ट्रान्सपरेन्सीको प्रतिवेदन र प्रतिक्रियावादीको प्रदर्शन संयोग मात्रै होइन
ट्रान्सपरेन्सीको प्रतिवेदन र प्रतिक्रियावादीको प्रदर्शन संयोग मात्रै होइन
काठमाडौं : एक महिनायता देशका विभिन्न ठाउँहरुमा भइरहेको राजावादीहरुको प्रदर्शनबारे सरकारले मुख खोलेको छ। मन्त्रिपरिष निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मलेनमा सरकारले यस्तो बताएको हो।
प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिले राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनर्उत्थान र प्रतिक्रियावादीहरुले टाउको उठाउन खोजेको बताएका हुन्।
'यस्ता विषयवस्तुले समाजमा भ्रम छर्ने काम भएको छ। स्थिरता विकास र समृद्धिका लागि वर्तमान सरकार लागिरहेको छ। पछिल्लो समय संवैधानिक प्रणाली, लोकतन्त्र र कानुनी शासनविरुद्ध जनता भड्काउने काम भएको छ। त्यो प्रयास भइरहेको छ', उनले अगाडि भने, 'प्रतिक्रियावादी र पुनर्उत्थानवादीहरुका यस्ता गतिविधिमा सहभागी नहुन अपिल गर्दछौं।'
मन्त्री गुरुङले ट्रान्सपरेन्सी इन्टरनेसनले नेपालको बेइज्जत गर्ने गरी ल्याएको प्रतिवेदन र राजावादीहरुको प्रदर्शनलाई केवल संयोग मान्न नसकिने पनि बताएका छन्। 'अहिले बाख्रा हराउनु र बाघ कराउनुजस्तै भएको छ। जुलाईमा तयार भएको प्रतिवेदन अहिले सरकारविरुद्ध प्रहार गर्ने गरी आएको छ', उनले थपे, 'ट्रान्सपरेन्सीको विश्व सूचांकले प्रगति देखाउने तर उसैको नेपाल शाखाले भने बदनाम गराउने गरी प्रतिवेदन ल्याएको छ। यो केबल समयको संयोग मात्रै होइन।'
गुरुङले ट्रान्सपरेन्सीका नेपाल प्रमुख खेमराज रेग्मीको प्रमुख दलीय आवद्धताबारे पनि प्रश्न उठाए। 'राजनीतिक रुपमा चिनिएको र ब्रान्डेड व्यक्ति त्यो संस्थाको प्रमुख रहेकाले नेपाल सरकारले यसलाई अस्वीकार गरेको छ', उनले भने, 'सरकारविरुद्ध गतिविधि भइरहेका बेला यो विवादित प्रतिवेदन आएको छ।'
मन्त्री गुरुङले संघीयता, संघीय प्रणाली र स्थिरताविरुद्ध गतिविधि भएको पनि बताए। 'अहिलेको व्यवस्थाविरुद्ध शिर ठाडो पार्ने काम भएका छन्', उनले अन्तिममा भने, 'यसमा नलाग्न सर्वसाधरणलाई सरकार आग्रह गर्छ। त्यस्ता गतिविधिप्रति सचेत रहनुहोला। जनता भड्काउने प्रयास भइरहेको छ। प्रतिक्रियावादीको यस्ता गतिविधिमा कोही पनि नजानुहोला।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।