काठमाडौंमा दुई नगरपालिका थपिए

|

काठमाडौं : सरकारले स्थानीय तहको संख्या बढाएर ७ सय ४४ पुर्‍याएको छ। स्थानीय तह पुनर्संरचना आयोगले ७ सय १९ वटा मात्र स्थानीय तह निर्धारण गरेकोमा स्थानीय विकास मन्त्री हितराज पाण्डे नेतृत्वको तीन सदस्यीय कार्यदलले २५ वटा स्थानीय तह थप गरेको हो। जसमध्ये ४ वटा पहाडमा र १९ वटा तराईमा थपिएका छन्।

आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या ७ सय ४४ पुर्‍याउने निर्णय गरेको हो। बैठकले स्थानीय तहको संखया ७ सय ४४ पुर्‍याइएको र यसलाई सोमबार नै राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्री पाण्डेले जानकारी दिए।

स्थानीय तह पुनर्संरचना आयोगले गत पुसमा नै सरकारलाई ७ सय १९ स्थानीय तह रहने गरी प्रतिवेदन बुझाएको थियो। तर मधेस केन्द्रित दलहरुले असहमति जनाएपछि जनसंख्याको आधारमा मधेसमा स्थानीय तहको संख्या थप गर्ने भन्दै सरकारले स्थानीय विकास मन्त्री पाण्डे, उद्योग मन्त्री नवीन्द्रराज जोशी र आपूर्ति मन्त्री दीपक बोहरा रहेको कार्यदल गठन गरेको थियो।

कहाँ कति थपिए स्थानीय तह?

सरकारले सप्तरी र सिरहामा ५/५, धनुषामा ४, बारा, पर्सा र काठमाडौंमा २, रौतहट, महोत्तरी र सर्लाहीमा १/१ वटा स्थानीय तह थप गर्ने निर्णय गरेको छ। सप्तरीमा यसअघि १२ वटा स्थानीय रहेकामा ५ वटा थपिएको  छ।  धनुषामा १३ वटा रहेकोमा ४, सिरहामा १२ वटा रहेकोमा ५, महोत्तरीमा १४ वटा रहेकोमा १, सर्लाहीमा १६ वटा रहेकोमा १, बारामा १३ वटा रहेकोमा २, पर्सामा ११ वटा रहेकोमा दुई वटा स्थानीय तह थप गरिएको छ। 

त्यस्तै काठमाडौंङ्गा दुईवटा स्थानीय तह थप गरिएको छ। आयोगले दक्षिणकाली नगरपालिकालाई कीर्तिपुर नगरपालिकामा र शंकरापुरलाई कागेश्वरी नगरपालिकामा गाभेर प्रतिवेदन दिएपनि सरकारले परिमार्जन गरेर छुट्टाछुट्टै नगरपालिका रहने व्यवस्था गरिदिएको छ। त्यस्तै बझाङमा १ थपिएर स्थानीय तहको संख्या ९ पुगेको छ भने मनाङमा पनि १ थपिएर ४ पुगेको छ। बझाङको काँडा गाविसलाई छुट्टै स्थानीय तह बनाइएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट