नेकपा र कांग्रेस कुहिरोका कागजस्तै भए

|

जनआन्दोलन २०६२/६३ आन्दोलनपछि २०६५ जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको थियो। गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा हुन नपाउँदै यसविरुद्ध सडकमा स्वरहरु बढ्न थालेका छन्। २ सय ३८ वर्ष लामो शाह वंश राज परम्पराको अन्त्य गरेसँगै स्थापित गणतन्त्र माथि पुनः राजावादीहरु सल्बलाउन थालेका छन्। गणतन्त्र खारेज गरेर राजतन्त्र र हिन्दु राज्य ल्याउन भन्दै राजावादीहरुले प्रदर्शन गरिरहेका छन्। 

राजावादीहरुले आगामी मंसिर २० गते काठमाडौँमा बृहत् प्रदर्शन तयारी गरिरहेका छन्। त्यसकै पूर्वतयारीस्वरुप काठमाडौंसहित यसअघि पोखरा, धनगढी, हेटौंडा, वीरगञ्ज र बुटवलमा प्रदर्शन गरेका थिए। सत्ताधारी दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा फसेको छ। सरकार एकपछि अर्को भ्रष्टाचारमा मुछिरहेको छ। यही विषयवस्तुसँग केन्द्रित रहेर राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता राजेन्द्र लिङ्देनसँग थाहाकर्मी रमेश पराजुलीले गरेको संक्षिप्त कुराकानी :
 
गणतन्त्रको विरोध गर्दै राजतन्त्र चाहियो भन्‍ने मागसहितको देशभर भइरहेको  प्रदर्शनलाई तपाईंहरुले कसरी लिनुभएको छ? 

राजतन्त्र ल्याउनुपर्छ भन्‍ने राष्टिय प्रजातन्त्र पार्टीको मुख्य राजनीतिक एजेण्डा हो। ०६२/६३ राजनीतिक परिवर्तनपछि नै राप्रपा मुलुकमा राजसंस्था, हिन्दु राष्ट्रको पक्षमा र  संघीयताको विपक्षीमा रहेर क्रियाशील भइरहेको छ। त्यस्तो पार्टीका लागि देशव्यापी रुपमा लहर सिर्जना हुनु हाम्रो लागि खुसीको बिषय हो। यसमा हाम्रो पार्टीको पूर्ण साथ र समर्थन रहन्छ। हामीले यही शिलशिलामा देशव्यापी प्रदर्शनलाई ऐक्यबद्धता प्रकट गरेका छौँ। राजतन्त्रको माग गर्दै हाम्रो पार्टीले २० गते झापामा औपचारिक रुपमा कार्यक्रम राखेको छ।

अहिलेको देशव्यापी प्रदर्शन राप्रपाको आयोजनामा भइरहेको हो? 

आजसम्म जति पनि ठाउँमा भइरहेका छन् ती कार्यक्रम स्वतन्त्र युवाहरुले नै गरेका छन्। तर, अधिकांश ठाउँमा हाम्रो पार्टीका कार्यकर्ताले सामेल हुनुभएको छ। उहाँहरुले आफ्नो सक्रियता देखाइ राख्नुभएको छ। देशभर भइरहेको प्रदर्शनमा हाम्रो पार्टीको पूर्ण साथ र समर्थन छ। 

गणतन्त्र असफल भइसकेको निष्कर्षसहित प्रदर्शन भइरहेको हो? 

अहिले गणतन्त्र असफल भएको देखिएर यो कार्यक्रम अघि बढेको भन्‍नुपर्दा पनि अहिलेको जुन प्रणाली छ। त्यसले देशलाई निकास दिन सक्दैन। यो साझा प्रणाली होइन। जनताको भावनाको भावनाको कदर गर्न सक्दैन। नेपाल जस्तो भूराजनीतिक परिस्थिति भएको मुलुकको लागि संविधानको परिधिभित्र रहेको संसदको अधिनमा रहन। राजसंस्था आवश्यकता छ।

त्यसको कारण यो प्रणालीले काम गर्न सक्दैन भनेर हामीले भनिरहेका थियौँ। त्यो अहिले सत्य सावित हुँदै आएको छ। अहिले पात्र र प्रणाली दुवै असफल हुँदै आयो। यही पात्र र प्रणालीमा गयौँ भने देश दुर्घटनामा जाने निश्चित छ। त्यसैले शान्तिपूर्ण माग भइरहेको छ। देशका ठूला पार्टी भन्‍नेहरुले यसलाई सम्बोधन गरेर सबै अटाउने सहमतिको राजसंस्था, हिन्दु राष्ट्र स्थापना गर्न सक्नुपर्छ। 

भनेपछि... देशलाई संघीयताको आवश्यकता छैन? 

देशलाई आवश्यकता छैन भनेर हामीले सुरुदेखि नै भन्दै आएका हौँ। त्यो छैन रहेछ भन्‍ने कुरा पनि अहिलेको घटनाक्रमले आफैँ पुष्टि गर्छ। 

सत्ताधारी र प्रमुख प्रतिपक्षी दलको भूमिकालाई कसरी लिनुभएको छ? 

सरकार र प्रतिपक्षी दुवै कुहिरोमा हराएको कागजस्तो भइसकेका छन्। कोरोना महामारीको प्रकोप छ। यसमा न सरकार न सत्तारुढ दलका न प्रतिपक्षी दलले छलफलको एजेन्डासम्म बनाएका छैनन्। उनीहरु सत्ता स्वार्थ, आफ्नो पदको लडाईँमा मस्त भइरहेका छन्। यो अवस्थामा उनीहरुको जतिसुकै आलोचना गरेपनि कम हुन्छ। उनीहरुले बाटो सच्चाउनु सक्नुपर्यो। 

अब राजसंस्था फिर्ता हुन्छ त?

राजसंस्था फिर्ता हुनुपर्छ भन्‍ने हाम्रो माग हो। र, यो नै मुलुकको समस्याको समाधानको एकमात्र विकल्प हुनसक्छ।

भनेपछि अब राजसंस्थाले मात्रै देशको विकास गर्न सक्छ? 

हामीले प्रष्टसँग भनिरहेका छौँ। राजसंस्था फर्कने साथ बाटाहरु बन्‍न थाल्ने, बिजुली बल्न थाल्ने हुन्छ भनेका होइनौँ। रातारात मुलुक कायापलट हुन्छ भनेका पनि होइनौँ। राजसंस्था आएपछि देशमा स्थिरताको बाटो प्रारम्भ हुन्छ। राष्ट्रियताको प्रारम्भ हुन्छ। राष्टिय एकता मजबुद हुन्छ। सामाजिक सद्भाव बढ्छ। त्यसको जगमा बसेपछि देश निर्माण गर्न सकिन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.