|

काठमाडौं : चितवन, धनुषा, मकवानपुर, सर्लाही, काभ्रे र झापाका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

चितवन, ईच्छाकामना गाउँपालिका-४ स्थित सडकमा प्युठानबाट बिरामी लिएर काठमाडौंतर्फ जाँदै गरेको लु.१ च ९७३१ नम्बरको पिकअप भ्यान सडकबाट अन्दाजी ६० मिटर तल त्रिशुली नदीमा बिहीबार बिहान खसेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा भ्यानका चालक प्युठान झिम्रुक गाउँपालिका-१ बस्ने २३ वर्षीय सूर्य केसी र भ्यानमा सवार सोही ठाउँ बस्ने ३३ वर्षीया जमुना रोक्का रहेका छन्।

साथै दुर्घटनामा बेपत्ता भएकी जमुना रोक्काकी बिरामी छोरी १५ वर्षीया जिनिसा रोक्काको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनामा घाइते भएका भ्यानमा सवार प्युठान झिम्रुक गाउँपालिका बस्ने ३८ वर्षीय मुकुन्द बहादुर रोक्कालाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरतर्फ पठाइएको छ। उक्त गाडी हुक लगाएर पानीबाट निकाल्ने प्रयास भइरहेको छ।

त्यसैगरी धनुषा, शहिदनगर नगरपालिका-६ हठिपुर गाउँस्थित सडकमा ज.१ त ९३१२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ३५ वर्षीय रोशन दासको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ सान्नानटारस्थित सडकमा बा.९६ प ५३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री मनहरी गाउँपालिका-३ हाडिखोला बस्ने ३५ वर्षीय कान्छा विकको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, सर्लाही, ईश्वरपुर नगरपालिका-५ डाका चोकमा ज.१ त ३४९० नम्बरको ट्याक्टरको टायर पंचड भई सडकछेउमा रोकी राखेको बा.८९ प ८८३८ नम्बरको मोटरसाइकलमा ठोकिदा मोटरसाइकल चालक महोत्तरी माईस्थान-३ बस्ने ३८ वर्षीय शुक्र बहादुर मोक्तानको बुधबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि मोडल अस्पताल लालबन्दीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, काभ्रे, नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटस्थित सडकमा हाल नम्बर नखुलेको ट्रकले बुधबार राति बा.६० प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रोशी गाउँपालिका-४ बस्ने ३५ वर्षीय कृष्ण विकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार रहेका दुबै सवारी साधनका चालकहरुको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै, झापा, कन्काई नगरपालिका-८ शितल चोकमा ग.१ ख ४५६३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षीय राजकुमार राईको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको बी एण्ड सी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। हाल फरार ट्रक र चालकको प्रहरीले खोजी गरिरहेको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.