यसअघि गौतमले ओलीको पक्षमा ल्याएका थिए प्रस्ताव

|

काठमाडौँ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेपछि सचिवालयमा जोड घटाउको हिसाब चलिरहेका बेला उपप्रधानमन्त्री तथा ओली पक्षीय भनिएका सचिवालय सदस्य ईश्वर पोखरेल पछिल्लो समय निर्णायक मानिएका वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले बल्झिएको विवादमा आफ्नो पक्षमा बहुमत पुर्याउने कसरत चलिरहेको छ। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच आरोप प्रत्यारोपले पार्टी विभाजनको संघारमा पुगेको छ। अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेपछि प्रधानमन्त्री ओली थप असन्तुष्ट बनेका छन्। 

त्यही पत्रको जवाफ दिन प्रधानमन्त्री ओलीले मंसिर ३ बसेको सचिवालय बैठकमा १० दिनको समय माग गरेपछि भोलि (शनिबार) सचिवालय बैठक बस्दैछ। पार्टीभित्रको विवादको क्रममा सचिवालयको पूर्वसन्ध्यामा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरले भैंसेपाटी पुगेका छन्। 

उपप्रधानमन्त्री पोखरेल  भैंसेपाटी पुगेर उपाध्यक्ष गौतमलाई भेट्नु अर्थपूर्ण रुपमा लिन सकिन्छ। तर, उपाध्यक्ष गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीले उपप्रधानमन्त्री पोखरेल बाटो परेर मात्रै उपाध्यक्ष गौतम निवासमा पुगेको बताउँछन्। 

‘उहाँ (पोखरेल) को बाटो परेर भैंसेपाटी छिर्नुभएको हो। सामान्य भेटघाट मात्र भएको हो’ उनले थाहाखबरसँग भने, ‘उहाँहरूबीच सरकार र पार्टीभित्रको बिषयमा कुनै छलफल भएको छैन। उहाँ करिब १५ मिनेट जति मात्रै बस्नुभएको थियो।’

पार्टीको विवादका क्रममा अल्पमत र बहुमतको खेल चलिरहेको हुनाले सचिवालयको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीका विश्वासपात्र पोखरेल भैंसेपाटी पुग्नेलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

पार्टीभित्र अध्यक्ष दाहाललाई वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन्। सचिवालयको बहुमत सदस्य अध्यक्ष दाहालको पक्षमा रहँदा प्रधानमन्त्री ओली पनि बहुमत पुर्‍याउने कसरतमा जारी छ। 

प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल छन्। अध्यक्ष दाहाल खेमाका गृहमन्त्री बादल पार्टी एकताको पक्षमा भन्दै ओली कित्तामा पुगेका छन्। उनलाई फर्काउन अध्यक्ष दाहालले प्रयत्न गरिरहेका छन्। 

त्यसो त सचिवालयमा अल्पमतमा परिरहेको बेलामा प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई तान्ने प्रयास जारी राखेका छन्। दुवै पक्षसँग नखुलेका गौतमलाई गत साता प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएर छलफल गरेका थिए। तर उनी एकताको पक्ष भन्दै त्यही अडानमा छन्।  

यसअघिको विवादको क्रममा पनि अध्यक्ष दाहाल कित्तामा रहेको बेलामा पार्टी एकताको रक्षा गर्न भन्दै प्रधानमन्त्री ओलीलाई सघाउ पुग्नेगरी ६ बुँदे प्रस्ताव ल्याएका थिए। उनको प्रस्तावलाई नै टेकेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले निर्माण गरेको विवाद समाधान कार्यदलले समाधानको प्रस्ताव तय गरेको थियो।

पार्टीमा समस्या परेका बेला प्रधानमन्त्री ओलीलाई पटक पटक साथ दिएका उपाध्यक्ष गौतमलाई उनकै प्रस्तावमा राष्ट्रियसभाको सदस्य समेत बनाएका थिए। 

उपाध्यक्ष गौतम र गृहमन्त्री थापालाई राष्टपति विद्यादेवी भण्डारीले समेत शीलतनिवासमा बोलाएर पार्टी एकताका पक्षमा भूमिका खेल्न आग्रह गरेकी थिइन्। 

यसअघिको विवादका पनि अध्यक्ष दाहालको कित्तामा रहेका उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सघाउ पुग्नेगरी मध्यमार्गी भूमिका निर्वाह गरेपछि विवाद केही हदसम्म साम्य भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.