|

काठमाडौं : निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालयलाई स्ववियु निर्वाचन नगराउन निर्देशन गरेको छ। आइतबार शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीलाई पत्र लेखेर स्थानीय निर्वाचनको आचारसंहिता लागू भएकोले विश्वविद्यालय अन्तर्गत हुने निर्वाचन नगर्न निर्देशन दिएको हो। 

पत्रमा लेखिएको छ, ‘निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ कार्यान्वयनका सम्बन्धमा आयोगबाट मिति २०७३/११/२२ मा "विश्व विद्यालय, विद्यालय व्यवस्थापन समिति र नेपाल सरकारको स्वामित्वमा रहेको पेशागत संघ संगठनहरुको पूर्वनिर्धारित कार्यतालिका बाहेकका निर्वाचन नगर्न, नगराउन नेपाल सरकारलाई निर्देशन दिने नीतिगत निर्णय भएको हुँदा सोही व्यहोरा जानकारीका लाणि निर्णयानुसार अनुरोध छ।’

आरआरको स्ववियु निर्वाचन अन्योलमा

सोमबार मतदान हुन लागेको प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्ववियु चुनाव अन्योलमा परेको छ। आरआरमा स्ववियु कार्यतालिका अगाडि बढाए पनि मुख्य विद्यार्थी संगठनले नै उम्मेदवार मनोनयन दर्ता नगरेकोले निर्वाचन अन्योलमा परेको छ।

आरआर क्याम्पसको स्ववियु निर्वाचन समितिका सदस्य विनोद मञ्जनले भोलि मतदान हुने बताए। 'निर्वाचन कार्यतालिका पूर्णतः लागु भएको छ। शिक्षाध्यक्षको कार्यालयमा निर्वाचन आयोगबाट स्ववियु निर्वाचन नगर्नु भनेर पत्र आएको सूचना भर्खर क्याम्पस प्रमुखले प्राप्त गर्नुभएको छ', मञ्जनले भने, 'यहाँको निर्वाचन पहिले नै तोकिएकोले भोलि स्ववियु चुनावका लागि मतदान हुन्छ।'

पढ्नुस् : आरआर क्याम्पसमा भोलि स्ववियु चुनाव, नेविसंघले उम्मेदवारी दर्ता गरेन

            आरआर क्याम्पसमा प्रहरी र विद्यार्थीबीच झडप, ५ विद्यार्थी घाइते

            आरआरमा अनेरास्ववियु र नेविसंघबीच झडप, २ विद्यार्थी घाइते

आरआर क्याम्पसमा क्रियाशील विद्यार्थी संगठनले भने सबैको सहमति नभइकनै हुन लागेको स्ववियु चुनाव मान्य नहुने बताएका छन्। नेविसंघका केन्द्रीय सदस्य डम्बर जोशीले आफूहरुलाई निषेध गरेर हुने स्ववियु चुनाव मान्य नहुने बताए। 'निर्वाचन आयोगले पनि चुनाव नगर भनेर पत्र काटिसकेको छ', उनले भने, 'हामीले विद्यार्थीका हितमा जायज माग राखेका छौं। ती पूरा नभइकनै चुनाव हुदैन।' उनले प्रहरी लगाएर हुने चुनावको औचित्य नहुने बताए।

त्यस्तै अखिल क्रान्तिकारी (प्रचण्ड) का प्रवक्ता सुरेन्द्र बस्नेतले नेविसंघलाई बाहिर राखेर चुनावमा जान नसकिने बताए। 'प्रमुख विद्यार्थी संगठन नै चुनावमा सहभागी भएको छैन', बस्नेतले भने, 'नेविसंघको मनोनयन नै नभएको चुनावमा संयुक्त प्यानल र हामी पनि चुनावमा जादैनौं।' क्याम्पस प्रमुख निर्मला सुवालले एकपक्षीय ढंगमा प्रहरी प्रशासनको बलमा चुनाव गराउन खोजेको बताए। 'भोलि क्याम्पस प्रमुखलाई विद्यार्थी चाहिन्छ कि सधै प्रहरी घेरामै बस्ने हो? क्याम्पस प्रमुखले यसरी अगाडि बढ्नु उचित छैन।'

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका प्रवक्ता सुदीप शर्माले आफूहरु भोलि नै मतदान हुनुपर्ने पक्षमा रहेको बताए। '७ संगठनले उम्मेदवार मनोनयन गरेका छन्, त्यसैले भोलि नै मतदान हुन्छ', शर्माले भने, 'उनीहरु अब चुनावबाट भाग्न खोजेपनि त्यो सम्भव छैन।' उनले अखिल क्रान्तिकारी (प्रचण्ड) लगायतका संगठन हार्ने भएपछि चुनावबाट भाग्न खोजेको बताए। नेविसंघको उम्मेदवार मनोनयन दर्ता नभएकोबारे शर्माले भने, 'नेविसंघले चुनावमा उम्मेदवार दर्ता कहिल्यै नगरेपनि चुनावमा नजाने भन्ने हुँदैन। उनीहरुको आन्तरिक कारणले उम्मेदवार दर्ता हुन नसकेकोले हामी कुर्न सक्दैनौं।'

फागुन १४ गतेदेखि आरआर क्याम्पसमा प्रहरी परिचालन गरिएको छ। १८ गते हुनुपर्ने स्ववियु चुनाव २३ गतेका लागि सारिए पनि क्याम्पसभित्र विद्यार्थीलाई प्रवेश गर्न दिइएको छैन। समाचार संकलन गर्नका लागि गएका सञ्चारकर्मीहरुलाई समेत क्याम्पस प्रमुखबाट अनुमति छैन भन्दै प्रहरीले भित्र जान दिएको छैन। क्याम्पसमा पटकपठक तालाबन्दी गरिएको थियो जसलाई क्याम्पस प्रमुखको निर्देशनमा प्रहरीले तोडेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.