|

  • भुपाल थापा-

कपिलवस्तु : देशभरका ३० वटा जिल्लामा लागू हुने 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' को शुभारम्भ कपिलवस्तुबाट हुने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो फागुन २४ गते सदरमुकाम तौलिहवामा उद्घाटन गर्ने कार्यक्रममा कपिलवस्तुका अति विपन्न र लोपोन्मुख ३५ जना महिलाले सीप र क्षमता विकास सहित उद्यम सुरु गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तु, प्यूठान, रोल्पा, रुकुम लगायतका जिल्ला सहित रौतहट, पर्सा, सिरहा, महोत्तरी, दोलखा, रामेछाप लगायतका ३० जिल्लामा लागु हुने आइतबार तौलिहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। मानव विकास सूचांकमा पछि परेका जिल्लाका अति विपन्न दलित, पिछडा, जनजाति, खसआर्य, तथा मुस्लिम समुदायका महिला लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको मूल आयोजक समारोह समितिका संयोजक तथा सांसद अतहर कमालले बताए। 

उद्यमशीलताको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजिक रुपान्तरण गरी दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसाको रोकथाम तथा सोबाट पीडित तथा प्रभावितहरुका लागि संरक्षणात्मक सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम लागू गरिएको हो। कार्यक्रमले गैरसरकारी संस्थाको साझेदारीमा संकटापन्न अवस्थामा रहेका महिला, वालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरुका लागि अल्पकालिन सेवा केन्द्र स्थापनाका लागि सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए।

कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन जिल्ला समन्वय समिति गठन समेत भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.