|

इलाम : अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्थानीय सरकारसँगको समन्वय फुटबल विकासलाई अघि बढाउने भएको छ। एन्फाले फुटबल विकासका लागि महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुको छाता संगठनको नेपाल नगरपालिका संघसँग फुटबल विकासका लागि दुई वर्षीय सम्झौता गरेको हो।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नगरपालिका संघ तथा धुलिखेल नगरपालिकाका प्रमुख अशोक कुमार ब्यन्जु श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै नगरपालिकाले नीतिगत वकालत तथा पैरवी गर्नेछ भने एन्फाले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउने छ। नगरपालिकाले सातवटै प्रदेशमा अन्तर नगरपालिका तथा क्लब, विद्यालय स्तरमा फुटबल प्रतियोगिताहरु सञ्चालन गर्न खेलाडीहरुको पहिचान र प्रशिक्षण गरी समग्र खेलकुदको विकास गर्नका समन्वय र पहल गर्नेछ।

फुटबल खेलको विकासका लागि अत्यावश्यक ग्रास रुट फुटबल (६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु खेल्ने) र प्रतियोगिताहरु सञ्चालन गर्नका लागि नगरपालिकाले अनुमति प्रदान गर्न सम्पूर्ण नगरपालिकाहरुमा समन्वय र सहजीकरण गर्नेछ।

जिल्ला फुटबल संघहरुलाई आर्थिक अनुदान दिन नगरपालिकाहरुको बजेट निर्माण, बजेट विनियोजनमा नगरपालिकाहरुलाई आवश्यक सल्लाह र पहल गर्नेछ। ‘एक नगरपालिका एक फुटबल मैदान’ को नारा लाई सार्थक तुल्याउन प्रत्येक नगरपालिकाहरुमा फुटबल खेल मैदान निर्माण, मर्मत सम्भार तथा संरक्षण गर्न आवश्यक पहल, समन्वय र सहकार्य गर्नेछ। जिल्ला फुटबल संघहरुको फुटबलसम्बन्धी भौतिक पूर्वाधार निर्माण, प्रतियोगिता, प्रशिक्षण सञ्चालन तथा फुटबलसम्बन्धी गोष्ठी सेमिनार आदिको लागि पहल गर्नेछ। 

नगरपालिकाहरुले फुटबल खेलसँग सम्बन्धित भौतिक पूर्वाधार निर्माण गर्दा एन्फा, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी)द्वारा प्राप्त अनुदान तथा एन्फाको पूर्व निर्धारित वार्षिक बजेट समेतलाई मध्यनजर गरी नगरपालिकासँग समन्वय गरी भौतिक पूर्वाधार निर्माणमा सहयोग प्रदान गर्न सक्नेछ।

डेढ वर्षपछि पुरस्कार हस्तान्तरण

एन्फाले गत वर्ष एन्फा डेमा घोषणा गरेको पुरस्कार डेढ वर्षपछि उपलब्ध गराएको छ। एन्फाले उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, लाइफ टाइम अचिभमेन्ट अवार्ड तथा रेफ्रीहरुलाई गत वर्ष ‘एन्फा दिवस’को अवसरमा २०७५ सालका उत्कृष्ट खेलाडी र व्यक्तित्वलाई पुरस्कार घोषणा गरेको थियो। तर, पुरस्कार रकम प्रदान गरेको थिएन।

एन्फाले शुक्रबार एक कार्यक्रमकाबीच उदीयमान पुरुष फुटबल अभिषेक रिजाललाई यामाहाको मोटरसाइकल र महिला खेलाडी मञ्जली तामाङलाई स्कुटर हस्तान्तरण गरेको हो। उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हरि खड्का र लाइफटाइम अचिभमेन्ट अवार्ड भगिरथ आले ‘मामा’लाई मोटरसाइकल प्रदान गरिएको छ। पुरस्कार ग्रहण कार्यक्रममा मामा उपस्थित थिएनन्।

पुरुषतर्फ पूर्व फिफा रेफ्री लव खत्रीलाई मोटरसाइकल प्रदान गरिएको छ। महिलातर्फ उत्कृष्ट रेफ्री अस्मिता मानन्धरलाई स्कुटर प्रदान गरिएको छ। एन्फाले गत वर्षदेखि बैशाख २२ लाई ‘एन्फा दिवस’को रुपमा मनाउने गरेको छ। यसवर्ष कोरोना महामारीका कारण ‘एन्फा डे’ स्थगित भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.