरहेका दुुवै उद्योगको एक सिफ्ट बन्द गरिएको बताए।

एक सिफ्ट बन्द हुँदा ३० प्रतिशत मजदुर काम विहीन बनेका छन्। केहीलाई १५ दिन काम र १५ दिन आराम दिएर उद्योगले काम लगाइरहेको छ।

अरिहन्त मल्टिफाइवर्समा ४ हजार ५ सय मजदुर र रघुपति जुटमिलमा २ हजार ५ सय मजदुर कार्यरत छन्। तर कोभिड १९ को महामारीका कारण ३० प्रतिशत अर्थात दुई हजार एक सयले रोजगारी गुमाइसकेका छन्। जसमा भारतीय मजदुर पनि छन्। ​करिडोरका उद्योगमा १० हजार भारतीय मजदुर कार्यरत थिए।
इटहरीको खनारमा रहेको रिलायन्स स्पेनिङ मिल्समा चार हजार मजदुर कार्यरत छन्।​

रिलायन्सका प्रशासन प्रमुख महेश पोखरेलका अनुसार उद्योगले ३० प्रतिशत उत्पादन कटौती गरेको छ। उनका अनुसार स्थायी मजदुरलाई उद्योगले कामको दिन घटाएर आलोपालो काम दिइरहेको छ।

करिडोरमा रहेका जुट, धागो, चाउचाउ, तेल, चामल, दुध, साबुन, कुकिज, दाना उत्पादन गर्ने उद्योग हाल सञ्चालनमा रहेका छन्। सञ्चालित उद्योगहरूले ६० देखि ७० प्रतिशत मात्र उत्पादन गरिरहेका छन्। पछिल्लो समय कोरोना महामारीका बीचमा स्वास्थ्य सामग्री उत्पादन गर्ने केही उद्योग भने थपिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.