प्रचण्डको ‘प्रस्ताव'ले पार्टी फुटाउने जिकिर

|
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा बहुमत र अल्पमतको खेल नमान्‍ने प्रष्ट पारेका छन्। मंसिर १३ गतेको सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको प्रतिउत्तर फर्काउँदै प्रधानमन्त्री ओलीले बहुमत र अल्पमतको खेल नमान्‍ने बताएका हुन्। 

‘मैले पार्टी मान्दिनँ, पार्टीका निर्णय मान्दिनँ भन्यो भन्‍ने जस्ता कुराहरू असान्दर्भिक ढंगले उठाइएको छ। अहिलेको बहुमत, अल्पमत कुनै प्रक्रियाबाट आएको होइन। यो अल्पमत र बहुमत कृत्रिम र अनुचित हो', ओलीले भनेका छन्, 'यो कुबेलामा गरिएको अनुचित स्वार्थहरूको गठजोड र गलत मनसायद्वारा आफ्ना कुण्ठा, आक्रोश र विरोध पोख्‍न त्यस प्रकारले आएको छ।’

उनले पार्टी कमिटीको निर्णय मान्दिनँ नभनेको उनले प्रस्ट्याएका छन्। पार्टी एकताको क्रममा शक्तिको हिसाब नहेरेको उनले बताएका छन्। ‘पूर्व एमालेभित्रको स्थिति पनि हामी सबैलाई थाहा थियो र फेरि पूर्व माओवादी केन्द्रलाई दिइएको संख्यासमेत जोड्दा के हुन्छ? त्यो पनि थाहा थियो र थाहा छ,’ उनले भनेका छन्।

‘कुनै अधिवेशन, महाधिवेशन वा सम्मेलनबाट बनेका निर्वाचित कमिटी होइनन् र अहिले कसैले बहुमत र अल्पमतको कुरा गर्दा कोही आफ्नो अलोकप्रियताले अल्पमतमा वा कोही लोकप्रियताले बहुमतमा गएको स्थिति पनि होइन। त्यही हो भने चैत २५ देखि ३० सम्म महाधिवेशन गरौं भनेर हामीले भनेका छौं, गर्छौं भनेका छौं र महाधिवेशन गरौं। लोकप्रियता त्यहाँ प्रकट हुन्छ नि! बहुमत को हो? अल्पमत को हो? त्यसो गरे भइगो त,’ उनले अगाडि थपेका छन्, ‘तर, यसबीचमा जसरी एकता भाँड्ने खालका प्रयास भए, एकताका लागि गरिएको सङ्गठनात्मक र संख्यात्मक प्रबन्धलाई लत्याएर ‘कू’ का प्रयासको निम्ति दुरूपयोग गर्ने र एकता बिथोल्ने खालका अवाञ्छित प्रयास भएका छन्।’ 

‘कमरेडहरूले त्यागको कुरा गर्नुभएको छ। त्याग क-कसले गर्नुपर्ने हो? म एक पटक अध्यक्ष भएको छु, निर्वाचनको माध्यमबाट निर्वाचित हिसाबले नै अध्यक्ष भएको हुँ। निर्वाचित अध्यक्षको हैसियतमा नै हो, नत्र भने अरु बाटा थिएनन्’ उनले थपेका छन्, ‘त्यही निर्वाचित अध्यक्षको हैसियतमा वार्ता गरेको हुँ, एकता प्रक्रिया अगाडि बढाएको हुँ र दुई अध्यक्षको प्रबन्ध गरेर एक अध्यक्ष भएको हुँ।’

‘महाधिवेशनहरू, अधिवेशनहरू हुन्छन्, जाँचौँला । ठीक छ नि ! बीचमा हतार किन गर्ने र? ‘कू’ को शैलीमा एकता–एकीकरणको बाटो छाडेर सत्तापलट अथवा कब्जा, यस्ता अनुचित बाटोबाट कब्जा गर्ने तरिका अपनाउने? के यी कामहरूले हामीलाई एकताको बिन्दुमा पुर्याउँछन्? हामीले हिजो सहमतिका साथ महाधिवेशनसम्म जाने, एकता एकीकरणका काम तीन महिनाभित्र टुङ्ग्याउने र दुई वर्षभित्र महाधिवेशन सम्पन्‍न गरिसक्ने भनेको होइन?,’ उनले प्रश्‍न गर्दै भनेका छन्।

‘महाधिवेशन गर्दा पनि सहमतिका साथ महाधिवेशन गर्ने भनेको होइन? ती कुरा हामीले हाम्रो वैधानिक व्यवस्थामा पनि समावेश गरेका होइनौं ? अब यस स्थितिमा बहुमत र अल्पमत भन्‍न खोज्नु भनेको यो जालझेल र षडयन्त्रको कुरा मात्रै हो। यो ‘कू’ को कुरा हो र यो फाटो तर्फको यात्राको ‘प्रस्ताव’ हो’, उनले भनेका छन्। 

फाटोतर्फको यात्राको ‘प्रस्ताव’ लाई अस्वीकार गरेर एकतातर्फ जानसमेत उनले आग्रह गरेका छन्। एकता महाधिवेशनपछि आफू कुनै नेतृत्वमा नरहने समेत स्पष्ट पारेका छन्। 

‘तपाईंहरुको गतिविधिहरूको बारेमा जानकारी छ। बाहिर शब्द एक खालका छन्, भित्र गतिविधि विल्कुलै विनाशकारी छ, बिखण्डनकारी छ, देश र जनताप्रति गम्भीर धोका दिने प्रकृतिको छ,’ उनले भनेका छन्, ‘यसमा म के मात्रै आग्रह गर्न चाहन्छु भने, हामी त नेपालका ‘भाग्यमानी हरू’ भित्र पर्छौँ । हामी आफैं खानलाउन पाएका, घर भएका वा घर नभए पनि घरबेटीको घरमा बस्न पाएका, नातागोता आफन्तको पनि कमसेकम बेडा पार लगाएका नै छौं। तसर्थ: ‘भाग्यमानी’ छौं! कमसेकम यति भइसकेपछि त हामीले देशबारे अलिकति सोच्ने गरौं।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.