|

बैतडी : कोरोना संक्रमण जोखिम बढेको भन्दै  बैतडीको डिलाशैनी गाउँपालिकामा ११ दिनका लागि लकडाउन गरिएको छ।

मंगलबार गाउँपालिकाका थप ६ जनामा कोरोना पुष्टि भएपछि गाउँपालिका क्षेत्रमा लकडाउन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए। उनले भने, ‘कोरोना जोखिम बढेको छ, गाउँपालिकामा अहिले १६ जना सक्रिय संक्रमित छन्, विपद् व्यवस्थापन समितिको निर्णयअनुसार लकडाउन गरिएको छ।’

मंसिर २६ गतेसम्म हुने लकडाउन अवधिमा छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाइने छ भने गाउँपालिका र ७ वटै वडा कार्यालयबाट प्रदान हुने आकस्मिकबाहेक सबै सेवा बन्द हुने शाहले बताए। यस्तै गाउँपालिकाभरका विद्यालय पनि बन्द रहनेछन् भने भीडभाड हुने खालका सबै कार्यक्रममा रोक लगाइएको गाउँपालिकाले जनाएको छ।

लकडाउन अवधिमा दैनिक उपभोग्य पसलहरु बिहान ८ बजेदेखि ९ बजेसम्म खुला राख्ने, गाउँपालिकाभित्रका बैंक तथा वित्तीय संस्थाहरु हप्ताको ३ दिन आइतबार, मंगलबार र बिहीबार मात्रै खुला रहने बताइएको छ।

यस्तै लकडाउन अवधिमा स्वास्थ्य सेवा प्रदायक संस्थाहरु, एम्बुलेन्सलगायत सेवा पनि सुचारु हुने जनाइएको छ। पछिल्लो समयमा डिलाशैनी गाउँपालिकाको समुदायमा कोरोना फैलिएको आशंका गरिएको छ।

यसअघि जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि कोरोना जोखिम बढेको भन्दै मंसिर २२ सम्म लकडाउन गरेको छ। बैतडीमा हालसम्म ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भइसकेको छ।

संक्रमितमध्ये ४ सय ९९ जनाले कोरोना जितेका छन् भने ६८ जना अझै सक्रिय अवस्थामै रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.