|

काठमाडौं : सुनसरीको कोसी राजमार्गअन्तर्गत धरान- विराटनगर सडकखण्डको ७ किमि सडक खण्डमा रहेका खाडल स्थानीयले पुरेका छन्। 

मर्मत गर्न सम्बन्धित निकायले बेवास्ता गरेपछि इटहरी उपमहानगरपालिका -२० का स्थानीयले जिम्मा लिएका थिए। यस सडक खण्डलाई आर्थिक दृष्टिकोणले निकै महत्त्वपूर्ण मानिन्छ। दक्षिणको जोगबनी नाकादेखि उत्तरी संखुवासभा किमाथांकासम्म जोड्ने लक्ष्यसहित चार लेनको सडक निर्माणको काम भइरहेको छ।

तरहरादेखि सेउती पुलसम्म सडकका खाल्डाहरु स्थानीयले मर्मत गरेका हुन्। चारकोसे जंगलको यो खण्डमा बर्सेनि दर्जनाैं दुर्घटना हुने गरेका छन्। 

सडकको मध्य भागमा भएको खाल्डोमा दैनिक सवारीसाधन दुर्घटना भइरहेका अरब ड्राइभिङ सेन्टरका सञ्चालक भेषराज वन बताउँछन्।

उनका अनुसार सात दिनसम्म सडकको सफाइ चल्ने छ। स्थानीयले आफ्नो खर्चमा सडक मर्मत गरेका हुन्। उनीहरुले सिमेन्ट, बालुवा र गिट्टी खरिदमा खर्च गरेका छन्। 

'मोटरसाइकल तीव्र गतिमा गुडाउने भएकोले अगाडि खाडल देखिँदैन,' वनले भने, 'विराटनगर सडक डिभिजन कार्यालयलाई बारम्बार आग्रह गर्दा पनि बेवास्ता भएपछि हामी आफैं जागरुक भएका हाैं'

जंगल क्षेत्र भएकाले घरपालुवा जनावर चरणका लागि स्थानीयले त्यस क्षेत्रमा लैजाने गरेका छन्। पशुचाैपाय सडकको मध्यभागमा बस्दा दुर्घटना हुने गरेको उनले बताए। आफूहरुको अभियान सडक दुर्घटना कम गराउने रहेको पनि उनले बताए। 

कोसी राजमार्गको हरियाली क्षेत्र रहेकाले सडक दायाँबायाँ रहेका प्लाष्टिकजन्य पदार्थसमेत सफाइ गरिरहेको अभियानी ध्रुव भण्डारीले बताए। राजमार्ग यात्रा गर्न मात्र नभई आफ्नो जिम्मेवार प्रदर्शन गर्ने ठाउँसमेत रहेको उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.