|

काठमाडौं : आज सामाजिक सुरक्षा दिवस। सरकारले २०७५ मंसिर ११ गतेदेखि प्रत्येक वर्षको मंसिर ११ गतेलाई सामाजिक सुरक्षा दिवसको रूपमा मनाउन सुरु गरेको थियो। यो दिवसको उद्देश्य थियो, श्रमिक र तीनका आश्रित परिवारको लागि सामाजिक सुरक्षा दिने।

यसमा सहभागिता, योगदान र समाजिक सुरक्षाको मर्मबमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धा अवस्थाको सुरक्षा समेटिएका थिए।

यो दिवसले श्रमिक, रोजगारदाता र सरकारी प्रतिनिधिले अपनत्व अनुभव गर्ने सरकारको दाबी थियो। तर, अहिले पनि कुनै श्रमिकहरूले ती सेवा पाएको अनुभूति गर्न सकेका छैनन्। 

बुद्धनगरमा घर बनाइरहेका श्रमिक मिलन दाहाल भन्छन्,‘सरकारले सामाजिक सुरक्षा दिवस मनाएकोे भन्ने सुन्न चाँहि सुनेको थिएँ। खै हामीलाई त केही सेवा सुविधा पाएका छैन।’ इलाम घर भएका दाहालले सरकारले श्रमिक,रोजगारदाता लगायतका लागि विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयन गर्न नसकेको बताउँछन्। कतिपयलाई सरकारले ल्याएको कार्यक्रमबारे समेत थाहा छैन।

त्यहीँ भेटिएका अर्का श्रमिक काभ्रेकाअवि तामाङलाई सामाजिक सुरक्षा दिवसबारे केही जानकारी छैन।  ‘घर बनाउने काम गरेको एक वर्ष भइसकेको छ,’उनले भने,‘यस्ता कार्यक्रमबारे केही जानकारी पनि छैन। स्वास्थ्य एवं मातृत्व सुरक्षा पनि पाएका छैनौँ।’

‘सरकारले न सुरक्षा दियो, न काम गर्ने वातावरण नै दियो’

तेजनारायण चौधरी २०४५ सालबाट घर बनाउने काम थालेका हुन्। सप्तरी राजविराजका ४३ वर्षीय चौधरीले हरेक हण्डर खाएर उपत्यकामा धेरै ठूला महल बनाइदिएका छन्। अहिले पनि बुद्धनगरमा घर बनाउने काममा व्‍यस्त छन्। तर,सरकारबाट कुनै सेवा सुविधा लिएको रेकर्ड उनमा छैन।

उनी भन्छन्,‘अग्ला–अग्ला घर बनाउँदा ज्यान जोखिम छ। झुण्डिएर काम गर्नुपर्छ। हामी ज्यालादारीमा काम गर्नेहरूले सेफ्टीका लागि केही सामान किन्नै सक्दैनौँ।’ श्रमिकहरूका लागि यस्तै कार्यक्रम सरकारले धेरै ल्याएको जानकारी छ उनमा छ।

तर, कमिसन, घुसखोरीले वास्तविक पीडितले सेवासुविधा नपाएको उनको बुझाइ छ। चौधरीको टिममा ६ जना छन्। सबै भक्तपुर बस्छन्। काम गर्नका लागि बुद्धनगर आउनुपर्छ। तर, त्यहाँसम्म आउन पनि उनीहरूको लागि सकस छ।

‘बन्द भएको बेला काम गर्न पाउँदैनौँ,’रडमा तार बान्दै थाहाखबरसँग उनी गुनासो पोख्छन्, ‘लकडाउनले गर्दा ७ महिना त्यसै बस्‍नु पर्‍यो। पास भएर पनि हिँड्न पाएनौँ। त्यसैमा दुःख लाग्छ। सरकारी  सुविधा त परै जाओस् काम गर्न पाउने वातावरण पनि पाइँदैन,भाेकाे पेटमा लात हानिन्छ यहाँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.