|

बैतडी : बैतडी र दार्चुलाका  २८ स्थानबाट  नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएको छ। बैतडीका १६ र दार्चुलाका १२ स्थानमा गरि २८ स्थानबाट फोरजी सेवा सञ्चालनमा  छ।

नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहिलेक,गढी,कठपते,सतबाँझ, पाटन, बिजुल,ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा छ।

यसका साथै रोडीदेवल, जलहल्ला,दुर्गास्थान,चौड,सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको  नेपाल टेलिकम दुरसञ्चार कार्यालय बैतडीका प्रमुख सुरेन्द्र सिंह कार्कीले जानकारी दिए।

जिल्लाका थप ९ स्थानबाट पनि फोरजी सेवा सञ्चालनको तयारी भएको उनले बताए। उनले भने,‘ कैलपाल,मानिकाखान,ठाँड,कटौजपानी,झुलाघाट,पुर्चौडीहाट,सुर्नया गाउँपालिका, वसन्तपुर र सिगासको गुगुल्टेबाट पनि फोरजी सेवा सञ्चालनको तयारी  भएको छ। कैलपाल,मानिकाखान,ठाँडमा टावर बनिसेकेको छ।’

जिल्लाका २८ स्थानमा टावर राखेर टेलिकमले नमस्ते मोबाइलको सेवा दिइरहेको हो। टेलिकमले जिल्लाभरी आफ्नो क्षमता विस्तार गर्न टावर निर्माण र स्तरोन्नतीको काम गरिरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय बैतडीका प्रमुख कार्कीले बताए। 

उनले भने,‘हाल टेलिकमले स्थानीय तहका कार्यालयलाई प्राथमिकतामा राखेर सेवा थपिरहेको छ। पुराना टावर रहेका स्थानबाट सेवा प्रभावकारी भए पुरानै टावरबाट सेवा दिइरहेको र पुराना टावरबाट सेवा प्रभावकारी नभए नयाँ टावर थपिरहेको हो।’  सूचना, प्रविधिमा भइरहेको परिवर्तन र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने तिव्र गतिमा वृद्धि भइरहेको उनको भनाई छ। 

यस्तै दार्चुलाको बागांबगर, खलंगा ,पस्ती, आगर, गोकुलेश्वर, कुचाकोट, ऐरिछाना, उल्लेनी, धाप, रानीशिखर, खण्डेश्वरी र सिप्टी गरी हालसम्म १२ वटा टावरहरूबाट फोर जी सेवा प्रवाह भइरहेको छ। जिल्लाभरी २५ टावरबाट नेपाल टेलिकमले फोन र इन्टरनेट सेवा प्रवाह गरिरहेको नेपाल टेलिकम दुरसञ्चार कार्यालय दार्चुलाले जनाएको छ। 

 जिल्लाका अधिकांश टेलिकमका टावरमा विद्युत नहुँदा सोलारको भरमा सञ्चालनमा रहेका छन्। सोलारको भरमा रहेका टावरहरूले घाम लागेको बेला मात्रै नेटवर्क आउने गरेकाले  समस्या हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.