|

बाँके : होलीको अवसर पारेर महिला उद्यमी संघ बाँकेले नेपालगन्जमा ५ दिने होली महोत्सव ब्यापार मेला आयोजना गर्ने भएको छ। सामाजिक एवम् धार्मिक सद्भावका लागि होलीको अवसरमा ब्यापार मेला आयोजना गरिएको संघका अध्यक्ष अञ्जु गुरुङले बताइन्।

महोत्सवको पूर्व सन्ध्यामा आइतवार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले महिला उद्यमीले उत्पादन महोत्सवमा राखिने बताइन्। उनले बाँकेका महिलाले उत्पादन गरेका कृषिजन्य वस्तुका साथै हस्तकला, बुटिक, कस्मेटिक, चाउमिन, मस्यौरा, मैनबत्ती, दालमोठ लगायतका सामान राखिने जानकारी दिइन्। ‘महिलाले उत्पादन गरेका वस्तुको प्रचार प्रसार र बजारिकरणका लागि महोत्सव आयोजना गरिएकोले स्टलमा महिलाले उत्पादन गरेका बस्तुमात्र राखिने छ,’ उनले भनिन्।

महोत्सवमा ३० देखि ३५ वटा स्टल रहने महिला उद्यमी संघ बाँकेका सदस्य सावित्री वस्नेतले बताइन्। उनले उद्यम गरेर महिला आत्मनिर्भर बन्नु पर्छ भन्ने सन्देश दिनु पनि महोत्सवको अर्को उद्देश्य रहेको बताइन्। ‘महिलालाई उद्यममा लाग्न प्रेरित गर्ने पनि महोत्सवको उद्देश्य हो,’ वस्नेतले भनिन्।

यही फागुन २४ देखि २८ गतेसम्म संचालन हुने मेलामा १० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरेको महिला उद्यमी महासंघका केन्द्रीय सदस्य सरस्वती पराजुलीले बताइन्। उनले मेलामा १० हजारले अवलोकन गर्ने समेत बताइन्। गत वर्ष संघले नेपालगन्जमा आयोजना गरेको महोत्सवमा ६ हजारले अवलोकन गरेका थिए भने ७ लाखको कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.