'जनता वाक्क-दिक्क र निराश भइसके'

|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारणले देशमा ठूलो खतरा निम्तिएको बताएका छन्। जसपाका केन्द्रीय कार्यकारिणी सदस्य केशवकुमार झा नेकपाको कारणले अहिले देशमा संस्थागत हुँदै गरेको संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता खतरामा परेको बताउँछन्। 

‘राजनीतिमा हुनै नहुने काम अहिले नेकपामा भइरहेको छ। राजनीतिमा यस्तो हुँदैन। उहाँहरू (नेकपाका नेताहरू) ले जस्तो गतिविधिहरू देखाइरहनुभएको छ त्यसले मान्छेलाई पार्टीप्रति वितृष्णा हुन थाल्यो,’ थाहाखबरसँग कुरा गर्दै झाले भने, ‘व्यक्तिका गल्तीका कारण देशमा संकट निम्ति रहेको छ। अहिले नेकपाको आन्तरिक विवादको कारणले लोकतन्त्र नै खतरामा छ। संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता सबै खतरामा पर्ने सम्भावना छ।’ 

नेता झाले धर्मनिरपेक्षता हटाएर हिन्दू राज्य चाहिन्छ भन्दै सडकमा जनता आउने अवस्था नेकपाकै कारण सिर्जना भएको बताए। ‘धर्म निरपेक्षता हटाउने, हिन्दू राज्य नै चाहिन्छ भन्दै चारैतिर मान्छेहरू उर्लिन थालेका छन्। यो सबै कारण नेकपा हो,’ उनले भने, ‘राजतन्त्र आउने कुरा त सम्भव नै छैन। भूतलाई ब्यूँताउने काम जो कसैले गर्दैछन् यो सम्भव छैन।’ 

उनले नेकपाको विवादले जनता र देशलाई नै अनिर्णयको बन्दीमा धकेल्ने काम भइरहेको आरोप पनि लगाए।  संसदको विशेष अधिवेशन तत्काल बोलाएर देशलाई अनिर्णयको बन्दी हुनबाट जोगाउन प्रमुख प्रतिपक्षी कांग्रेसले अग्रसरता लिए जसपाले कांग्रेसलाई साथ दिने नेता झाको भनाइ छ।   

जसपाकै अर्का नेता शरत सिंह भण्डारी कोरोनाले थलिएका जनतालाई नेकपाले थप पीडा दिने काम गरिरहेको बताउँछन्। ‘नेकपाको विवादलाई हामीले दुई हिसाबले हेरेका छौँ। एउटा उनीहरूको विवादले अहिलेको समयमा कोरोना लगायतले पारेको प्रभावसँगै नेपाली जनतालाई थप पीडा थपेर अत्यन्तै दु:ख दिएको छ,’ थाहाखबरसँगको कुराकानीमा भण्डारीले भने, ‘मुलुक बन्दी मात्रै होइन राजनीतिक व्यवस्था माथि नै प्रश्न उठेको छ।  जनताले त्यत्रो संघर्ष गरेर ल्याएको प्रणाली माथि नै प्रश्न उठ्ने काम भएको छ। नेकपाको गतिविधिले वाक्क-दिक्क र निराश भइसकेका छन्।’ 

उनले नेकपाका अध्यक्ष केपी शर्मा नेतृत्वको सरकारले गरेको कमिकमजोरी छल्नका लागि विवादको नाटक गरेको टिप्पणी पनि गरे।  ‘दोस्रो कुरा नेकपा नेतृत्वको सरकारको पर्फमेन्स, कमजोरी लुकाउन बेला बेला स्टण्ट गर्ने काम नेकपाले गर्छ, नाटक गर्ने काम गर्छ अहिले त्यही भइरहेको हो,’ उनले भने, ‘स्टण्टको आधारमा कहिले छिमेकी मुलुकहरूसँगको अध्ययन र तयारी विना नै सीमा विवादको कुरा उठाउँछ। कहिले अरू राजनीतिक दल, छिमेकी मुलुकलाई चर्काे गाली गरेर जनताको ध्यान नक्कली राष्ट्रवादतर्फ मोडिदिन्छ। कहिले चाहिँ केही न केही विवादास्पद कुराहरू ल्याएर आफू चर्चामा रहने र जनताको ध्यान मोड्ने प्रवृत्ति नेकपामा छ यो त्यही हो कि भन्न पनि सकिन्छ।’  

नेता भण्डारी ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको रिपोर्टमा उल्लेख भएझैँ भ्रष्टाचारमा प्रधानमन्त्रीको संलग्नता रहेको दाबी गर्छन्। ‘ट्रान्सपरेन्सी इन्टरनेशलनको रिपोर्टमा जे आएको छ प्रधानमन्त्रीको संलग्नता भ्रष्टाचारमा भने त्यो त जनताले भोग्दै आएको कुरा हो नि यस्ता कुरालाई छल्न अनेक काम अहिले नेकपाले गरिरहेको छ’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.