|

उदयपुर : जिल्ला अदालत उदयपुरले एक स्थानीय चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्लाको कटारी नगरपालिका–५ का एक १५ वर्षीय किशोरलाई १२ वर्ष छ महिनाको जेल सजाय फैसला गरेको छ।

बुधबार जिल्ला न्यायाधीश दीपक खनालको इजालासले कटारी नगरपालिका–५ का १५ वर्षीय किशोरलाई बालिका बलात्कारको कसुरमा १२ वर्ष छ महिनाको जेल सजाय गर्ने फैसला गरेको अदालतका तहसिलदार राजकुमार आचार्यले बताए।

यस्तै, निज किशोरसँगै सामूहिकरुपमा चार वर्षीया बालिका बलात्कार गर्ने अर्का ११ वर्षीय बालकलाई अदालतले अनुसन्धानसम्मको जेल सजायपछि बाँकी सजाय स्थगन गरेर सजाय मुक्त गरेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ।

वि.सं. २०७६ सालको चैत ६ गते दुवैले स्थानीय छिमेकी बालिकालाई सामूहिक बलात्कार गरेको अभियोगसहित इलाका प्रहरी कार्यालय कटारीमा पीडित बालिकाका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीमा उजुरी परेलगत्तै इलाका प्रहरीले पक्राउ गरेर दुवैलाई अनुसन्धानका लागि बाल सुधार गृहमा राखेर बलात्कारसम्बन्धी मुद्दा चलाएको थियो।

बुधबार मुद्दा फैसला हुँदा ११ वर्षीय बालकको बाँकी कारवाही स्थगन भएको थियो भने १५ वर्षीय किशोरविरुद्ध १२ वर्ष छ महिनाको जेल सजायको फैसला भएको जिल्ला अदालत उदयपुरले बताएको छ।

जेल सजाय पाएका किशोरलाई बालक भएका कारण १८ वर्ष हुँदासम्म विराटनगरस्थित सुधारगृहमा राख्ने र त्यसपछि कारागार पठाउने तयारी गरिएको पनि अदालतका सूचना अधिकारी तथा तहसिलदार आचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.