|

भोजपुर : भोजपुरमा पहिलो पटक लाहा खेती शुरुको गरिएको छ। निजी, सामुदायिक तथा कबुलियती वनलाई आयमुलक बनाउने लक्ष्यका साथ डिभिजन वन कार्यालय भोजपुरले लाहा खेतीको थालनी गरेको हो।

बढी तापक्रम तथा सुक्खा क्षेत्रमा पाइने खयर, बयरलगायत रुखको संरक्षण तथा उपभोक्ताको आयस्तर सुधार गर्न यस्तो अभियानको शुरु गरिएको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ। कार्यालयले अरुण गाउँपालिकामा रहेका तीनवटा सामुदायिक वन र निजी वनमा परीक्षणको रुपमा लाहाको खेती गरेको छ। विज्ञ समूहसहित धनकुटाबाट बीउ ल्याएर रुखको हाँगामा लाहा उत्पादन गर्ने लाहीकीरा छाडिएको वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए।

‘भोजपुरमा पहिलो पटक लाहा खेतीको सुरुवात भएको छ। यहाँका तल्लो तटीय क्षेत्र अर्थात् बेँसीका वनमा यसको सम्भावना धेरै रहेको छ,’ प्रमुख घिमिरेले भने, ‘यसको व्यावसायिक खेती गर्न सकेमा राम्रो आम्दानी लिन सकिन्छ भने यो लगाई सकेपछि हाँगा काट्न नमिल्ने भएकोले बनको पनि संरक्षणमा टेवा पुग्छ।’

लाहाको कच्चा पदार्थ प्रतिकिलो २५० रुपैयाँसम्म बिक्री हुने र यसको प्रशोधन गरेपछि एक हजार ८०० देखि दुई हजार रुपैयाँसम्म बिक्री हुने गरेको प्रमुख घिमिरेले बताए। ‘यसको खेतीमा खास धेरै मेहनत गर्नु पर्दैन, एक पटक लगाएपछि वर्षमा दुई पटक संकलन गर्न सकिन्छ,’ उनले भने, ‘प्रशोधन गरीसकेपछि यसको बजार मूल्य दुई हजारसम्म पर्छ, फर्निचर कारखाना, सुन पसललगायत अन्य विभिन्न काममा प्रयोग हुने लाहा अहिले भारतीय बजारबाट आउने गरेकोले स्वदेशमा नै यसको उत्पादन गर्ने उद्धेश्यले यहाँ पनि लगाउन शुरु गरेका हौँ।’

भोजपुरमा यसअघि पनि लाहा खेती गरिएको थियो। उक्त समयमा एउटा रुखबाट १०० किलोसम्म लाहा संकलन गरेको किसानहरुले बताएका छन्। तल्लो भेग तथा नदी खोलाका किनार एंव त्यस आसपासका खयर, बयर, मौवा प्रजातिका रुख भएका जंगल लाहा खेतीका लागि उपयुक्त रहेको  कार्यालयले जनाएको छ। विषेश गरेर खयर, बयरमा उत्पादन भएको लाहाले राम्रो मूल्य पाउने भएकाले उक्त प्रजातिका रुखलाई प्राथमिकतामा राखिएका झापामा लाहाको उद्योग सञ्चालन गर्दै आएका विज्ञ डम्बर विकले बताए। विकले भने, ‘मैले भारतमा १५ वर्षभन्दा बढी लाहा उत्पादन गर्ने कम्पनीमा काम गरेको अनुभव छ, नेपालमा पनि यसको सम्भावना धेरै छ, यहाँ राम्रो उत्पादन गर्न सके भारतबाट यसको आयात रोक्न सकिन्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.