|

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिम तयारी तथा प्रशिक्षणका लागि ५८ खेलाडीको प्रारम्भिक सूची तयार गरेको छ। यसअघि, बंगलादेशसँग पराजित भएको नेपाल यो पटक अनुभवी तथा नयाँ सम्मिलित खेलाडीहरूको सामूहिक बन्द प्रशिक्षणबाट खेलाडी छनोट गर्ने निष्कर्षमा पुगेको हो।

एन्फाले कोरोना महामारीका बाबजुत विश्वकप तथा एसिया छनोटलाई ध्यानमा राख्दै जतिसक्दो बढी मैत्रीपूर्ण खेलहरु खेल्ने कार्ययोजना बनाएकाले पनि उसले धेरै खेलाडीलाई पहिलो चरणमा बोलाएको हो।

कोरोना महामारीका कारण 'बी' डिभिजनको बाँकी खेल नै अन्योलमा परेका कारण यो वर्षको 'ए' डिभिजन लिग अन्योलमा पर्दा अघिल्लो वर्षकै प्रदर्शनका आधारमा एन्फाले प्रारम्भिक खेलाडी छनोट गरेको हो। प्रशिक्षण २८ मंसिरबाट सुरु हुँदै छ।

प्रशिक्षक योहान कालिन नेपाल नफर्किंदा कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले नै टोलीको जिम्मेवारी सम्हालेका छन्। एन्फाले कालिनको विकल्पका बारेमा कुनै निर्णय  गरेको छैन। तर, कालिनको सम्झौता नथप्ने सम्‍भावना कमजोर रहेका कारण कालिन फर्किने सम्‍भावना कम छ। कालिनको सम्झौता आगामी फेब्रुअरीमा सकिँदै छ।

टोलीमा पूर्व-कप्तान विराज महर्जनसँगै फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई पनि प्रारम्भिक टिममा बोलाइएको छ।

एन्फाले गत महिना भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण सिरिजका लागि भने सुरुवातमा ३५ खेलाडी प्रशिक्षणमा बोलाएको थियो। जहाँबाट २५ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको थियो। त्यसमध्ये ८ नयाँ अनुहारले मौका पाएका थिए। जहाँ ६ खेलाडीले डेब्यु गर्ने अवसर पाए पनि नेपालको प्रदर्शन खराब रहेको थियो। प्रशिक्षणमा बोलाइएको टिममा ७ जना गोलरक्षक, १९ जना डिफेन्डर २० जना मिडफिल्डर र १२ जना फरवार्ड रहेका छन्।

प्रारम्भिक टिम

गोलरक्षक : किरण कुमार लिम्बू, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, अर्पण कार्की, विशाल सुनार, देव लिम्बू

डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, रोहित चन्द विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विके, अनिश गुरुङ, दिलेन लोक्तान,

मिडफिल्डर : सुजल श्रेष्ठ, विशाल राई, जर्ज प्रिन्स कार्की, मिक्छेन तामाङ, सन्तोष तामाङ, सुनिल बल, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आले मगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा,

फरवार्ड :  अभिषेक रिजाल, रेजिन सुब्बा, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरूङ, राजेश परियार, विमल राना, अञ्जन बिष्ट, विमल घर्ति मगर, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.