|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको १४ औँ महाधिवेशन फागुनमै सम्भव रहेको बताएका छन्।

नेता पौडेलले पछिल्लो केन्द्रीय समितिको बैठकले निर्णय गरेको मंसिर मसान्तभित्र सक्रिय सदस्यता र नवीकरणको काम सम्पन्न भए फागुनमै महाधिवेशन सम्भव रहेको बताएका हुन्।

‘मंसिरभित्रै क्रियाशील सदस्यताको काम सकियो भने फागुनकै ७ देखि १० गते जुन पूर्वघोषित तालिका छ त्यसमै १४ औँ महाधिवेशन हुन्छ,’ थाहाखबरसँग कुरा गर्दै पौडेलले भने। 

वरिष्ठ नेता पौडेल वडादेखि केन्द्रसम्मको अधिवेशन समायोजन र क्रियाशील काम सकिएको डेढ महिनामा गर्न सक्छु भनेकाले फागुनमै महाधिवेशन सम्भव रहेको दोहोर्‍याउँछन्।

‘डेढ महिनामा वडादेखि केन्द्रसम्मको अधिवेशन गर्दिनँ हामी सक्छौँ भनेर निर्वाचन समितिले भनिरहेको छ,’वरिष्ठ नेता पौडेलले भने, ‘हाम्रो अहिलेको कार्यतालिका पनि त्यस्तै देखिन्छ। तर, क्रियाशीलमै हो समस्या हुने क्रियाशीलमै रोक्छन्। सभापतिज्यु अझै छलछाम गर्न खोज्दै हुनुहुन्छ।’ 

वरिष्ठ नेता पौडेलले सभापति देउवाले एकलौटी ढंगले विस्तार गरेको २० भन्दा धेरै विभाग खारेज हुनुपर्ने पनि बताए। ‘ती विभागहरु त हामी कुनै हालतमा मान्दैनौँ,’ उनी भन्छन्, ‘ती विभागहरु खारेज गर्नैपर्छ हाम्रो मुख्य माग त्यही हो।’

पौडेल पक्षले सभापति देउवाले विधान मिचेर विभाग तथा समिति गठन र विस्तार गरेको आरोप लगाउँदै आएको छ। कांग्रेसको संशोधित विधानमा भने महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने उल्लेख छ। सभापति देउवाले अर्काे महाधिवेशन आउन करिब ८ महिना बाँकी हुँदादेखि विभाग विस्तारको काम सुरु गरेका हुन्।   

सभापति शेरबहादुर नेतृत्वको नियमित कार्यकाल २०७६ फागुनमा सकिएपछि पुन आगामी फागुनसम्म एक वर्ष कार्यकाल थपिएको हो। थपिएको एक वर्षको अन्तिम महिना फागुन (७–१०) लाई १४ औँ महाधिवेशनको मिति तय गरिएको छ।

तर, महाधिवेशन अघि गरिसक्नुपर्ने क्रियाशील सदस्यता वितरण, नवीकरण र सांगठानिक संरचना समायोजनको काम अझै नसकिएकोले महाधिवेशन फागुनमै हुने नहुने अन्योल नै छ। कांग्रेसकै नेताहरुले पनि फागुनमा महाधिवेशन सम्भव नरहेको र जेठ या भदौमा उपयुक्त हुने बताउँदै आएका छन्।  

के भन्छ निर्वाचन समिति? 

कांग्रेसको १४ औँ महाधिवेशनका लागि गठित केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारी अझै केही जिल्लाबाट समायोजनलगायत विवरण उपलब्ध भइनसकेको बताउँछन्। 

अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका स्थानीय नेताको व्यवस्थापन गर्न पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समायोजन समितिको बैठक सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसे पनि त्यसले निकास नदिएको उनले बताए।   

यी जिल्लामा समायोजनको काम नै सकिएन

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बारा, सप्तरी, सिन्धुपाल्चोक र सोलुखुम्बुमा समायोजनको काम अझै सकिएको छैन।

‘हिजो बसेको बैठकले बाराको विवरण हेरेर अन्तिम रुप दिएको भनेको छ। त्यसैले बाराको पनि सकियो, ’उनले भने, ‘अब बाँकी रहेको सप्तरी र सिन्धुपाल्चोकको हो।

सोलुखुम्बुमा अझै केही आन्तरिक विवाद रहेकाले मलाई केही जानकारी आएको छैन।’ सप्तरीमा समायोजनका विषयलाई लिएर भएको विवाद समाधानका लागि छलफल गर्न जिल्ला नेतृत्वलाई काठमाडौं बोलाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.