२० गते सचिवालय, २१ गते स्थायी कमिटी बैठक

|
फाइल फोटो

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा देखिएको संकट समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा अनिवार्य उपस्थित हुनुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्। बुधबारको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले यस्तो बताएका हुन्। 

प्रधानमन्त्री ओली अनुपस्थित भएपछि आजको सचिवालय बैठक केही समय मात्रै बसेर उठेको उनले जानकारी दिएका छन्।

‘आजको बैठकमा अध्यक्ष ओली उपस्थित हुनु भएन। पार्टीमा देखा परेको विद्यमान समस्या समाधानका लागि उहाँको उपस्थितिमा छलफल गर्नु उचित हुन्छ’, उनले भने, उहाँलाई आगामी बैठकमा अनिवार्य उपस्थितिसहितको अनुरोध गरेका छौँ।’ 

अब आगामी बैठक २० गते १ बजे बस्ने उनले बताए। ‘अब सचिवालयको बैठक आगामी २० गते बस्छ। र, भोलिका लागि बोलाइएको स्थायी कमिटीको बैठक २१ गते बस्ने निर्णय भएको छ’, उनले भने। 

पार्टी अहिले गम्भीर संकटमा छलफल र बहस प्रक्रिया अघि बढाएर निर्णय लिन उचित हुने उनको तर्क छ। ‘अहिलेको समस्या समाधान गर्नका लागि छलफल र बहस आवश्यक छ। त्यसका लागि अध्यक्ष ओली आउनुपर्छ,’ उनले भने, ‘उहाँ आउनु भएन भने के हुन्छ भन्ने हामी सोच्नै चाहदैनौं।’

नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचको आन्तरिक विवादले रडाको मच्चाइरहेको छ। अध्यक्ष दाहालले कात्तिक २८ गतेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव ल्याएका थिए। त्यसको प्रत्युत्तर प्रधानमन्त्री ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा फर्काएका थिए। 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालको प्रस्तावमाथि छलफल गर्नका लागि मंगलबार पनि सचिवालय बैठक बसेको थियो। मंगलबारको बैठकमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि बताएका थिए। 

प्रधानमन्त्री ओली अध्यक्ष दाहालको प्रस्ताव फिर्ता गराएर साझा प्रस्तावका साथ भदौ २६ को स्थायी कमिटीको निर्णयमा फर्कन चाहन्छन्। तर, अध्यक्ष दाहाल पक्ष सचिवालयमा पेश भइसकेका सबै प्रस्ताव स्थायी कमिटीमा लगेर छलफल गर्नुपर्ने पक्षमा छ।

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.