बिरामी छोरी बचाइदिन आग्रह

|

इलाम : रंगमञ्चमा अभियान गर्ने कलाकारको भूमिका जति हुन्छ पर्दापछाडि बसेर उत्कृष्टता प्रदान गर्नेहरूको पनि त्योभन्दा कम हुन्न। तर, पर्दापछाडि हुनेहरू सीमितबाहेक धेरैजसो पर्दापछाडिबाटै  हराउँछन्।

खेलकुद जगतलाई रंगमञ्चमा ढाल्ने हो भने पर्दापछाडिका कलाकार हुन् या प्रशिक्षक, जसले खेलाडीको आगामी भविष्यलाई तय गर्छन् तर सधैँ आफू छायामै रहन्छन्। इलामका नरकुमार राई त्यही छायाको प्रतिनिधि पात्र हुन्।

‘नरे दाइ’ उपनामले परिचित उनले नेपाली महिला राष्ट्रिय टोलीका धेरैजसो खेलाडीलाई चर्चाको शिखरमा पुर्‍याए। तर, आफू गुमनाम नै रहे। इलाम शान्तिडाँडामा जन्मिएर विभागीय टोली सशस्त्र प्रहरी बलको खेलाडी हुँदै महिला टोलीको प्रशिक्षकसम्मका यात्राको कथा जति रोचक छ फुटबलबाट पलायन र छोरी बचाउन गरेको संर्घषको कथा उति नै मार्मिक पनि।

इलामको शान्तिडाँडा (हाल देउमाई नगरपालिका–३) सदरमुकामनजिकै भए पनि बत्तिमुनिको अध्यारो नै छ। ३ दशकअघिको अवस्था जस्तो थियो आज पनि उस्तै छ शान्तिडाँडाको। त्यही गाउँमा स–साना प्रतियोगिताको आडमा नेपाली फुटबल जगतमा प्रवेश गरेका हुन् नरकुमार। ०५०-५१ सालतिर गाउँमा हुने भालेकप र टोलकपमा उमेर सानो भए पनि खेलकौशलका कारण सिनियरहरूसँग प्रतिस्पर्धाका लागि अवसर पाउँथे।

शान्तिडाँडा, नेपालटार, पुवामझुवा जस्ता ग्रामीण क्षेत्रमा हुने सेभेन साइड र नाइन साइड प्रतियोगिताबाहेक इलाम सदरमुकाममा खेलेको एउटा मात्र स्कुलस्तरीय प्रतियोगिता उनको सम्झनामा छ। गाउँको सानौ चौरबाट सिकेको कौशललाई उनले २०५४ देखि ५६ सालसम्म ध्रुवतारा स्पोर्टिङ क्लब दुधेबाट देखाउने अवसर पाए। जहाँबाट भण्डारी स्मृति गोल्डकप, सुरुंगा गोल्डकप, सतासीधाम गोल्डकप जस्ता तत्कालीन समयका पूर्वाञ्चलस्तरका प्रतियोगितामा खेले।

‘सदरमुकाममा एउटा मात्र स्कुलस्तरीय खेल खेल्न पाए। इलाम बजारबाट नजिकै भए पनि बत्तिमुनिको अँध्यारोझैँ थियो शान्तिडाँडा त्यहाँ हामीले खेल्ने अवसर नै पाउँदैनथ्यौँ।’ उनले भने, ‘झापा गएपछि मात्र हो फुटबलको बारेमा प्राविधिक ज्ञानहरू पाएको। बुट लगाएर फुटबल खेल्न पाएको।’

सौभाग्यवश २०५७ सालमा दंगा प्रहरीको जागिर खुलेपछि भविष्यलाई सोचेर जवान पदमा भर्ना भए। सोही वर्ष तालिमका दौरान आइजिपी कप फुटबल प्रतियोगितामा पूर्वाञ्चल टिमले उपाधि जित्दा डिफेन्स लाइन सम्हालेका थिए। २०५८ सालमा दंगा प्रहरीलाई शसस्त्र प्रहरी बनाएपछि केही समय प्रतियोगिता भएन। २०६१ सालमा व्यावसायिक फुटबल खेल्नका लागि सशस्त्र प्रहरी बलको टिममा समेत अवसर पाए।

‘तालिम हुँदै गर्दा पहिलो पटक एपिएफको टिम बनाउँदा मैले पनि त्यसको महत्वपूर्ण सदस्य बन्ने अवसर पाएँ।’ खुशी व्यक्त गर्दै उनी भन्छन्, ‘नयाँ जोस र नयाँ ऊर्जा थियो तर त्यो वर्ष हामीले लिग खेलेनौँ।’ टिम बनाएपछि पहिलो पटक सहभागिता जनाएको आहा गोल्डकपमा टिम क्वार्टर फाइनलबाटै बाहिरियो। अर्को वर्ष शहीद स्मारक लिगमा एपिएफले डेब्यु गर्दा उनी पहिलो रोजाइमा उत्रिने अवसर पाए।

त्यबेलाको क्षण सम्झँदै नरकुमार भन्छन्, ‘पहिलो खेल डिफेन्डिङ च्याम्पियन थ्रीस्टारविरुद्ध थियो। राष्ट्रिय टिमबाट खेलेको खेलाडीहरू सम्मिलित टिमविरुद्ध कम गोल खाने रणनीति थियो तर, पहिलो हाफ १–१ बराबरी भएको खेल सकिन ४-५ मिनेट बाँकी रहँदा गोल गरेर जित्यौँ।’

पहिलो खेलमा सुदीप श्रेष्ठसँग चेन्ज हुनुअघि नरकुमारले ८० मिनेट मैदानमा बिताए। सो वर्ष एपिएफले लिगमा पाँचौँ स्थान हासिल गरेको थियो। २०६८ सालसम्म खेलाडीको रुपमा रहँदा उनले लिगका अतिरिक्त आहा गोल्डकप, बुढासुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकपलगायत देशका प्रतिष्ठित प्रतियोगितामा विभागीय टिमको जर्सी लगाए।

प्रशिक्षकमा पाइला

विभागीय टिमहरूमध्ये पहिलो पटक एपिएफले महिला फुटबल टिम बनाउँदा प्रशिक्षणको जिम्मा नरकुमारलाई सुम्पियो। ‘लिग खेल्न थालेको ३ वर्ष नपुग्दै प्रेम सर (तत्कालीन डिएसपी प्रेम श्रेष्ठ)को विश्वासका कारण दोहोरो भूमिका निर्वाह गर्नुपर्‍यो। बिहान आफू ट्रेनिङ गरिन्थ्यो बेलुका बहिनीहरूलाई फुटबल सिकाइन्थ्यो।’ उनी सम्झन्छन्, ‘त्यसबेलापछि राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेका १४-१५ जना खेलाडीहरूलाई दैनिक सिकाउनुपर्‍थ्यो।’ ऊ बेला नेपाली राष्ट्रिय टिमकी कप्तान जमुना गुरुङ, अनु लामा, भगवती थापा, लक्ष्मी पौडेल, अम्बिका दाहाल, प्रमिला राई, तुलसा सिंह, सजना राना, विनिता श्रेष्ठ, मिरा महर्जन, रञ्जना दर्जी जस्ता धेरै मोफसलबाट खारिएका र केही राजधानीका खेलाडीहरूलाई उनले निखार ल्याए।

प्रशिक्षणसम्बन्धी जर्मन कोच क्रेटसँग ३ दिन तालिम लिनुबाहेक उनीसँग अन्य प्रमाणपत्र छैन्। ‘सिनियर कोच राजुकाजी शाक्य, डम्बर सिंह गुरुङलगायतसँग निरन्तर प्रशिक्षणसम्बन्धी प्राविधिक पाटोको बारेमा ज्ञान लिन्थे। आफूले खेल्दा प्रयोग गरेका र सिकेका ज्ञानहरू महिला खेलाडीमा लागू गर्ने गरेको थिए।’ उनले भने

प्रतियोगिता नहुँदा निराश

खेलकुदमा महिला सहभागितालाई ध्यानमा राखेर एपिएफले टिम त निर्माण गर्‍यो। तर, प्रतियोगिता आयोजना नहुँदा अर्को चिन्ता थपिन पुग्यो। रौतहट र नेपालगञ्जमा महिला फुटबल प्रतियोगिता आयोजना हुन्थ्यो, जहाँ बाघ र बाख्रो लडाइँझै देखिन्थ्यो। एपिएफसामु विकास क्षेत्र र जिल्लाको टिम निरीहझैँ देखिन्थे।

‘एपिएफमा निरन्तरको प्रशिक्षण र खेलाडीहरू स्तरीय भएको कारण विपक्षी टिमले दजनौँ गोल खान्थे। एउटै खेलाडीले डबल-ट्रिपल ह्रयाट्रिक गर्दा आयोजकहरू प्रतियोगिता नै नगराउने मनस्थितिमा पुगिसकेका थिए।’ उनी सम्झन्छन्, ‘केही समयपछि पुलिस र आर्मीको समेत महिला फुटबल टिम गठन भएपछि भने प्रतियोगिता आयोजना पनि बढी हुन थाल्यो र  खेल पनि प्रतिस्पर्धात्मक बन्यो।’

सुरुवाती चरणमा पुलिस र आर्मी नहुँदा सहभागिता जनाएको सबै प्रतियोगितामा एपिएफको पोल्टामा जान्थ्यो। पछि भने ४-५ वटा प्रतियोगिता उनीहरूले हात पारे पाँचौँ राष्ट्रिय खेलकुद, छैटौँ राष्ट्रिय खेलकुद, १० औँ राष्ट्रिय महिला फुटबल, प्रधानसेनापति कप, रौतहटमा अन्तरक्षेत्रीय महिला फुटबल लगायतको एक दर्जनभन्दा बढी प्रतियोगिताको उपाधि एपिएफ टिमलाई दिलाए।

युवा खेलाडी पहिचान

नरकुमार जहाँ प्रतियोगितामा जान्थे त्यहीँ नयाँ प्रतिभालाई पहिचान गरेर क्लबमा भित्र्याउँथे। उनले पूर्वको इलामदेखि पश्चिमको कञ्चनपुरसम्मका खेलाडीलाई सशस्त्र प्रहरी बलमा अनुबन्धन गराए। नेपाली महिला राष्ट्रिय टिमकी गोलरक्षक इलामकी एन्जिला तुम्बापो सुब्बालाई समेत सशस्त्र प्रहरीबलमा उनले नै भित्र्याए।

‘२०६८ सालमा महेन्द्रनगरमा भएको छैटौँ राष्ट्रिय खेलकुदमा पूर्वाञ्चल टिमका अनु (अनिता बस्नेत) र एन्जी (एन्जिला तुम्बापो सुब्बा) को खेलले हाम्रो क्लबको म्यानेजर प्रेम सर (तत्कालीन डिएसपी हाल एसपी प्रेम श्रेष्ठ) र मेरो  मन तान्यो। उनीहरूको खेल भावना देखेर एपिएफमा जागिर पाइने आश्वासन देखाएर क्लबमा ल्याए।’ नरकुमार भन्छन्, ‘निडर र साहसी थिइन् एन्जिला प्राविधिक ज्ञान सिकायो भने राष्ट्रिय टोलीमा पर्न सक्छिन् भन्ने लागेको थियो।’

एन्जिलालाई क्लब भित्र्याउँदासम्म नरकुमारलाई गृह जिल्लाकै चेली हुन् भन्नेसम्म थाहा थिएन ‘पूर्वाञ्चल टिमको गोलरक्षक थिइन् सोचेको थिए झापा तिरकी होलिन् भनेर तर मेरै जिल्लाकै रहिछन् पछि मात्र थाहा भयो।’ तत्काल १४ वर्ष मात्र पुगेकी एन्जिला जागिरका लागि योग्य नभएपछि कन्ट्रयाक्टरमा क्लबमा प्रवेश गरेकी थिइन्। पछि नरकुमारकै पहलमा २०७२ सालमा जवान पदमा भर्ना भइन्।

नरकुमारले क्लबमा सुर्खेतकी गीता राना, उदयपुरकी हिराकुमारी भुजेल, मोरङकी मनमाया लिम्बू, लमजुङकी सावित्रा भण्डारी (साम्बा), रौतहटकी अनिता केसी, रेनुका नगरकोटी, मञ्जली तामाङ लगायतका केही खेलाडीलाई आफ्नै पहलमा क्लब प्रवेश गराए भने केहीलाई क्लबमा फुटबलसम्बन्धी प्राविधिक ज्ञान दिए। ‘शुक्र (रेफ्री शुक्र लामा) ले साम्बालाई क्लबमा ल्याउँदा उसको लक्ष्य केबल गोल गर्नुमात्र थियो कसरी हुन्छ किपर भएसम्म गोल पुर्‍याउने। उनलाई प्राविधिक पाटोको बारेमा ज्ञान दिएपछि नेपाली राष्ट्रिय टोलीको अहिले खम्बा नै सावित भएकी छन्’ नरकुमार भन्छन्।

प्रशिक्षण दौरान नरकुमार शान्ति सेना मिसनका लागि लाइब्रेरिया जाँदा महिला टिमको गतिविधि लगभग शून्य भएको थियो। करिब १ वर्षपछि मिसनबाट फर्किएर आउँदा खेलाडीहरूको अवस्था देखेर चिन्ता लागेको उनले सुनाए, ‘मिसनबाट आउँदा त न टुर्नामेन्ट छ न खेलाडीहरूलाई ट्रेनिङ। गेम होस् नहोस् राष्ट्रिय टिमको लागि भए पनि प्रशिक्षण गर्नुपर्छ भनेर फेरि सिकाउन थालेँ।’

नेपाली सेनाले प्रधानसेनापति कप प्रतियोगिता सुरु गरेपछि भने वर्षमा कम्तीमा एउटा भए पनि प्रतियोगिता सुनिश्चित भएको नरकुमार बताउँछन्। पहिलो संस्करणको प्रतियोगिता नै एपिएफले जित्यो। प्रधानसेनापति कपको ३ संस्करणसम्म एपिएफको प्रशिक्षक बन्दा २ पटक उत्कृष्ट प्रशिक्षकको रुपमा पुरस्कार पाए। ९ वर्षसम्म एपिएफको महिला टिमलाई प्रशिक्षण दिएका उनी जागिरे जीवनबाट रिटायर्ड हुनुभन्दा ३ दिनअघि मात्र पूर्वाञ्चलका सरु लिम्बू र रेखा पौडेललाई क्लबमा भित्र्याएका थिए। २०७३ मंसिर १२ गते सशस्त्र प्रहरीको वरिष्ठ हवलदार पदबाट अवकाशपछि परिवारको भविष्यलाई सोचेर उनी बहराइन हानिए। 

एकाडेमी स्थापनाभन्दा स्थानीय तहमा प्रशिक्षण उपयुक्त

लामो समय खेलाडी र प्रशिक्षक भएर बिताएका नरकुमार महिलाहरूको लागि एकाडेमी स्थापना गर्नुभन्दा स्थानीय तहमा प्रशिक्षणको व्यवस्था गर्नु उत्तम हुने बताउँछन्। ‘नेपालमा महिला फुटबल राम्रो बनाउन विभागबाहेक जिल्ला-जिल्ला र स्थानीय तहमा प्रशिक्षकको व्यवस्था गर्नुपर्छ’ उनी भन्छन्, ‘एकातर्फ एकाडेमी खर्चिलो हुन्छ प्रत्येक जिल्लामा स्थापना गर्न सकिँदैन अर्कोतर्फ एकाडेमीमा महिला खेलाडी राख्दा नेपाली समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्न समय लाग्छ तसर्थ प्रत्येक स्थानीय तहमा सातामा ४-५ दिन नियमित प्रशिक्षणको व्यवस्था मिलाउन सके राम्रो।’

फुटबल विकासमा सरकार र एन्फा गम्भीर भएर भारतलाई हराउन असहज नहुने उनी बताउँछन्। ‘अहिले हेरौँ जति पनि खेलाडी छन् विभागका जिल्लाबाट छनौट भएर राष्ट्रिय टोलीमा खेलाडी पर्न सकेका छैनन्। सबै विभागले मोफसलबाट ल्याएर खारेकाले राष्ट्रिय टोली धानेको छ’ उनी भन्छन्,
‘जिल्लामा धेरै प्रतिभा भएका खेलाडी अझै पनि थन्किएर बसेका छन् उनीहरूको पहिचान गरेर प्रशिक्षण दिने हो भने अबको ५ वर्षमा भारतको एकाधिकार तोडिन्छ।’

छोरी बचाइदिन आग्रह

खेलाडीहरूको भविष्यलाई उज्यालोतर्फ अघि बढाएका नरकुमार अहिले छोरी बचाउन दिलोज्यान दिएर लागेका छन्। विगत एकवर्षदेखि ब्लड क्यान्सरबाट पीडित छोरी कसुमी अहिले उपचारकै क्रममा छिन्। कान्ति बाल अस्पतालमा उपचारपछि अहिले औषधिको सहारामा तंग्रिने प्रयासमा छिन् कसुमी। सशस्त्र प्रहरी बलको जागिरपछि बहराइन हिँडेको २१ महिना नहुँदै छोरी बिरामी भएपछि उपचारका लागि बिदा मागेर नेपाल आएका नरकुमार अहिलेसम्म काममा फर्कन सकेका छैनन्।

‘सन्तानको नाममा त्यही एउटी छोरी छिन् उनलाई यस्तो अवस्थमा छाडेर जान पनि त सकिन्न’ नरकुमार भन्छन्, ‘अहिलेसम्म झन्डै २० लाख माथि खर्च भइसकेको छ। ६ महिनाको लागि औषधि दिएको छ ४ महिनाको सेवन गरिसक्दा छोरी बाँच्छिन् भन्ने आस जाग्यो। त्यसपछिको अवस्था हेरेर थप उपचार प्रक्रिया अघि बढाउने डाक्टरले भन्नुभएको छ।’

छोरी बचाउन देश विदेशबाट सहयोग गर्ने दाताहरूलाई नरकुमार धन्यवाद ज्ञापन गर्छन्। ‘मेरो पेन्सनको रकम र जायजेथाले मात्र त छोरी के बचाउन सकिन्थ्यो होला र धन्न देश विदेशमा हुने नेपालीहरू र खेलाडीहरूले ठूलो गुन लगाउनुभयो। अहिलेसम्मको अवस्था उहाँहरूकै देन हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.