|
फाइल फोटो

सल्यान : सल्यानबाट कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने  खलङ्गा –जयतपानी –कुपिण्डे ताल –बालुवासंग्रही सडक खण्ड कालोपत्रे गर्न थालिएको छ। ट्याक खुलेको झन्डै ३० वर्षपछि सडक स्तरोन्ती हुन थालेको हो। कर्णाली प्रदेश सरकारको गौरवको आयोजनासमेत रहेको उक्त सडक खण्ड दुई वर्षभित्र सम्पन्न गर्ने गरी कामको थालनी भएको छ। 

पूर्व-प्रधानमन्त्री मरिचमान सिंहले  २०४५ सालमा उद्घाटन गरेको बाटो बहुदल, सशस्त्र द्वन्द्वलाई पार गर्दै गणतन्त्र आएको पनि लामो समयपछि कालोपत्रे हुन लागेको हो। 

कर्णाली प्रदेश सरकार र संघीय सरकारको बजेटमार्फत उक्त सडक खण्डको कालोपत्रे गर्न थालिएको छ।  संघीय सरकारको ६ करोड र प्रदेश सरकारको  २७ करोड गरी ३३ करोडको लगानीमा सडक कालोपत्रे गरिन थालेको छ।  संघीय सरकारको बजेटबाट अहिले ज्यामिरेदेखि बाबिया चौरसम्मको करिब साढे ३ किलोमिटर सडक दुई प्याकेजमा कालोपत्रे गर्न सुरु गरिएको पूर्वाधार कार्यालय सल्यानले बताएको छ।

 यस्तै, ११ किलोमिटर सडक कालोपत्रेका लागि गाल्वा धुलिखेल जेभीले ठेक्का पाई काम सुरु गरेको कार्यालयका प्रमुख इञ्जिनियर विनोद पुनले बताए। आठ मिटर चौडाइ रहने उक्त सडक दुई वर्षमा  २७ करोडमा लागतमा सम्पन्न हुने उनको भनाइ छ।

निर्धारित समयमा नै काम सम्पन्न गर्ने गरी कामको थालनी गरिएको गाल्वा धुलिखेल जेभीका सञ्चालक प्रमोद श्रेष्ठले बताए। सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने महत्त्वपूर्ण र छोटो सडक हो यो। विगतदेखि नै यस सडकको स्तरोन्नति गरिँदै आएकोमा यस पटक कालोपत्रे गर्न लागिएको कार्यालयको भनाइ छ। 

अहिले सडकको छेउमा ग्याविन वाल लगाउने, नाली निर्माण गर्ने काम भइरहेको पुनले बताए। उनका अनुसार भ्याट सहित प्राकृतिक निशान जेभीले १ करोड ६३ लाख र क्रिष्टल निर्माण सेवाले १ करोड ५६ लाख रुपैयाँमा कामको जिम्मेवारी पाएका छन्।

प्राकृतिक निशान जेभीका प्रोप्राइटर डिल्लीप्रकाश केसीले तोकिएको समयमै सम्पन्न गर्ने गरी काम भइरहेको बताए। ‘सडकको छेउमा ग्याविन लगाउने काम भइरहेको छ,’ उनले भने। 

सल्यानको प्रमुख पर्यटकीय क्षेत्र कुपिण्डे ताल र कर्णाली प्रदेश राजधानी जोड्ने सडक सल्यानी जनताका लागि निकै अर्थपूर्ण हुने कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.