सरकारी छाप किर्ते गर्ने र बहुविवाह मुद्दाका फरार एकैदिन पक्राउ

|

सिमरा : बारामा  प्रहरीको स्रकियतामा एकैदिन सरकारी छाप किर्ते, ३ बिगाहा गाँजाखेति नष्ट र बहुविवाह मुद्दामा फरारलाई पक्राउ गरिएको छ। नदीजन्य उत्खनन अनुमति लिनुअगावै  खोलामा विनोद साह निर्माण सेवाले जितपुरसिमरा उपमहानगर रसिद र छाप किर्ते गरेर खोला खनेको भेटेपछि स्थानीय प्रशासनको पहलमा प्रहरीले कारबाही अगाडि बढाएको हो।

‘हामीले सरकारी छाप किर्तेमा मुद्दा दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइसकेका छौँ’ इलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा डिएसपी दीपक श्रेष्ठले भने। खोलामा सरकारी छाप र रसिद किर्ते प्रयोग गरेको आरोपमा प्रहरीले वीरगञ्‍ज महानगरपालिका वडा नं.०२ बस्ने ३५  वर्षिय  अजय कुमार साहलाई पक्राउ गरी कारवाही प्रकिया अगाडी बढाएको छ।

मुलुकी अपराध संहिता २०७४ संशोधित २०७६ ले सरकारी छाप किर्ते गर्नेलाई ७ वर्षसम्म कैद र ७० हजार रुपयाँ जरिवाना तोकेको छ।

उपमहानगरले चालु आर्थिक वर्षको लागि बाराको दुधौरा, बालगंगा र पसाहा खोला उत्खनन्को ठेक्का विनोद साह निमार्ण सेवालाई दिने सम्झौता गरेको छ। मंगलवार प्रकाउ परेका साह विनोद साह निमार्ण सेवाका सञ्चालक तथा बहालवाला वडाध्यक्ष  शेषनाथ प्रसाद साहमा भान्जा भएको जनाईएको छ।

चालु आर्थिक वर्षका लागि ९४ लाख घनफिट उत्खनन् गर्न  जितपुरसिमरा उपमहानगरले भ्याट बाहेक १३ करोड ७६ लाखमा कलैया उपमहानगर वडा नं १६ का बहालवाला वडाध्यक्षको साहको ठेक्का कम्पनीसँग सम्झौता गरेको छ। कानुनी रुपमा बहालवाला वडाध्यक्षले खोला खन्ने ठेक्का लिन मिल्ने-नमिल्ने विषयमा अनुसन्धान नभएपनि छुटपुर्जी लिनु अगावै खोलामा किर्ते छाप र रसिद प्रयोग भएको विषयमा नगरपालिका कारवाही चासो नदेखाउदाँ जनप्रतिनिधि,कर्मचारी र ठेकदार विचको आपसी मिलेमतो रहेको प्रष्ट बुझिन्छ।

३ बिघाको गाँजा खेती नष्ट

जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार निजगढ नगरपालिका वडा नं.१२ लालटोलस्थित रहेको मकै बालीभित्र लुकिछिपी रुपमा ३ बिघा जग्गामा लगाइएको अवैध गाँजाखेती नष्ट गरेको छ।

विशेष सूचनाका आधारमा बाराका प्रहरी प्रमुख  तथा प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीको अगुवाईमा अवैध गाँजा खेती नष्ट गरिएको प्रहरी कार्यालय बाराले जनाएको छ। मंगलबार बिहान जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएकोको संयुक्त प्रहरी टोलीले अवैध गाँजा खेती फडानी गरी नष्ट गरेको हो।

चुरेसँग जोडिएको बाराको निजगढ  क्षेत्रमा जिल्लाकै सबैभन्दा धेरै गाँजा उत्पादन हुने गर्दछ। मकवानपुर र बाराको निजगढमा उत्पादन भएका गाँजा भारतमा अत्याधिक माग हुने र मुल्य पनि अधिक पाईने भएकाले कानुनीरूपमा निषेधित बाली भए पनि लुकीछुपी रुपमा  बारामा गाँजा खेती गर्ने गर्दछन्।

बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

बहुविवाह मुद्दाका फरारलाई बारा प्रहरीले मंगलबार नै पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी गंगापुर खटिएको प्रहरी टोलीले कलैया उपमहानगरपालिका वडा नं.२५ बस्ने सदिक मियाँ धोबीको छोरा वर्ष ३६ को रसुल महमद धोबीलाई लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।

जिल्ला अदालत बारामा विचाराधीन रहेको बहुविवाह मुद्दाका फरार अभियुक्त धोवीलाई जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.